site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लिभिङ टुगेदर 
Sarbottam CementSarbottam Cement

विचरी म ! प्रेममा पर्नुभन्दा अगाडि किन थाहा भएन पे्रम यति निठुर र कठोर हुन्छ ? किन पहिले थाहा भएन पे्रमको घाउ यति धेरै गहिरो, पीडादायक, दर्दनाक र भयानक हुन्छ ?

लाग्थ्यो, हृदयलाई स्पर्श गर्ने प्रेम फूलजस्तै कोमल र सुन्दर हुन्छ ।

ऐया ! मुटु पोल्छ बेस्सरी । मेरो यो एकल विलाप कसले सुन्छ ? मेरो मुुटु भित्रभित्रै यसरी रुन्छ, जसरी वसन्तको वियोगमा कोइली रुन्छे । जसरी सागरलाई भेट्न नपाउँदा नदी तड्पेर आत्मविलाप गर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

किन अचानक तीर बनेर हजारौँ यादहरू घोच्छ मेरो मुटुमा ? बिछोडको तीर किन यति धेरै धारिलो हुन्छ ? कसलाई सुनाऊँ यो भयानक पीडा ?

कसलाई देखाऊँ मेरो मुटुको घाउ ? कसरी बिर्सिदिऊँ म मेरो प्यारालाई ? कसरी क्षणभरमा उनीसँग बिताएका पललाई अतीत बनाऊँ ? अहँ सक्दिनँ ।

Global Ime bank

प्यारो मान्छेको बिछोडमा प्रेममय पलहरू काँडा बनेर मुटुमा बिझ्छ भनेर किन कसैले भनेनन् हँ ? उनीबिनाको जीवन म कसरी कल्पना गरूँ ?

दुईतर्फी पे्रमको चौतर्फी यातना झेलिरहेकी मैले मेरो मुटुको पीडा कहाँ कसरी बिसाऊँ ? उनको हात समातेर निस्केकी थिएँ, आफनो लक्ष्य पूरा गर्न । जीवन शृंगार्ने सपना उनीसँगै देखेकी थिएँ ।

म मोहनलाई बेलाबेला भन्थेँ, ‘मोहन, हामी छुट्टिनुपर्यो भने के गर्ने ?’

उनी मेरो मुखै थुनेर भन्थँे, ‘छुटिनु नै प¥यो भने तँैले आफनो टाउको काटेर मलाई राखिदे । जिउ लिएर जहाँ जानु छ जा, तेरो अनुहार हेरेर जीवन बिताइदिनेछु !’

उनको कुरा सुनेर म खुसी र उदास दुवै हुन्थेँ । म सोच्थेँ, मलाई यति धेरै माया र हेरचाह गर्ने मान्छे मैले पाऊँला कि नपाऊँला ? उनी भन्थे, ‘म तँबिना कसरी बाँच्न सक्छु प्रिय ? तँबिनाको जीवन कल्पना पनि गर्न सक्दिनँ ।”

प्यारालाई सम्झँदा मेरो मुटु क्षतविक्षत हुन्छ । तैपनि, मुटु जोडेर देखावटी खुसी हुनु छ, कसैका लागि । आफ्नो खुसीको आहुति दिएर जिउनु छ, आफन्त र परिवारका लागि ।

म सोच्छु, मैले आफन्त र परिवारलाई खुसी दिएँ, तर मलाई उनीहरूले के दिए ?

मैले प्याराबिनाको जिन्दगी कसरी कल्पना गर्नु ? उनीसँग बिछोडिएर एक्लै कसरी बाँच्नु ? पराई मान्छेको हात समातेर जिन्दगीको यात्रा कसरी तय गर्नु ?

