लन्डन । असफल कर–कटौती बजेटका कारण बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बिहीबार पदबाट राजीनामा दिएकी छन् । उनले ल्याएको बजेटले बेलायतको वित्तीय बजारमा तहल्का मच्चाएको थियो ।
त्यसपछि उनको आफ्नै कन्जरभेटिभ पार्टीबाट उनको कडा आलोचना भएपछि राजीनामा दिन बाध्य भएकी थिइन् ।
पार्टीभित्रको आन्तरिक विद्रोहलाई थेग्न सकिने नदेखेपछि उनले पार्टीको नेता र प्रधानमन्त्री पदबाटै राजीनामा दिएकी हुन् ।
बिहीबार साँझ डाउनिङ स्ट्रिट बाहिर ट्रसले एक विज्ञप्तिमार्फत् भनेकी छन्, “हामीले कम कर र उच्च आर्थिक वृद्धिका लागि परिकल्पना तय गरेका थियौँ । यसले ब्रेक्जिटको स्वतन्त्रताको फाइदा उठाउन सकिन्थ्यो । तर यस सम्बन्धमा मैले आफूलाई निर्वाचित गर्ने कन्जरभेटिभ पार्टीबाटै म्यान्डेट जुटाउन सकिन । त्यसकारण मैले बेलायतका राजासमक्ष पदबाट राजीनामा दिन लागेको घोषणा गरेकी छु ।”
पार्टीबाटै राजीनामा दिएपछि एक साताभित्रै नयाँ नेतृत्वका लागि चुनाव सम्पन्न हुनेछ । सामान्यतया यस्तो चुनावका लागि दुई महिना लामो समय सीमा दिइने गरिन्थ्यो ।
हुन त एक दर्जन भन्दा टोरी विधायकले खुलारुपमै ट्रसलाई पदबाट राजीनामा दिन आह्वान गरेका थिए ।
नैतिकताका आधारमा भन्दा पनि उनले पार्टीभित्रको व्यापक दबाबका कारण राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएक छन् ।
बेलायतमा हप्तौँको आन्तरिक संघर्षपछि प्रतिद्वन्द्वी पूर्वअर्थमन्त्री ऋषि सुनकलाई पछि पार्दै कन्जरभेटिभ नेतृत्वको दौड जितेर लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्न सफल भएकी थिइन् ।
बेलायतकी नयाँ प्रधानमन्त्री बनेकी ट्रस संसद्को सर्वोच्च पदमा पुग्ने तेस्रो महिला पनि थिइन् । ठूलो अशान्तिपूर्ण आर्थिक अवधिको बीचमा पदभार ग्रहण गरेकी उनको प्रधानमन्त्रीको दौड, कसरी सफलताको शिखरमा पुगिन् त ?
वामपन्थी झुकाव राख्ने आमाबाबु
मेरी एलिजाबेथ ट्रस जुलाई १९७५ मा अक्सफोर्डमा जन्मिएकी थिइन् । तर, सानैदेखि बीचको नामले चिनिन्थिन् । बेलायतीहरूले एलिजाबेथलाई छोटकरीमा लिज भन्ने गर्छन् ।
उनका पिता गणितका प्राध्यापक थिए भने आमा प्रिसिला नर्सको रूपमा काम गर्थिन् । दुवै राजनीतिक रूपमा वामपन्थी कित्तामा उभिएका थिए । उनीहरू परमाणु निशस्त्रीकरणको लागि अभियान र ग्रीन पार्टीजस्ता संगठनहरूलाई समर्थन गर्थे ।
चार छोराछोरीमध्येकी जेठी र तीन दाजुभाइकी दिदी हुन् ट्रस । उनको परिवार अक्सफोर्डबाट लिड्स जानुअघि पैस्लीमा सरेको थियो । उनले स्कटल्याण्ड र इङ्ल्याण्ड दुवै राज्यका विद्यालयहरूबाट विद्यालय शिक्षा लिइन् ।
