काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको रणनीतिक बलको वार्षिक आणविक अभ्यासको अवलोकन गरेका छन् ।
पुटिनले युक्रेनमा जारी आठ महिना लामो युद्धको कारण पश्चिमासँगको तनाव बढेका बेला रणनीतिक बलले गरेको आणविक अभ्यास अवलोकन गरेका हुन् ।
सुदूर पूर्व र आर्कटिकमा ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्रहरू प्रक्षेपण गरिएको क्रेमलिनले बताएको छ ।
फेडेरेसन अफ अमेरिकन साइन्टिस्टका अनुसार रुससँग एक हजार १८५ अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र, ८०० सबमरिन–लन्च्ड ब्यालिस्टिक क्षेप्यास्त्र र ५८० एयर–लन्च्ड आणविक बम्बरहरू गरी रणनीतिक आणविक हतियारहरू छन् ।
अमेरिकालाई न्यू स्टार्ट हतियार सन्धि अन्तर्गत अभ्यास गरिएको बताइएको बीबीसीले जनाएको छ ।
युक्रेनले ‘डर्टी बम’ प्रयोग गर्ने योजना बनाइरहेको रुसले निराधार दाबी गरिरहेको बेला यी प्रक्षेपणहरू गरिएका हुन् ।
डर्टी बम रेडियोधर्मी पदार्थ मिसाइएको विस्फोटक यन्त्र हो । युक्रेनले यो बम प्रयोग गर्ने तयारी गरिरहेको भनी रुसले लगाएको आरोपलाई पश्चिमा देशहरूले झुटो भन्दै अस्वीकार गरेका छन् ।
र, रुसका यस्ता दाबीले मस्को आफैले यस्तो आक्रमणको तयारी गरिरहेको हुनसक्ने किभले चेतावनी दिएको छ ।
अमेरिकी सैन्य अधिकारीहरूले रुसी अभ्यासअघि उनीहरूले अमेरिकालाई जानकारी दिएर हतियार नियन्त्रणसम्बन्धी दायित्वहरूको पालना गरिरहेको औँल्याएका थिए ।
यसैबीच, अमेरिकी नेतृत्वको उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)ले पनि उत्तर पश्चिम युरोपमा स्टेडफास्ट नून नामक आणविक अभ्यास गरिरहेको छ । यो अभ्यासमा १४ देश सहभागी छन् ।
स्राेत : बीबीसी