म सोच्न पनि सक्दिनँ । तर, अबको यात्रामा निस्किनु छ मेरो प्याराविना नै । हे, मेरा प्यारा ! कसरी बिर्सिनु तपाईंलाई मैले ।

मैले एक दिन जिस्किएर मोहनलाई भनेकी थिएँ, ‘छुट्टिनुपर्यो भने तपाईंलाई बिर्सिने औषधि दिनुस् है ।’

मेरो कुरा सुनेर उनले भने, ‘बिर्सिने औषधि कसैले बनाएको भए म पनि त्यही खाइदिन्थेँ र तँलाई पनि त्यही खुवाउँथे । चिन्ता नगर् रिमा, मैले पढेको छु– हाम्रो मस्तिष्कले दुई वर्षसम्म सम्झिने रसायन उत्पादन गरिराख्छ । दुई वर्षसम्म हामीले एकार्कालाई बिर्सिन असम्भव छ । पछि विस्तारै एकार्कालाई बिर्सिंदै जानेछौँ, प्रिय ।’

प्याराबिनाको एक पल बिताउन कठिन थियो भने दुई वर्ष कसरी बिताउनुँ ? तर, बिताउनु त थियो अबको जिन्दगी, परिवारका लागि । तय गर्नु थियो यात्रा अरूसँग ।

बाआमाले मलाई सहरमा पढ्न पठाएका थिए । पढ्दापढ्दै मैले काम गर्न थालँे । काम गर्ने बेला अफिसमा मोहनसँग मेरो भेट भयो । विस्तारै हामीले एकार्कालाई मन पराउन थाल्यौँ ।

महँगी धेरै थियो । एक्लै डेराभाडामा बस्ने स्थिति थिएन । हामीले निर्णय लियौँ, ‘लिभिङ टुगेदर’मा बस्ने । अहिले बिहे नगर्ने । महिनाभर हामी दुवैजनाले बराबरी घर खर्च बेहोर्ने । 

लिभिङ्ग टुगेदरमा हामी बस्न थाल्यौँ । घरमा जानकारी दिएनौँ । हामीले समाजका अगाडि बिहे गरेका थिएनौँ । तर, गोप्य रूपमा लोग्नेस्वास्नीकै सम्बन्धमा थियौँ ।

तीन वर्षसम्म दिनहरू राम्ररी नै बित्यो । त्यसपछि उनले काम गर्न छोडे । पढाइमा मात्रै समय दिन थाले । म एक्लै काम गर्थेँ । घरभाडादेखि लिएर दुवैजनाको घर खर्च एक्लै बेहोर्थेँ ।

उनी स–साना कुरामा झर्किन्थे बेलाबेला । हामीबीच दह्रै झगडा पर्थ्यो । मैले मोहनलाई सामान किन्न पठाउँदा ‘मैले तेरो पैसा चलाएको छैन है’ भन्थे ।

उनको यस्तैयस्तै बानीले मेरो चित्त दुख्थ्यो । ‘तँसँग बस्नु छैन ।’ ‘मलाई पनि तपाईंसँग बस्नु छैन’ भन्दै हामीबीच घम्साघम्सी नै पर्थ्यो । उनी क्रोधित भएर घरबाट निस्केर घुम्न गइदिन्थेँ । म पनि निस्केर एक्लै बाहिर हिँड्थेँ ।

टाढा हुँदा एकार्काको माया लाग्थ्यो । हामी फेरि फर्केर डेरामा आउँथ्यौँ । मैले पनि उनलाई भन्थेँ र उनले पनि मलाई भन्थेँ, ‘तँबिना बाँच्न सक्दिनँ ।’ हामी झगडा नगर्ने निचोडमा पुग्थ्यौँ । तथापि, केही दिनपछि फेरि झगडा पर्थ्यो । थाहा छ, हाम्रो झगडामा पनि माया मिसिएको हुन्थ्यो ।

जब मेरो गाउँका एकजना दाइ छेउमै बस्ने साथीको कोठामा अफिसको कामले आए, ती दाइले मलाई चिने । म मोहनसँगै लिभिङ टुगेदरमा बसेको पनि चाल पाए । तर, मसँग केही भनेनन् ।

गाउँमा मेरा बालाई यस विषयमा कुरा लगाउलान् भन्ने भयले म पसिना–पसिना भएकी थिएँ ।

ती दाइले मसँग केही नभने पनि गाउँ गएर बालाई मेरा बारेमा सबै कुरा बेलिविस्तार लगाएछन् । बा भोलिपल्टै सहर आए ।

सहर आएर फोन गर्दै भने, ‘हमरा लैले या । डेरा कत छौ ? हम बसपार्कमे चियै ।’

बा सहर आएको सुनेर मेरो सातोपुत्लो उड्यो । बालाई भनेँ, ‘कथिले येलही ?’

