site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भत्किँदो चौतारो लोकतन्त्रको

पहाडका गाउँतिर चौतारोको विशेष महत्त्व हुन्थ्यो । भेटघाट, गफगाफ, थकाइ मार्ने, भारी बिसाएर सुस्ताउने थलो हुनेगर्थ्यो चौतारो । ढुंगाले चिठेर मञ्चजस्तो बनाइएका चौतारामा वर, पिपल, समीका ठूला झ्याम्म परेका रुख हुन्थे । शीतल छहारी दिनेमात्र होइन एक झर पानी नै ओत्ने । 

पहाडका गाउँहरू उजाडिने क्रममा चौताराहरू पनि मासिइन थाले । अहिले धेरै चौताराकाे बेहाल भएको छ ।

कतिपयको त नाम निसानै मेटिएको छ । नेपालको लोकतन्त्रको चौतारो पनि यसरी नै भत्किँदो छ । चुनाव लाेकतान्त्रिक अभ्यास हो । विडम्बना, नेपालमा भने चुनावले लोकतान्त्रिक आयाम (स्पेस) खुम्च्याउँदै गएको छ । विशेषगरी गत २०७४ को चुनाव र त्यसपछिका घटनाले लोकतन्त्रप्रति गम्भीर चासो राख्नेहरूलाई पक्कै झस्काएको हुनुपर्छ ।     

परन्तु, देशमा लोकतन्त्रको खुम्चँदो अवस्थाप्रति नेपालका राजनीतिक नेता कार्यकर्तामा भने पटक्कै चिन्ता देखिएन ।

उनीहरूले त चुनाव कसरी जित्ने र सत्तामा पुगेर राज्यको दोअन कसरी गर्ने भन्दा पर सोच्नै चाहेनन् । तिनकाे यस्तै सोचले यस चुनावपछि लोकतन्त्र झन् कमजोेर हुने जोखिम बढेको छ । 

अमेरिकामा त्यति लामो अभ्यास हुँदा त एक जना गलत व्यक्ति सत्तामा पुग्नेबित्तिकै लोकतन्त्रको जग खलबलियो । ट्रम्पले सुरु गरेको लोकतन्त्र विरोधी अभ्यासले दुनियाँभर लोकतन्त्रको साख गिरेको छ । संसारभर लोकतन्त्र र मानव अधिकारका वैरीहरू हौसिएका छन् । 

अधिनायकवादी सारथीहरू

आफूलाई ‘वामपन्थी’ भन्न रुचाउनेहरूमध्ये कम्युनिस्टहरू लोकतन्त्रलाई अर्कै लक्ष्यमा पुग्न प्रयोग गर्ने साधनमात्र ठान्छन् । आफ्नो स्वार्थमा लोकतान्त्रिक अभ्यास र संस्थाहरू बाधक बन्नेबित्तिकै प्रहार गर्न तम्सिहाल्छन् । नेपालमै यस्ता घटना धेरैपटक भएका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले दुईपटक प्रतिनिधि सभा भङ्ग गराए । पहिलोपटक प्रतिनिधि सभा भङ्ग गर्दा सर्वोच्च अदालतले त्यसलाई असंवैधानिक ठहर गरिदियो । पुनःस्थापित प्रतिनिधि सभालाई पनि उनले फेरि भङ्ग गरिदिए । सर्वोच्च अदालतले फेरि पनि उनको कदमलाई असंवैधानिक ठहर गर््यो । पछिल्लोपटक त संविधानको मर्ममा प्रहार गर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि प्रत्यक्ष मुछिइन् । तर, कसैले पछुतो मानेकाे वा नैतिक जिम्मेवारी लिएकाे देखिएन ।
 

त्यसोत तत्कालीन नेकपा (नेकपा) नै लोकतन्त्रका विरुद्ध अधिनायकवादीहरूको मोर्चाबन्दी थियो । यसैले पनि हुनुपर्छ त्यसका नेताहरू ५० वर्ष नेकपाले एकछत्र राज गर्ने फुटानी लाउने गर्थे । 

