
काठमाडौं । होटल संघ नेपालले ब्याजदर घटाउन र सावाँ ब्याज भुक्तानी गर्ने समयसीमा बढाउन माग गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष सृजना राणाको नेतृत्वमा गण्डकी प्रदेश संघका अध्यक्ष हरि शर्मा गैरै, पोखरा क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदी, क्षेत्रीय होटल संघ सिद्धार्थनगरका अध्यक्ष सीपी श्रेष्ठ, क्षेत्रीय संघ चितवनका तर्फबाट बलराम सुवेदीका साथै होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह र महासचिव साजन शाक्यको टोलीले राष्ट्र बैंकसमक्ष ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष राणाले कोभिड–१९ ले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग अहिले केही सहज देखिएपनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रूपमा घाटामा सञ्चालनमा रहेको बताइन् ।
सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो वर्ष ६ लाख पुर्याउन पनि समस्या छ । यस अवस्थामा व्यवसाय सञ्चालन हुन नसकेको जनाउँदै व्यवसायीको जटिल समस्या भनेकै बैंकको बढ्दो ब्याजदर र समयसीमाभित्र सावाँ ब्याज बुझाउने तीव्र ताकेता रहेको अध्यक्ष राणाले बताइन् । उनले यसलाई सहज बनाउन गभर्नरसमक्ष आग्रह गरिन् ।
“व्यापारीले लिएको सावाँको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदाहुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई सावाँ ब्याज बुझाउन सक्षम नरहेको हुँदा सावाँ ब्याज बुझाउने समयसीमा बढाइ कम्तीमा पनि २ वर्षका लागि पुनर्तालिकीकरण र पुनकर्जाको सुविधासमेत उपलब्ध गरिनुपर्ने हाम्रो जोडदार माग रहेको छ,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
कोभिडको समयमा मौद्रिक नीतिबाट अवलम्बन गरिएको केही सेवासुविधा कोभिड लगायतका प्रकोपहरू जारी रहेकोले हालको समयमा पनि निरन्तारता दिइनुपर्ने र बैंकहरूबाट लागु गरिएको हालको बढ्दो ब्याजदर होटल जस्तो अत्यन्त संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएको भन्दै एकल अंकमा झारी लगानी प्रोत्साहन गर्न संघले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
उक्त अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीलाई त्रसित नहुन आग्रह गरेका छन् ।
गभर्नर अधिकारीले मौद्रिक नीतिको पुनरावलोकन तथा नीतिगत व्यवस्थापनमार्फत उचित मागहरूको सम्बोधन गर्दै सहयोगी भूमिका रहने बताए ।