‘बेसी बहाना नै बना । हमरा जल्दी लैले या ।’ बाको आवाजमा क्रोधमिश्रित रहेको अनुमान गर्न गाह्रो भएन ।

फोन राखेर मोहनलाई सबै बताएँ । छेउको कोठामा बस्ने साथीलाई हामीले आफ्नो अवस्थाका बारे बताउँदै म र मोहन मिलेर जतिसक्दो चाँडो मोहनको सामान साथीको कोठामा सार्यौँ । मोहन त्यहाँबाट निस्केर अर्कै टोलमा बस्ने साथीकहाँ बस्न गए ।

सबै सामान सारेर यता म बालाई लिन बसपार्क पुगेँ । म ढिला आएँ भनेर बा रिसले आगो भए । डेरामा आउनेबित्तिकै कोठाको चारैतिर आँखा डुलाए । यसरी डुलाए, मानौँ उनका आँखामा हजारौँ शंका–उपशंका नाचिरहेका छन् ।

उनले आँखा नचाउँदै भनेँ, ‘तोहे पहरिया छौरासङे एकेटा कोठामे रहैचिही से सुनने चियै । यी बात साच चियौ ?’ (तँ पहाडिया केटोसँग एउटै कोठामा बसेकी छेस् रे) भन्ने सुनेर म सत्य बोल्न डराएँ । मलाई सत्य बोल्ने साहस भएन । ढाँट्दै भनेँ, ‘बाबु, तोरा यी बात के कहलकौ ?’

‘झुट नै बोल । कोन छौंराजरे रहै चिही ? छौराके समान कत घोसारलिहि ?,’ बाले जंगिँदै भने ।

‘कोनो छांैरा जरे नै रहै चियै,’ नम्र हुँदै मैले बोलेँ ।

मेरो कुरामा विश्वास नगरेर बाले फेरि पनि कोठाको चारैतिर आँखा डुलाए । त्यहाँ मोहनको कुनै सामान देखेनन् । उनले अचानक दराज खोले । दराज खोल्दा मोहन र मैले सँगै खिचाएको तस्बिरमा उनको नजर पर्यो ।

त्यसपछि सबै बर्बाद भयो । बाको अनुहार आवेगले रातोपिरो भयो । रिसाउँदै उनले भने, ‘अखैनके अखैन गाम चल । आपन इज्जत त बर्बाद करलिही । हमरो इज्जतमे दाग लगाइलहि ।’

बाको आक्रोश देखेर मेरो मुखबाट बोली निस्किन बन्द भयो । बासँग झुटो बोल्दै गर्दा मेरो कानबाट तातो निस्किरहेको थियो । जिउ पनि लगलग कामिरहेको थियो ।

बाले मलाई जबरजस्ती गाउँ लिएर गए । अन्तिम क्षणमा मोहनलाई भेट्न पनि पाइनँ । उनलाई अन्तिम क्षणमा पनि भेट्न नपाउँदा आँसुले मेरो पछ्यौरी निथु्रक्क भिज्यो ।

बासँगै म गाउँ पुगँे । त्यहाँबाटै लुकेर मोहनलाई फोन गर्दै मैले आफू गाउँ पुगिसकेको बताएँ । मेरो कुरा सुनेर उनी धेरै उदास भए । सायद उनी पनि रोइरहेका थिए ।

बाले दुई हप्ताभित्रैमा मेरा लागि बेहुला खोजे । मेरो बिहे तय गरे । यी यावत् कुरा मोहनलाई फोनमा बताएँ । मैले मोहनलाई ‘मलाई भगाएर लैजानुस्’ पनि भनेँ । तर, उनी मानेनन् ।