क्यानडामा थप एक वर्ष अध्ययन गरेपछि उनले अक्सफोर्डको मेर्टन कलेजको विद्यार्थीको रूपमा वेस्टमिन्स्टरमा प्रवेशको लागि राजनीति, दर्शन र अर्थशास्त्रको रूपमा चिनिने विषयमा स्नाकोत्तर गरिन् ।
राजनीतिमा पहिलोपटक हात हाल्दा
विद्यार्थी जीवनमा उनलाई कन्जरभेटिभ पार्टीको राजनीतिले त्यति उत्साहित बनाउँदैनथ्यो ।
यसको सट्टा उनी लिबरल डेमोक्र्याटमा आबद्ध भइन् । पार्टीको तर्फबाट अक्सफोर्ड विश्वविद्यालयको अध्यक्ष र युवा तथा विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने राष्ट्रिय कार्यकारी समितिको सदस्य बनिन् ।
त्यसबेला उनले भाङलाई वैधानिक बनाउनेदेखि राजतन्त्र खारेज गर्ने जस्ता कुराको अभियानै चलाएकी थिइन् । राजतन्त्र खारेजीको कुुरा त उनले पार्टीको वार्षिक सम्मेलनको भाषणमासमेत भनेकी थिइन् ।
तर, सन् १९९६ मा स्नातक गरेपछि ट्रसको राजनीतिक निष्ठा नै परिवर्तन भयो र उनी कन्जरभेटिभ पार्टीको पूर्ण सदस्य बनिन् । पछि उनले अक्सफोर्डमा रहँदा टोरीज (कन्जर्भेटिभ पार्टीको बोलाउने अर्को नाम) का नेताहरूको ‘द्वैध चरित्र नभएको र वास्तवमा असल मानिस थिए’ भनेर महसुस गरेको सार्वजनिक रूपमा बताएकी थिइन् ।
राजनीतिप्रतिको उनको बढ्दो लगाव हुँदाहुँदै सजिलै अवसरहरू पाइनन् । करिअरको सिँढीमा पहिलो पाइला चार्टर्ड व्यवस्थापन लेखापालको प्रशिक्षकको रूपमा थियो ।
त्यसको चार वर्षपछि, उनी टेलिकम फर्ममा इकोनोमिक डिरेक्टर बनिन् । वर्तमान पतिसँग विवाहको बन्धनमा बाँधिएकी थिइनन् । यस अवधिमा उनी लेविसाममा आफ्नो स्थानीय कन्जरभेटिभ एसोसिएसनमा संलग्न भइन् र दुई पटक हेम्सवर्थ (२००१) र काल्डर भ्याली (२००५) को वेस्ट योर्कसायर सिटहरूमा सांसद बन्न दुई पटक प्रयास गरिन् ।
सांसद बन्ने कठिन यात्रा
सन् २००६ अन्ततः एल्थम साउथको टोरी काउन्सिलरको रूपमा निर्वाचित भइन् । र २००९ सम्म थिंकट्याङ्क सुधारको उपनिर्देशकको रूपमा काम गर्दा उनी डेभिड क्यामरुनको पक्षबाट दक्षिण पश्चिम नोर्फोकमा एक प्रमुख प्रतिस्पर्धीको रूपमा चयन भएकी थिइन् ।
त्यसो त पहिलो संसदीय सिट जित्न उनलाई सजिलो भएको थिएन । आफ्नै पार्टीका विवाहित टोरी सांसद मार्क फिल्डसँग अवैध सम्बन्ध रहेको थाहा पाएपछि स्थानीय एसोसिएसनका सदस्यहरूले सन् २०१० को चुनावमा उनको चयन रद्द गर्ने प्रयास गरेका थिए । उक्त सम्बन्ध सन् २००६ मा अखबारहरूले खुलासा गरिसकेका थिए । तर, स्थानीय सदस्यहरूले उनी छानिएपछि मात्रै यसबारे थाहा पाएको दाबी गरे ।