ओलीलाई हटाउन पार्टीको संसदीय दलमा चुनाैती दिनुकाे साटो पुष्पकमल दाहाल, माधवकुमार नेपालहरूले पार्टी संगठनबाट दबाब दिन थाले । यो संसदीय लोकतन्त्रको मान्यताविपरीत थियो । ओली त जनताले चुनेकाे सांसदहरूकाे नेता थिए । संसदीय दलका नेताका हैसियतमा प्रधानमन्त्री भएका उनलाई जनताको कुरै भएन नेकपाका कार्यकर्ताको समेत प्रतिनिधित्व नगर्ने पार्टीका मठाधीशहरूले हटाउन खोज्नु अधिनायकवादी प्रवृत्तिकै द्योतक हो । यसैले ओलीजस्तै दाहाल र नेपालमा पनि लोकतान्त्रिक संस्कार त परै छाडौँ लोकतन्त्रको मोह र सम्मानसमेत छैन । यी सबै लोकतन्त्रका वैरी हुन् ।

यिनै लोकतन्त्रका वैरीमध्ये दाहाल र नेपाल अहिले नेपाली कांग्रेसका सारथी बनेका छन् । पहिलो पुस्ताका नेताहरू (सुशील कोइरालासम्म) नेतृत्वमा रहुन्जेल नेपाली कांग्रेसले कम्तीमा लोकतन्त्रका हकमा सम्झौता गर्दैन भने ढुक्क हुनसकिन्थ्यो । अहिले त कांग्रेस पनि बहुरङ्गी भइसक्यो । सत्ताका लागि सिद्धान्तलाई खोपामा थन्क्याउने कांग्रेसका नेताहरूले लोकतन्त्रको रक्षा गर्लान् भन्नु शल्यले महाभारत जिती पो हाल्छन् कि भन्ने दुर्योधनको आशा जस्तै हुन पुगेको छ ।

नालायक नेताका फुटानी !

चुनावका बेला नेताका भाषण सुन्न र पढ्न चाखलाग्दो हुनुपर्ने तर यसपल्ट त दिक्क लाग्दो अनि रिस उठ्दो पो भएको छ । तिनकाे निकट अतीत र अहिलेका फुटानीले नै यस्तो अवस्था उत्पन्न भएको हो । आफ्नो पार्टीले उठाउने उमेदवारको योग्यतासम्म पनि पुगे नपुगेको ख्याल राख्न नसक्ने नालायकहरू मुलुक बनाउने फुटानी गर्न थालेपछि झोँक किन नचलोस् त !

कुनै पनि पदमा उमेदवार हुन न्यूनतम योग्यता तोकिएको हुन्छ । प्रतिनिधि सभा र प्रदेश सभाका उमेदवारकाे न्यूनतम योग्यता त झन् नेपालकाे संविधानमै तोकिएको छ । तैपनि विभिन्न दलका गरी समानुपातिक तर्फका ६ हजार ४५७ उमेदवारमध्ये ५५० जनाको उमेदवारी रद्द भएको छ । तीमध्ये ५२ जनाको त उमेरै पुगेकाे रहेनछ, ६६ जनाले दोहोरो उमेदवारी दिएका अर्थात् एकै जनाको नाम दुई वा दुईभन्दा बढी दलको सूचीमा परेको रहेछ ।मतदाता नामावलीमा नामै नभएका ६ जना, प्रदेशभन्दा बाहिरका १२ जना र लैङ्गिक पहिचानै फरक परेका ३७ जनाको उमेदवारी पनि खारेज भएछ । उमेदवारी खारेज हुनेमा आवश्यक कागजपत्रै नभएका ६ जना, लाभको पदमा रहेका १ जना, अनि कालोसूचीमा परेका १ जना पनि छन् । अयोग्य उमेदवारको ठूलो सङ्ख्या अर्थात् ३६९ जना भने स्थानीय तहको निर्वाचनमा उमेदवार भएका तर निर्वाचन खर्चको विवरण नबुझाउने अटेरहरू परेछन् ।

निर्वाचन आयोग भने उमेदवार बन्ने योग्यतासम्म पनि ख्याल नराख्ने नालायक नेताहरूलाई पनि ‘चुनाव हराऊ’ भन्न नदिने ! कस्तो ‘नाइन्साफी’?  
 