उनले भने, ‘बाआमाको चित्त दुखाउने काम नगर् । म बिहे गरेरै तँलाई ल्याउँछु ।’

भोलिपल्ट उनले आफ्ना बा र दाइलाई मेरो घर पठाए, मलाई माग्न । उनका बा र दाइ बडो सास्ती झेल्दै मेरो घर खोज्दै आइपुगेका थिए । यसबीच मेरो बाले मोहनबारे सबैथोक पत्ता लगाइसकेका थिए ।

मोहनको बाले ‘म मोहनको बुवा हुँ, हजुरकी छोरी माग्न आएको हुँ’ भन्दै नमस्कारसहित प्रस्ताव राखे ।

मोहनको बुवाको कुरा सुनेर मेरो बा बोले, ‘म जमिनदार थारु हुँ । मेरो इज्जत वरिपरिको दश गाउँमा छ । म पहाडेलाई छोरी दिन सक्दिनँ । केटोको जागिर पनि छैन । जात, कुल नमिल्ने घरमा छोरी दिन्छु भनेर आस नगर्नुस् ।’

यति भनेर बा घरबाट बाहिर निस्किए, छोरी दिनु त परको कुरो भयो ।

बेलुकीसम्म मोहनका बुवा र दाइले मेरो बालाई कुरिरहे । बेलुकी भइसक्दा पनि बा नफर्केको देखेर मोहनका बुवा र दाइ निराश भएर यत्तिकै फकिए ।

त्यसपछि नै मोहनले मलाई फोन गरेर भने, ‘बाले भनेको मान प्रिय । समाजका लागि पनि यही नै सही हो । हामी छुट्टिनुमै सबैको भलाइ छ ।’

मोहनसँग मेरो मन मिल्थ्यो । उनीसँग बस्दा औधी खुसी हुन्थेँ । फेरि, हामीबीच कहाँबाट आयो यो जातपात, कुल, समुदाय र जागिरको कुरा ?

मोहनसँगै देखेका सपनाहरू टुक्राटुक्रामा परिणत हुँदा लाग्यो, मोहनबिना मेरो जीवन के हुने होला ? म कसरी बाँच्न सकूँला ?

पराई मान्छेसँग अबको यात्रा कसरी तय गरूँ ? मेरो प्यारालाई छोडेर अरूको हात कसरी समातूँ ? तर, अब बाँच्नु थियो उनीबिना । निस्किनु थियो जीवनको यात्रामा, मोहनबिना ।

उनीसँग बिताएका पलहरू मेरा आँखा र मस्तिष्कमा यस्तरी छाइरहेका थिए, जुन यादहरूलाई म मेटाउनै सक्दिनथेँ । उनकै यादहरूको सहाराले म बाँच्न विवश थिएँ । कठै, कति नमिठो क्षण ! उनीसँग बिताएका पल कति छोटो । अनि, बिछोड कति लामो ।

ऐया ! भित्रभित्रै मेरो मुटु कति दुख्यो दुख्यो । कति तड्पँे, भित्रभित्रै कति रोएँ । सुनेकी थिएँ, प्रेम शीतझैँ शीतल हुन्छ भन्ने । तर, म सल्किरहेकी थिएँ । कस्तो नशा हो यो बिनाऔषधि लठ्याउने ?

बेहोमीमै पनि प्यारालाई सम्झँदा एक टुक्रा खुसीको अनुभूति हुन्थ्यो । उनीसँग छुट्टिएको सम्झेर क्षणभरमै मेरो हातखुट्टा लाटो भएझैँ हुन्थ्यो । आफ्नै हातखुट्टा छाम्थेँ । चिमोट्थेँ । सामान्य बन्ने प्रयास गर्थेँ ।

मेरो बिहे बाले नै रोजेको केटोसँग भयो । तर, मेरो मन अझै मोहनसँगै थियो । म भित्रभित्रै अत्यन्त दुःखी र उदास रहन्थेँ । मुटु भित्रबाटै पोल्थ्यो । कसैलाई बताउन पनि सक्दिँनथेँ ।

