काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नरेश थापालाई सहायक प्रशिक्षक नियुक्त गरेको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले सातदोबाटोस्थित एन्फा मुख्यालयमा थापालाई मंगलबार सहायक प्रशिक्षकको नियुक्ति पत्र प्रदान गरेका हुन् ।
नेपालले कात्तिक ३० गते दशरथ रंगशालामा पाकिस्तानसँग एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । यसका लागि एन्फाले मछिन्द्र फुटबल क्लबका प्रवेश कटुवाललाई मुख्य प्रशिक्षणको जिम्मेवारी दिएको छ । एन्फाले पाकिस्तानसँगको खेलका लागि मात्र कटुवाललाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको हो । पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सेप्टेम्बर ११ मा राजीनामा दिएपछि नेपाली टिमको प्रशिक्षकविहीन बनेको थियो ।
मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक कटुवालले ३० खेलाडीलाई प्रारम्भीक प्रशिक्षणमा बोलाइसकेका छन् । जुन ३० मा विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धबाट फुकुवा भएको पाकिस्तानी टिम नेपालसँगको खेलसँगै तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किन लागेको हो । पाकिस्तानी टिमले नौ वर्षपछि नेपाल भ्रमण गर्न लागेको हो । पाकिस्तानी टिमले पछिल्लो पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा नेपाल भ्रमण गरेको थियो । यस्तै, नेपाल र पाकिस्तान चार वर्षपछि खेल्न लागेका हुन । यी दुई टिमबीच पछिल्लो पटक सन् २०१८ को साफ च्याम्पियनसिपमा भेट भएको थियो ।