
काठमाडौं । मोहम्मद सालाह र डार्विन नुनेजको गोलमा लिभरपुलले मंगलबार राति नेपोलीलाई २–० ले हराए पनि समूह ‘ए’बाट उपविजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम–१६ मा स्थान बनाएको छ ।
इंग्लिस प्रिमियर लिगको क्लब लिभरपुलले घरेलु मैदान एनफिल्डमा गोलका लागि ८५ मिनेटसम्म कुर्नुपरेको थियो । नुनेजको पासमा सालाहले गरेको गोलबाट लिभरपुलले अग्रता लियो । इन्ज्युरी समया नुनेजले अर्को गोल थपेपछि लिभरपुलले तीन अंक पक्का गर्यो ।
योसँगै लिभरपुल र नेपोलीले समान १५ अंक जोडे पनि लिभरपुल गोलअन्तरमा पछि परेका कारण उपविजेता बनेको हो । नेपोली समूह विजेता बन्दै अन्तिम–१६ मा स्थान बनाउन सफल भयो ।
हारसँगै इटालियन सिरी ‘ए’को क्लब नेपोलीको सबैखाले प्रतियोगितामा गरी २१ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । नेपोलीका लियो ओष्टिगार्डले ५३औँ मिनेटमा गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर)ले अफसाइड घोषित गरिदिएको थियो ।
समूह ‘ए’को अर्को खेलमा नेदरल्यान्ड्सको आयाक्सले स्कटल्यान्डको रेन्जर्सलाई ३–१ ले हरायो । आयाक्स र रेन्जर्स यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका थिए । रेन्जर्स जितविहीन बन्यो । आयाक्सले ६ अंक जोड्यो ।