म श्रीमान्को अनुहारमा मोहनललाई खोज्थेँ । मोहनलाई नदेख्दा अचानक आँखा अगाडि अँध्यारो छाउँथ्यो । जिउमा ऊर्जा नभएजस्तो शिथिल हुन्थेँ । लाग्थ्यो, जीवनका सबै खुसी मोहनसँग मात्र थियो ।

म एकोहोरिरहन्थेँ । भित्रभित्रै यति पिरोल्थ्यो, मोहनको यादले मैले हाँस्नै पनि बिर्सेँ । लाग्यो, जीवनमा अब कहिल्यै खुसी फर्कने छैन । मेरो जीवनमा दुःख, पीडा र तडप मात्र छ ।

मेरो प्याराको वियोगमा मलाई त्यही उदासीपन, त्यही तडप मिठो लाग्थ्यो ।  कसैसँग बोल्न मन लाग्दैनथ्यो । चिटचिटाहट उत्पन्न हुन्थ्यो ।

श्रीमान् भन्थे, ‘कथिले उदास रहै चिही ?’

उदास हुनुको कारण कसरी बताऊँ ? बाले बिदाइ गर्ने बेला भनेका थिए, ‘ज्वाइँको घरबाट त्यो पहाडिया केटोसँग भागिस् भने म विष सेवन गरेर मर्छु ।’

निदाएको बेला मात्र सबैथोक बिर्सिन्थेँ । निदाएको बेला दिमाग एकदम शान्त हुन्थ्यो । तर, निद्रा खुल्नेबित्तिकै मेरो मन, मस्तिष्क प्याराको याद र तडपले भरिन्थ्यो । मुटु धरधरी रोइरहेको हुन्थ्यो ।

दुई महिनापछि एक दिन अचानक मेरो छेउमै पानी भरिएको गिलास उठाउन खोज्दा घाँटी फर्केन । मुटु ढुकढुक भइरहेको थियो । पुराना कुरा सम्झन खोज्दा मेरो दिमागमा अधिक तनाव हुन थाल्यो ।

देखेँ, पुराना कुराहरू धमिलिँदै गइरहेको छ । सम्झनै सक्दिनथेँ । पुराना कुरा सम्झन नसकेर म झन्झन् तनावग्रस्त भएँ । बेलुकी कोठाको ढोका बन्द गर्दा निसासिन्छु जस्तो अनुभव भयो । ढोका बन्द गर्दा मनमा उकुसमुकुस भयो । मर्छु जस्तै लाग्यो ।

मैले तुरुन्तै गएर झ्याल खोलेँ । मन शान्त भयो ।

गर्दन, ढाड र कम्मर एकदमै दुख्न थाल्यो । धेरै बेरसम्म बसिरहनै सक्दिनथेँ । हातखुट्टा र दिमागका नसा बेतोडले चल्न थालेको अनुभूत हुन्थ्यो । मनमा अनेक विचार खेल्न थाल्यो । कुरा गर्दागर्दै रातोनिलो हुन्थेँ ।

मस्तिष्कमा एकैपटक धेरै विचारभाव उत्पन्न भएर होला, दोधारे स्थिति सिर्जना हुन्थ्यो । यो गरूँ कि त्यो गरूँ ! निर्णय लिन सक्दिनथेँ । वास्तवमा म बगरमा छटपटिएको माछाझैँ छटपटिन्थेँ ।

विचार मनभरि खेल्न थालेपछि रिँगटा लागेर लड्छु जस्तो हुन्थ्यो । सपनामा पनि मोहनलाई भेट्न गइरहेकी हुन्थेँ । सपनामा भए पनि सधैँसधैँ उनीसँगै हुन्थेँ ।

तर, मेरा आँखाछेउ श्रीमान् हुन्थे । उनलाई देखेर घृणा उत्पन्न हुन्थ्यो । मनभित्रभित्रै डर लागिरहन्थ्यो । मेरो जीवनमा अब केही बाँकी रहेन । म मोहनबिना बाँच्न सक्दिनँ भन्ने सोच्दै निराश हुन्थेँ ।

