काठमाडौं । लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साँगीतिक यात्रा गर्दै आएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटकासाथ आफूलाई एक महिना लामो देशब्यापी यात्रामा प्रस्तुत गर्ने भएको छ ।
आगामी मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म (डिसेम्बर २ तारीख देखि ३१ तारीख सम्म) नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा रहेको यो ब्याण्डले यसैपालादेखि नयाँ अठोटका रुपमा ‘मानवता प्रवद्र्धन अभियान’ मा सहभागी हुँदैछ ।
यसभन्दा पहिले विद्यालयमा हतियारधारीहरुको हस्तक्षेप हटाउन ‘शान्तिको लागि शिक्षा’ र द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्तगर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियानहरु नेपथ्यकै सक्रियता एवं सहभागीतामा अघिबढेको थियो । यस्ता अभियानमा श्रोताहरुका प्रिय ब्याण्ड नेपथ्यले गीत सुनाउनुका साथै आफूले उठाएको नारालाई अथ्र्याउने प्रयास पनि गरेको थियो ।
यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दैआएको नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोँच लिएको जनाएको छ ।
‘मानवताको लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुती बिराटनगरमा हुनेछ । मंसिर १६ गते (डिसेम्बर २ तारीख) शुक्रबारका दिन त्यहाँस्थित ‘हाटखोला मैदान’मा नेपथ्य गुञ्जिनेछ । त्यसपछि ब्याण्ड वीरगन्ज प्रस्थान गर्नेछ ।
मंसिर १९ गते (डिसेम्बर ५ तारीख) वीरगन्जको ‘आदर्शनगर रंगशाला’मा ब्याण्ड प्रस्तुत हुनेछ । त्यसैगरि मंसिर २२ गतेका दिन (डिसेम्बर ८ तारीख) हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा लोक रक गीतहरु सुनाइनेछन् ।
हेटौंडा मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको स्थान पनि हो । त्यहाँबाट विस्तारभएको यो संस्थाले मुलुकभर ७७ वटै जिल्लामा हाल आफ्नो सेवा परिचालन गरिरहेको छ ।
ब्याण्डले यि प्रदर्शनहरुमार्फत् बेसहारा बन्नपुगेका नेपालीहरुको आवाज बनिदिने मात्र नभइ उनीहरुको सहयोगार्थ अर्थ संकलनमा समेत हातेमालो गर्नेछ । ‘हामीले गीत संगीत मात्र नभइ सामाजिक दायित्वलाईसमेत अभिभाराका रुपमा उठाउँदै आएका छौं,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नुनपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मनपराउँदै आउनुभएका श्रोता दर्शकमाझ पुग्नलागेका छौं ।’