खान्गी बाँड्ने जंगे रहर

लोकतान्त्रिक घेरा साँगुरिँदै गएको छ । राजनीतिक विचार निर्माणका बेला सर्वहाराको अधिनायकवाद नै उत्तम पद्धति हो भन्ने छाप परेका र त्यसैमा दीक्षितहरूबाट अहिले जस्तो आवरणमा देखिए पनि लोकतन्त्र बलियो बनाउने काम हुँदैन । 

एकछत्र शासनको मोहमा लगाइने प्रत्यक्ष निर्वाचित कार्यकारीको रटना अवचेतनमा बसेको सर्वसत्तावादी शासनको अभिव्यक्ति हो । पूर्ण समानुपातिक हुने र अहिलेकै शैलीमा पत्नी, प्रेमिका, ताबेदार र मतियार छानिने भयो भने कल्पना गरौँ त कस्तो होला संसद्को अनुहार ? पूर्णसमानुपातिकको रटानले समानुपातिक प्रणालीप्रति नै वितृष्णा उत्पन्न हुन थालेको छ ।

जनसाङ्ख्यिक संरचना जस्तो छ संसद्को संरचना पनि त्यस्तै हुनु प्राकृतिक न्याय पनि हो । समानुपातिकमा पर्नेहरूको छनोटमा दलका नेता इमानदार भएको भए यति धेरै विकृति पक्कै देखिने थिएन ।

चुनावमा उमेदवार हुन नपाउने कार्यकर्तालाई अवसरै अवसर भएको घोषणा गर्ने पुष्पकमल दाहालकाे दलले सांसद् सङ्ख्या घटाउने घोषणा गरेको छ । अर्थात्, जनताले चुन्ने प्रतिनिधि घटाउने र ताबेदारहरूलाई तजबिजमा खान्गी बाँड्ने । जङ्गबहादुर हुने रहर !
र अन्त्यमा

निर्वाचन आयोगको कारिन्दा मानसिकताले अनर्थ हुने लक्षण देखिन थालेको छ । थप अनीष्ट नभए हुन्थ्यो । कतै चुनावको मुखैमा केही उमेदवारको उमेदवारी नै खारेज हुने त होइन ? चुनाव लड्नै रोक्ने होइन गर्न नहुने काम गरेर चुनाव जिते पदबाट हटाउने हो । बैठकभत्ता र तलब एउटै कुरा होइन । तोसिमा कार्कीको पछि लागेर निर्वाचन आयोगले के देखाउन खोजेको हो ? 

यस्तै मुकुन्द रिजाललाई जरिवाना गरेछ उमेदवारको प्रचारप्रसार गरेको भनेर । संसारमा अन्त यस्तो नियम वा अभ्यास कहाँ छ थाहा भएन तर त्यसो गर्नु न सैद्धान्तिक दृष्टिले उचित हुन्छ न व्यावहारिकरूपमा नै सही हुन्छ । पार्टीबाट उमेदवार भएर अनुमोदित वडा अध्यक्षले चुनाव प्रचार गर्न नपाउने हो भए कस्ले पाउने त ? 

चुनावमा सरकारी साधनकाे दुरुपयोग रोक्नुपर्छ तर राजनीतिक व्यक्तिको संलग्नता रोक्न हुँदैन । त्यसो भए त मन्त्रीलाई पनि दिनु भएन चुनाव प्रचार गर्न । पञ्चायतको अन्त्यतिर यस्तै चटक गर्न थालेका थिए । अहिलेका निर्वाचन आयोगका पदाधिकारीमा पनि पञ्चायतको प्रेत चडेजस्तो छ !

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro