काठमाडौं । नेपथ्यले नयाँ नारा र अठोटकासाथ आफूलाई एक महिना लामो देशब्यापी साँगीतिक यात्रामा प्रस्तुत गर्ने भएको छ । मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म (डिसेम्बर २ तारीख देखि ३१ तारीख सम्म) नेपालको पूर्वदेखि पश्चिमसम्म पुग्ने तयारीमा रहेको यो ब्याण्डले यसैपालादेखि नयाँ अठोटका रुपमा ‘मानवता प्रवद्र्धन अभियान’मा सहभागी हुँदै छ ।
यसभन्दा पहिले विद्यालयमा हतियारधारीहरुको हस्तक्षेप हटाउन ‘शान्तिको लागि शिक्षा’ र द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्तगर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियानहरु नेपथ्यकै सक्रियता एवं सहभागीतामा अघिबढेको थियो ।
यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दैआएको नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोँच लिएको ‘नेपालय’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानवसेवा आश्रम’ सँग हातेमालो गरेको छ ।
घर परिवार र आफन्तविहीन भइ वा परिवार र समाजबाट अपहेलित भइ मानशिक रोग लागेका मानिसहरुको सेवामा समर्पित विशुद्ध मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दसकयता सक्रिय छ । यो संस्थाले तीन वर्ष भित्रमा सिंगो मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मानवरहित तुल्याउने संकल्प बोकेको छ ।
‘मानवताको लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुती बिराटनगरमा हुनेछ । मंसिर १६ गते शुक्रबार त्यहाँस्थित ‘हाटखोला मैदान’मा नेपथ्य गुञ्जिनेछ । त्यसपछि ब्याण्ड वीरगन्ज प्रस्थान गर्नेछ । मंसिर १९ गते वीरगन्जको ‘आदर्शनगर रंगशाला’मा ब्याण्ड प्रस्तुत हुनेछ । मंसिर २२ गते हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा लोक रक गीतहरु सुनाइनेछन् ।
हेटौंडा मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको स्थान पनि हो । त्यहाँबाट विस्तारभएको यो संस्थाले मुलुकभर ७७ वटै जिल्लामा हाल आफ्नो सेवा परिचालन गरिरहेको छ ।
हेटौंडापछि २५ मंसिरमा नारायणघाटको ‘क्याम्पाचौर’मा ब्याण्ड उपस्थित हुनेछ । मंसिर महिनाको अन्तिम शो भने नेपालगन्जमा २९ गतेका दिन आयोजना गरिनेछ । त्यसपछि पुसको ३ गते ब्याण्डले धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ । ब्याण्डले वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पुस ६ गते कर्णाली प्रदेशका श्रोतालाई आफ्ना नयाँ तथा पुराना गीतहरु सुनाउनेछ ।
त्यसपछि फर्किएर बुटवल आइपुग्ने टोलीले त्यहाँस्थित ‘रामनगर खेलमैदान’मा तयार पारिने मञ्चमा आफूलाई पुस ९ गते प्रस्तुत गर्नेछ । नेपथ्य यात्राले ब्याण्डलाई उसको ‘होम ग्राउण्ड’मा प्रवेश गराउनेछ । पुसको १२ गते मंगलबार ब्याण्डले पोखरा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा आफूलाई उभ्याउने भएको छ । मुलुकका सम्पूर्ण प्रदेश घुमिसकेपछि अन्तिममा ब्याण्ड संघीय राजधानी काठमाडौं आइपुग्नेछ । काठमाडौंमा पुस १६ गते शनिबारका दिन भृकुटी मण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ ।
नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको हो । मुलुकभरका कन्सर्टहरुको आयोजक मानवसेवा आश्रमका स्थानीय तवरमा सक्रिय केन्द्रहरुले ती–ती स्थानमा यसलाई सघाउनेछन् ।