सायद मनमा धेरै कुरा खेलेर होला, मेरो दिमाग धेरै कमजोर भइसकेको थियो । जिउमा ऊर्जा नभएजस्तो अनुभव हुन्थ्यो । औधी थकाइ लाग्थ्यो । आँगन मात्रै बढार्दा पनि स्वाँस्वाँ हुन्थेँ ।

मध्यरातमा मेरो जिउमा खलखली पसिना आउँथ्यो । श्रीमान्ले नदेख्ने गरी पसिना पुछ्थेँ ।

एक दिन राति बिउँझिएर अँध्यारो कोठामै पसिना पुछिरहेकी थिएँ । उनले अचानक बत्ती बाले । म पसिनाले निथ्रुक्क भिजेकी थिएँ । मुटु ढुकढुक भइरहेको थियो । हातको नाडी र दिमागका नसाको गति तीव्र थियो ।

मेरो असहज अवस्था देखेर उनले गिलासमा पानी दिँदै भने, ‘कथि भेलौ तोरा ? राइतके कथिले पसिना आबै छौ ?’

ममाथि शंका नगरून् भनेर मैले भनेँ, ‘सपना देखलियै ।’

मेरो कुरा सुनेर उनले भने, ‘अतहेक पसिना नै येबक चाहि ।’

उनलाई मप्रति शंका लागेर भनेका होलान् । मैले भने केही बोलिनँ । बत्ती निभाएर सुत्ने प्रयास गरेँ । तर, मन विचलित भइरह्यो । निद्रा नै लागेन ।

मलाई अति नै भोक लागेको अनुभव हुन्थ्यो । म असामान्य मान्छेझैँ छिनछिनमा खान्थेँ । तैपनि, तुरुन्तै भोक लाग्थ्यो । आफ्नै खुराक देखेर मलाई डर लाग्थ्यो । यो के भइरहेको छ मलाई ? किन मलाई त्यति धेरै भोक लागिरहेको छ ?

सासू र जेठानीले मलाई केही भनेनन् । तर, श्रीमान्लाई सासूले एक दिन भनेको मैले सुनेँ । सासूले उनलाई भनिन्, ‘बहौरियाके कथिले ओतहेक भुख लागैछै ?’

‘हम पत्ता लगाइचियै’ भनेर उनले सहज जवाफ फर्काए ।

पहिलेका लुगाहरू मेरो जिउमा अट्दैनथ्यो । धेरै मोटाइसकेकी थिएँ, तैपनि जिउमा शक्ति नै नभएको अनुभव हुन्थ्यो । यस्तो लाग्थ्यो, मेरो जिउमा रत्तिभर पनि ऊर्जा छैन । म जुनै बेला पनि ढल्न सक्छु ।

कुनैकुनै बेला आत्महत्या गर्ने विचार समेत मनमा आउँथ्यो । यस्तो विचार आएका बखत म आफैँलाई सम्झाउँथेँ, जस्तोसुकै कठिन स्थितिबाट गुज्रिनुपरे पनि आत्महत्या गर्नु हुन्न ।

सासू र श्रीमान्ले मेरा बारेमा गरेका कुरा सुनेर मनमा कुरा खेलेर दोधारे स्थिति सिर्जना हुने र धेरै भोक लाग्नुको कारण सामाजिक सञ्जालमा खोज्न थालेँ ।

बल्ल चाल पाएँ, म विस्तारै मनोरोगको सिकार हुन लागेकी रहिछु । मैले आफैँले यस्तो स्थिति सिर्जना गरेकी थिएँ भने समाधान पनि मैले नै निकाल्नुपर्छ ।

उप्रान्त मैले सोचेँ, म जति दुःखी भए पनि मेरा प्यारा मेरो जीवनमा फर्केर आउनेवाला छैनन् । पाउनु मात्र प्रेम होइन नि ! गुमाउनु पनि चोखो प्रेम नै त हो ।

