निर्वाचन परिणाम त सहजरूपमा स्वीकार गर्नुकाे साटो ठूला दलका कथित ‘शीर्ष नेता’हरू ‘धाँधली’ र ‘षड्यन्त्र’ काे भाष्य तयार गर्न खोज्दैछन् । समानुपातिकमा आएकाे मतमा समेत शङ्का गर्नेहरूलाई उत्तर दिने जनताले नै हो । यसमा भने जनता पनि चुकेकाे देखियो ।
जित्नेभन्दा पनि हार्नेकाे नाम देखेर धेरै जना त्यसमा पनि पार्टीभित्रैका वा पार्टीका शुभकामना चिन्तकहरू खुसी भएका रहेछन् । विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले)का केही ‘हर्ताकर्ता’लाई जनताले पाखा लगाइदिएकाेमा ती पार्टीका कार्यकर्ता खुसी छन् । ती नेता हारेकाेमा हर्ष मनाउनेहरू प्रतिस्पर्धी भने होइनन् ।
नेपाली कांग्रेसभित्र जनाधार भएका र दलबाहिरका जनताले पनि पत्याएका नेताहरू उमेदवार भए जति प्रायः जितेका छन् । हार्नेहरूमध्ये धेरै उमेदवार बनाउँदा नै आलोचना गरिएकाहरू नै छन् । पार्टी सभापतिका निकट मानिएकाहरू हारेकाे देखिएकाे छ । सभापतिलाई चुनौती दिने मुखर नेताहरू गगनकुमार थापा, शेखर कोइराला, चन्द्र भण्डारीहरू जित्दा प्रधानमन्त्री निकट मानिने गृहमन्त्री बालकृष्ण खाणलगायत केहीले हारे ।
अध्यक्ष खड्गप्रसाद ओली निकट मानिने महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेता हारे । पार्टीमा त छँदै थियो ओली नेतृत्वकाे सरकारमा पनि उनीहरू प्रभावशाली थिए । ईश्वर उपप्रधानमन्त्री थिए भने शङ्कर लुम्बिनी प्रदेशका मुख्यमन्त्री ।
संसदीय निर्वाचनमा हार्नुकाे अर्थ जनताद्वारा आफू र आफ्नो दल दुवै अस्वीकृत हुनु हो । यस्तो अवस्थामा सामान्यतः हारकाे जिम्मेवारी लिएर पार्टीकाे पद पनि त्याग्ने गर्छन् लोकतन्त्र संस्कृति बन्न पुगेकाे समाजमा । नेपालमा त्यस्तो अभ्यास बिरलै हुनेगरेको छ । यसैले अहिले यिनले पनि दलको नेतृत्व नैतिकताका आधारमा छाड्लान् भन्ने अनुमान गर्नु पनि गलत हुन्छ । बरू सके भने अगिल्लो संसद्मा हारेमा नारायणकाजी श्रेष्ठ वा वामदेव गौतमले जसरी राष्ट्रिय सभामा भने पनि टेक्न खोज्लान् ।
जेहाेस्, नेताले बुझे बेस तर नबुझे पनि जनताले स्पष्ट सन्देश ठूलो स्वरमा दिइसकेका छन् - अब तिम्रो काम सकियो । सन्देशको अर्थ र तीव्रता बुझ्ने हो भने सबैभन्दा पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसकाे संसदीय दलकाे नेतृत्व गर्ने लोभ अब गर्नु हुँदैन । जनमत त उनकाे पक्षमा छैन नै नेपाली कांग्रेसकै पनि उनका परिजन र पुरजनबाहेक अरू सबै देउवाले अब सरकारकाे नेतृत्व हस्तान्तरण गरुन् भन्ने नै चाहन्छन् । समाज र सामाजिक सञ्जालकाे ध्वनि तथा समयकाे पदचाप सुन्ने हो भने त यो सन्देश पनि ‘लाउड एन्ड क्लिएर’ छ !
कांग्रेस वा एमालेले संसदीय दलकाे नेता छान्दा बुद्धि पुगे २०८४ को चुनाव हेरेर गर्नुपर्छ । कांग्रेसमा अर्को चुनावकाे पनि नेतृत्व गर्न सक्ने र पार्टीबाहिरका जनताले पनि पत्याएकाे नेता अहिले गगन थापा देखिएका छन् । गगनलाई शेखर कोइरालाहरूले मिलेर अगाडि सार्ने हो भने र अरू सांसदले पार्टीकाे हितमा भविष्य देख्ने हो उनले अहिले देशकाे नेतृत्व पाउने सम्भावना धेरै देखिन्छ ।
सम्भवतः यही कारणले अहिले अनुदारवादीहरू गगनविरुद्ध निकै आक्रामक देखिएका छन् । गगनविरुद्ध प्रयोग गर्न मिल्ने सबै अस्त्र प्रहार भइरहेका छन् । यसमा आउने दिनहरूमा देउवाका ‘साख्खै’ देखिन चाहने र काठमाडौं स्वार्थ समूहका गोटीहरू बढी नै मुखर हुनेछन् (अन्तर्घातको आरोप त लागिसक्यो क्या रे !)। कतिलाई त गगनले शासन प्रणाालीप्रति जनताकाे विश्वास फर्काए भने आफ्नो ‘पत्तासाफ’ हुने डर पनि होला । गगन शासन सञ्चालन गर्न कति सफल होलान् त्यो उनकै कामले देखाउनेछ । तर, उनलाई अहिले मौका दिइयो भने लोकतान्त्रिक पद्धतिको सुन्दरता त देखिनेछ नै नेपाली कांग्रेसले पनि पुनर्जीवन पाउनेछ ।
देउवाले पनि सन्तोषका साथ बिदा हुन पाउनेछन् । देउवा सभापति हुँदा नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो दल थियो । देउवाकाे नेतृत्वमा भएकाे अगिल्लो निर्वाचनमा कांग्रेस पराजित भयो । अहिले फेरी ठूलो दल भएकाे छ । अहिले छाड्ने हो भने देउवाले कम्तीमा कांग्रेसलाई मैले पुरानै ठाउँमा ल्याइपुर्याएँ भन्न त सक्छन् नि !
देउवाले छाड्नेमात्र होइन कांग्रेसलाई पुनर्जीवन दिने हो भने सरकारमा रहँदै आएकाहरूलाई पार्टीमा र अहिले संसद्मा आएकामध्ये सक्षम युवालाई सरकारमा पठाउनुपर्छ । भारतीय राष्ट्रिय कांग्रेसमा शिथिलता आएपछि तत्कालीन कांग्रेसका प्रमुख नेतामध्ये एक कुमारस्वामी कामराजले यस्तै योजना लागु गराएका थिए । पछिल्लाे पुस्तालाई थाहा नभए पनि देउवा, रामचन्द्र पौडेल, अर्जुननरसिंह केसीहरूलाई त पक्कै सम्झना होला । नेपाली कांग्रेसका लागि पनि यस्तै उपायको खाँचो देखिन्छ पार्टीलाई जीवन्त बनाउन र
एमालेमा यद्यपि अध्यक्ष ओलीलाई कसैले चुनौती नै दिएकाे छैन । तर, ओलि आफैँले अर्को पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने मौका सदुपयोग गर्न सक्छन् । कांग्रेसमा नेतृत्व हस्तान्तरण भयो भने चुनौतीकै रूपमा एमालेले नयाँ नेतृत्व अगाडि सार्नै पर्छ । कांग्रेसमा नेतृत्व परिवर्तन भएन र यथावत् रह्यो भने पनि नेतृत्व हस्तान्तरण गरेर एमाले कांग्रसभन्दा जनभावनाको कदर गर्ने दल साबित हुनसक्छ ।
माओवादी केन्द्रमा सम्भवतः नेतृत्व हस्तान्तरण सहज हुन सक्तैन । अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वलाई चुनौती दिने नै कोही देखिँदैन । त्यसो त अध्यक्षलाई चुनौती दिन खोजे पार्टीबाट निस्कनुपर्ने वा निस्कने हुन्थ्यो । दाहाललाई चुनौती दिँदा मोहन वैद्यदेखि नेत्रविक्रम चन्दसम्मले छाडेकै त हुन् ।
अरूका बारेमा चर्चा गर्नु खासै आवश्यक नहोला । जे छन् छँदै छन् ।
नेताहरूले निर्वाचनकाे सन्देशलाई बेवास्ता गरे भने अरूले विद्रोह गर्न सक्लान् कि नसक्लान् ? कांग्रेसमा गगनले साँच्चै नै देउवालाई नेतृत्व छाड्न राजी गराउन नभए बाध्य बनाउन सक्लान्? आँट्लान्? एमालेमा ओलीलाई विश्राममा पठाउने तयारी छ कि छैन? कसैले मुख खोल्ने आँट गर्लान्?
स्वतन्त्र, जनमतजस्ता पार्टीका सांसदहरूले अब कस्तो लोकतान्त्रिक अभ्यास गर्लान्? उनीहरूले सकारात्मक बाटो समाते भने त्यसकाे छाप राष्ट्रिय राजनीतिमा पर्नेछ । पुरानै पार्टीका सांसदजस्तै सत्तामुखी भए भने तिनीहरू चाँडै नै जनताका आँखामा फिक्का हुनेछन् ।
र अन्त्यमा
अहिले सत्ता समीकरणकाे नयाँ अभ्यासमा माओवादी केन्द्रका अध्यक्ष दाहाल फेरि मोलमोलाइमा लागेकाे समाचार आएको छ । स्वाभाविक पनि हो । तर, राष्ट्रपति पदमा मोलतोल नगरे हुने हो । नेपालको भावी राष्ट्रपति पदकाे गरिमा धान्न सक्ने हुनुपर्छ । राष्ट्रपतिकाे पद हुन त थपनाकाे नै हो तै पनि ‘कठपुतली’का लागि होइन । राष्ट्रपति पदमा लोकतान्त्रिक प्रतिबद्धता भएको, कसैकाे स्वार्थका लागि नैतिकताकाे लक्ष्मण रेखा पनि नाघ्न तयार नहुने र साँच्चैकाे देशभक्त नागरिक छानिनुपर्छ । कम्तीमा पनि विद्यादेवी भण्डारीलाई हेरेर देशले त्यति त सच्याउनै पर्ने हो । मोलतोल जे गर्ने हो प्रधानमन्त्रीमै गर !