पहिले चुनाव हुँदा राजनीतिक दलका कार्यकर्तामा उत्साह र जाँगर बढेको देखिन्थ्यो । मतदातालाई समेत निकै पहिलेदेखि चुनाव लाग्थ्यो । चौतारी, चिया पसलदेखि मेलापातसम्म जताततै चुनावकै चर्चा सुनिन्थ्यो । चर्काचर्की हुन्थ्यो र कहिले काहीँ त हातै हालाहाल पनि ।
यसपटक मतदातामात्र होइन कार्यकर्तामा समेत खासै उत्साह देखिएको छैन । सहरमा त यसै पनि चुनावकाे चासाे सीमित हुँदै गएको छ । गाउँघरमा समेत राजनीति अब खासै चासोको विषय बन्न छाडेछ । चुनावमा विवादकाे मुख्य विषय बन्ने गरेका राजनीतिक दलहरूबीचकाे साँधकिल्ला नै हराएकाले सायद जनसाधारण रनभुल्ल भएका हुन् ।
नेताहरूको सत्ता स्वार्थले लोकतन्त्रकाे महत्त्वपूर्ण अनुष्ठान निर्वाचन पनि ‘फौबन्जारको खेलो’ बन्न पुगेको छ । फौबन्जारले जतिबेला जे किनेर बेच्दा नाफा हुन्छ त्यही किनबेच गर्छ । साग, सुन्तला, काँक्रो, राँगो जे पनि किन्छ र बेच्छ । नेता पनि त्यस्तै भएका छन् । जोसँग जति बेला मिल्दा आफूलाई नाफा हुन्छ त्यही गर्न लाजै मान्दैनन् । जनताले के भन्लान् वा पार्टीलाई कति नोक्सान पर्ला भन्ने हेर्दैनन् ।
कतै पढेजस्तो लाग्छ - सत्तामा पुग्ने सडक पाखण्ड र घातप्रतिघातबाट बनेको हुन्छ । होला त्यस्तै देखिएको छ । तर, पाखण्ड वा घातप्रतिघात नगरी सत्तामा पुग्नै नसकिने हो र ? हो भने त्यही घोषणा गरे भयो नि । जनतालाई किन ढाँटिरहनु?
नेपालमा त ट्रम्प नै ट्रम्प
ब्राजिलपछि अमेरिकामा पनि लोकतन्त्रविरोधीले हारे । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो हारे । अनुदार परम्परावादी (कन्जरभेटिव) बोल्सोनारोले चुनावमा धाँधली हुनसक्ने भएकाले आफूले हारे निर्वाचन परिणाम स्वीकार नगर्ने घुर्की पनि लगाउँदैआएका थिए । तर, चुनाव हारे । वामपन्थी उमेदवार पूर्वराष्ट्रपति लुइज लुला डिसिल्भाले जिते । लुला भ्रष्टाचारको आरोप लागिसकेका व्यक्ति हुन् । ( यताका बोल्सेनारो हार्ने तर लुला नजित्ने भए हुन्थ्यो । दुवै जित्लान् पो जस्तो छ !)