चोखो पे्रम गर्ने जोडीहरूको कहिल्यै मिलन भएको छैन । छुटेका नै छन् । छुटेर नै अमर भएको छ, उनीहरूको प्रेम । इतिहास साक्षी छ ।

मेरो लागि प्याराबिना बाँच्नु घेरै नै कठिन थियो । तथापि, जीवन बाँच्नु छ भनेरै जबरजस्ती स–साना कुरामा खुसी हुन थालेँ । घरका सदस्यहरूसँग कुरा गर्न थालेँ । जति उदासीले छोपे पनि जबरजस्ती हाँस्ने प्रयास गर्न थालेँ ।

कुरा गरिरहेका बेलामा पनि मेरा दिमागका नसा बेजोडसित चल्थ्यो । तर पनि आफूलाई नियन्त्रण गर्ने प्रयास गर्थेँ । आफूलाई काममा व्यस्त राख्ने प्रयास गर्थेँ ।

घरमा बसेर मनमा अनेकौँ कुरा खेल्थ्यो । मोहनसँग भेट्न मन लाग्थ्यो । श्रीमान्को अनुहारमा मोहनकै अनुहार खोज्थेँ । उनलाई एक झलक हेर्ने मन लागिरहन्थ्यो ।

सामाजिक सञ्जाल खोलेर प्रत्येक दिन लुकेरै भए पनि प्याराको तस्बिर हेरेर सुत्थेँ । हजाराँैपटक उनलाई फोन गर्न औँलाहरू तम्सिन्थे । फोन लगाउँथे पनि, तर घण्टी बज्न नपाउँदै काटिदिन्थेँ ।

म कति धेरै विवशताका बीच घेरिएकी थिएँ । लाग्थ्यो, सबै दायरा भत्काएर प्यारासँग गइदिऊँ । तर, लाचार थिएँ । के उनी पनि मजस्तै परिस्थितिका डोरीले बाँधिएका थिए ?

आफूलाई व्यस्त राख्नुपर्छ भन्ने लागेर गाउँनजिकैको स्कुलमा पढाउन थालेँ । दिनभर स्कुलमा व्यस्त रहन्थेँ । क्लासमा पनि थकाइ लागेर उभिन सक्दिनथेँ । तैपनि, जबरजस्ती उभिन्थेँ । मन रोइरहे पनि मन बुझाएर आफूलाई खुसी राख्ने प्रयास गरिरहन्थेँ ।

समयसमयमा प्याराको सम्झनाले मुटु छियाछिया हुन्थ्यो । लाग्थ्यो, एकान्त ठाउँमा गएर मन खोलेर बेस्मारी रोऊँ । तर, एकान्त ठाउँ पाउँदिनथेँ । सबैको अगाडि मनमनै रुन्थेँ । तर, कसैले चाल पाउँदैनथे ।

लाग्थ्यो, रात मात्र भइदिएको भए हुन्थ्यो नि ! म निदाइरहन्थेँ । निदाएको बेला प्याराको यादले सताउँदैनथ्यो ।

वर्ष दिनसम्म मेरा दिनहरू तनावमै बितेँ । तथापि, आफूलाई जबरजस्ती व्यस्त राख्ने प्रयास गदै गएँ । विस्तारै औधी भोक लाग्ने पनि नियन्त्रणमा आयो ।

मन नलागी नलागी श्रीमान्सँँग कहिले सिनेमा हेर्न त कहिले मेला हेर्न अनि बजार घुम्न जान थालेँ । विस्तारै पहिलाकै अवस्थामा फर्किएको भान भयो ।

तथापि, दुई वर्ष बितिसक्दा पनि प्यारासँग बिताएका कुनै पल भुल्न सकेकी छैन, मैले । लाग्छ, मृत्युशय्यामा पनि उनलाई बिर्सन सक्दिनँ ।

उनको वियोगमा मैले झेलेको मानसिक अवस्थिति के उनले चाल पाउलान् ?
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement