![बार्सिलोना समूह चरणबाटै बाहिरियो, इन्टर नकआउट चरणमा](https://12khari.top/uploads/posts/barca1666847535.jpg)
काठमाडौं । जर्मन बुन्डेसलिगाको टिम बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि स्पेनिस महारथी बार्सिलोना युईएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।
बार्सिलोना घरेलु मैदानमै पराजित हुँदा इटालियन क्लब इन्टर मिलानले चेक गणतन्त्रको भिक्टोरिया प्लाजेनमाथि ४–० को विजय हासिल गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ ।
पाहुना टोली बायर्नले दशौँ मिनेटमा सडियो मानेको गोलबाट अग्रता लिएको थियो । ३१औँ मिनेटमा इरिक म्याक्सिम चोउपो–मोटिङले बायर्नको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा बेन्जामिन पाभार्डले अर्को गोल थपे । तीनै गोलमा सर्ज गनाब्रीले अवसर सिर्जना गरिदिएका थिए ।
गनाब्रीले ५६औँ मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले अफसाइड घोषित गरिदिएको थियो ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
हारसँगै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो । लिग चरणमा अब एक खेल बाँकी हुँदा बार्सिलोना ४ अंकका साथ तेस्रो स्थानमा छ । १० अंक जोडेको इन्टर मिलान दोस्रो स्थानमा छ भने बायर्न १५ अंकका साथ शीर्ष स्थानमा छ । भिक्टोरिया प्लाजेन अंकविहीन छ ।
बार्सिलोनाले अब तेस्रो स्थानमा रहेर युरोपा लिग खेल्नेछ । बार्सिलोना अघिल्लो सिजन पनि समूह चरणबाट बाहिरिँदै युरोपा लिग खेलेको थियो ।
बायर्नले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको थियो । बुधबार रातिको जितसँगै इन्टरले पनि नकआउट चरणमा स्थान पक्का गरेको हो ।
इन्टरले घरेलु मैदानमा हेनरिक मिखितारियनको गोलबाट ३५औँ मिनेटमा अग्रता लिएको थियो । ४२औँ मिनेटमा इडेन जेकोले अग्रता दोब्बर बनाए । ६६औँ मिनेटमा जेकोले व्यक्तिगत दोस्रो गोल थपे । खेल सकिन तीन मिनेट बाँकी हुँदा रोमेलु लुकाकुले अर्को गोल थपेपछि इन्टरले सहज जित दर्ता गरेको हो ।
सबै खाले प्रतियोगितामा गरी ६ खेलमा इन्टरको यो पाँचौँ जित हो ।