काठमाडौं । बलात्कारको अभियोग लगाइएका क्रिकेटर सन्दीप लामिछानेको काठमाडौं जिल्ला अदालतमा बयान लिइएको छ । मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान लिइएको हो ।
सन्दीप पक्षका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाका अनुसार उनको बयान लिने कार्य करिब ६ घण्टा चलेको थियो ।
सन्दीपले सरकारी वकिलसितको बयानमा जस्तै सिनामंगलस्थित होटेल काठमाडौं इनमा नाबालिगसँग बसेको अदालतमा स्वीकार गरेका छन् । तर, जबरजस्ती करणी नगरेको बताएका छन् । बलात्कारको अभियोग इन्कार गरेका छन् ।
“सन्दीपले आफूलाई सिलसिलाबद्ध रूपमा फसाउन खोजेको भनेर बयानमा व्यक्त समेत गरेका छन्,” सापकोटाले बाह्रखरीसित भने ।
सन्दीपविरुद्ध नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा १० देखि १२ वर्षसम्मको कैद सजाय माग गर्दै गएको सोमबार मुद्दा दायर गरिएको थियो ।
सन्दीपविरुद्ध जबरजस्ती करणीको मुद्दा आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको छ । आज सन्दीपका तर्फबाट कानुन व्यवसायीले थुनछेक बहस गर्नेछन् ।