
काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । भैरहवास्थित एक्ट्राटेक ओभलमा सोमबार भएको खेलमा पुलिसले लुम्बिनीलाई ८७ रनले पराजित गरेको हो ।
जितका लागि २५० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १६२ रनमा समेटियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ५० ओभरमा ६ विकेट गुमाउँदै २४९ रन बनायो ।
पुलिसका लागि कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ७५ बलको सामना गर्ने क्रममा ६ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै, शेखले ७९ बल खेल्दै ५६ रन बनाए । यसमा उनको दुई छक्का समेत सामेल थियो । यसैगरी गुल्सन झाले अविजित ३६, दिलिप नाथले ३४ तथा अमित श्रेष्ठले २२ रन बनाए ।
बलिङतर्फ लुम्बिनी प्रदेशका कृष्ण कार्की र अजय चौहानले तीन–तीन विकेट लिए ।
यस्तै, लुम्बिनीका लागि १६२ रन बनाउने क्रममा प्रज्ज्वल थापाले अर्धशतकीय पारी खेले । उनले ७२ रन बनाए । थापाले ९४ बलको सामना गर्दै ७ चौका र एक छक्का प्रहार गरे । यस्तै मृनाल गुरुङले ३० तथा सलाहुद्दिन खानले १३ रन बनाए ।
बलिङतर्फ पुलिसका करण केसीले तीन तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए ।
सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । राउन्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अंकका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।