अमेरिकाकाे संसदीय निर्वाचनमा विपक्षी रिपब्लिकन पार्टीले अपेक्षित सफलता पाएन । प्रायः पहिलो मध्यावधि निर्वाचनमा विपक्षीले राम्रो सफलता पाउने गर्थे । विश्लेषकहरूले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका कारण रिपब्लिकनले सिनेटमा बहुमत पाउन र प्रतिनिधि सभामा पनि सोचेजसरी सफल हुन नसकेको ठहर गरेका छन् ।
ट्रम्पका समर्थक अर्थात् २०२० को राष्ट्रपति निर्वाचनमा धाँधली भयो भन्दै परिणाम अस्वीकार गर्नेहरू (डिनाएर)मध्ये माथिल्लाे चुनाव लड्न चाहने सबै परास्त भएकाे द न्यु योर्क टाइम्सले आज लेखेको छ । यसपटक चुनावमा रिपब्लिकन पार्टीले राम्रो गरेकाे भए सायद अर्को एकपटक अमेरिकाले ट्रम्पलाई बेहोर्नुपर्थ्यो ।
अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प (२०१६-२०)को कार्यकाल अमेरिकी लोकतन्त्रको सायद सबैभन्दा ‘कालो’ अध्याय थियो । उनका नीति, बोली र आचरणले सम्भवतः अमेरिकी लोकतन्त्रकाे मूल्य मान्यता र विश्वासमा सबैभन्दा धेरै क्षति भयो । त्यसको पहिलो चोट रिपब्लिकन पार्टीले भोग्नु पर्यो । डेमोक्य्राटिक पार्टीका अपेक्षाकृत कमजोर उमेदवारले चुनाव जिते । अर्थतन्त्रमा संकट भएका बेलामा समेत संसदीय निर्वाचनमा खासै सफलता हासिल भएन । रिपब्लिकन पार्टीले ट्रम्पको उद्दण्डताकाे महँगो मूल्य चुक्ता गर्नुपर्ने भविष्यवाणी गरिएका छन् ।
अर्थात्, दलले आफ्नो नेताकाे कुकर्मको फल भोग्नुपर्दो रहेछ । नेकपा (माओवादी केन्द्र) पुषपकमल दाहालको पार्टी हो । उनैले बनाएका र उनकै पालामा सायद समाप्त पनि होला । तर, नेपाली कांग्रेस र नेकपा (एमाले) त शेरबहादुर देउवा र खड्गप्रसाद ओलीले बनाएका होइनन् । जनतामा भिजेका हुनाले यिनकाे अवसानपछि पनि यी दुवै दल जीवितै रहन्छन् । तर, यी दुवै दलले नेताकाे सत्ता स्वार्थका कारण महँगो मूल्य लामो समयसम्म चुकाउनुपर्ने देखिएको छ ।
सायद नेपाली कांग्रेस पनि शेरबहादुर देउवाकाे पार्टी हुनुको मूल्य चुकाउँदैछ । देउवाले भन्न थालेका छन् - गठबन्धन आउँदो २-३ चुनावसम्म रहन्छ । साँच्चै रह्यो भने अरू के के हुन्छ त भन्न सक्तिन तर धेरै भूगोलबाट कांग्रेस नामेट हुनेछ । यति चाहिँ पक्का हो ।
यस्तै, ओली अनुदार दक्षिणपन्थी र क्षेत्रीय साम्प्रदायिक तत्त्वको अँगालोबाट सजिलै फुस्कन सक्ने देखिँदैन । एमालेका नेता कार्यकर्ताले भविष्यमा लामो समयसम्म ओलीका कर्तुतको उत्तर दिइरहनु पर्नेछ ।
यसैपटक कांग्रेस र एमालेले धेरै गुमाउने तर माओवादी र राप्रपा धेरै पाउने हुन बेर छैन । गोरखा वा चितवनमा कांग्रेस हराउने अनि हेटौँडा र धरानमा समेत एमाले हराउने विसङ्गति त देखिइसक्यो ।
हुन पनि देउवा वा ओलीले मौका परेर नेतृत्व पाएकाे पार्टी न हो । यिनले सपार्ने होइन बिगार्ने पौरख देखाइसकेका थिए । कांग्रेसलाई थला पार्न देउवा एक्लै काफी थिए । अहिले त बालकृष्ण खाण, आरजु देउवा, पूर्णबहादुर खड्काहरू पनि थपिएका छन् । ओली एक्लैले एमाले सिध्याइसकेका छन् । विष्णु रिजाल, ईश्वर पोखरेल, शङ्कर पौडेलहरू साथ देखिएका छन् ।
शौक बहराइचीका यी पंक्तिहरू साभार गर्दै बिट मारौँ -
“बर्बाद गुलिस्ताँ करने को बस एक ही उल्लू काफ़ी था
हर शाख़ पे उल्लू बैठा है अंजाम-ए-गुलिस्ताँ क्या होगा”