तथापि, उनीहरूको प्रयास कहिल्यै सफल भएन र मे २०१० मा (अझै पनि ओ लेरीसँग विवाहित) उनले संसद्मा प्रवेश गरिन् र शीर्ष पदको लागि आफ्नो संसदीय यात्रा सुरु गरिन् ।
उनको प्रारम्भिक दिनहरूमा निर्वाचन क्षेत्रका मुद्दाहरू हाबी थिए, जस्तै, टोर्नाडो विमानहरू आफ्नो स्थानीय क्षेत्रमा राख्ने र शिक्षालगायत विषय ।
सन् २०१२ उनी शिक्षा विभागमा पहिलोपटक कनिष्ठ मन्त्री पदमा नियुक्त भइन् र २०१४ मा उनी वातावरण, खाद्य र ग्रामीण मामिला विभागको जिम्मेवारी लिएर राज्य सचिव भइन् ।
यो नियुक्तिले उनको करिअरको अर्को कन्ट्रोभर्सी निम्त्यायो– चीनको पोर्क बजारको उत्साहलाई समर्थन गर्ने र बेलायतमा पनीरको आयातलाई कम गर्ने जस्ता अपमानजनक अभिव्यक्ति दिएकी थिइन् ।
ईयू जनमत संग्रहमा पक्ष हारेको तर राजनीतिक आरोहण जारी
सन् २०१६ मा युरोपियन युनियन (ईयू) जनमत संग्रहमा ब्रेक्जिटको विपक्षमा रहिन् । दुई छोरीकी आमा उनले आफ्ना छोरीहरू ‘युरोपमा काम गर्न भिसा वा अनुमति चाहिने वा जहाँ उनीहरूलाई जबर्जस्ती लागत र अवरोधहरूका कारण व्यवसाय बढाउन बाधा पुग्ने संसारमा’ हुर्कन चाहँदैनन् भनेकी थिइन् । तर, पछि जनमतलाई स्वीकार गर्दै ब्रेक्जिटको पक्षमा आइन् ।
उनले ब्रेक्जिटको विषयमा आफ्नो प्रतिष्ठा निर्माण गरिन् र पार्टीको सही राजनीतिज्ञको रूपमा आफ्नो पक्षमा जनतमत तयार पार्दै गइन् । धेरैले उनलाई आफ्नो नेतृत्वको लागि तयारी गरेको विश्वास गरेका थिए, जब उनले विशेषगरी पुरुष सहकर्मीहरूले संसद्मा गरेका पुरुषार्थको मागहरूमाथि तिखो प्रहार गरेकी थिइन् ।
यद्यपि, ब्रेक्जिटको कारण सन् २०१९ मा पूर्वप्रधानमन्त्री मेले सत्ता छोड्नुपरेपछि उनी उत्तराधिकारी हुन दौडिइनन् । बरु, बोरिस जोनसनको समर्थनमा लागिन् । त्यसबेला उनी चान्सलर या सचिवको रूपमा पदोन्नतिको साथ पुरस्कृत हुने व्यापक हल्ला चलेको थियो ।
तर, उनले धेरै नै कम महत्वपूर्ण भूमिका अन्तर्राष्ट्रिय व्यापार सचिवको रूपमा पदभार ग्रहण गरिन् । तर बेलायतले ईयूबाट बाहिरिने क्रममा उनले अझै महत्वपूर्ण भूमिका खेलिन् । उनको कार्यकौशलमा पछि महिला र समानता पनि जोडिए ।
उनले विश्वमा बेलायतको नयाँ स्थान बनाउन सकिने सफलताको झण्डालाई निरन्तरता दिइन् र जापानसँग बेलायतको ब्रेक्जिटपछिको पहिलो व्यापार सम्झौता गरिन् ।
तर, उनले यमनमा जारी द्वन्द्वको बाबजुद पनि साउदी अरबसँगको सम्झौतालाई लिएर आलोचना खेपेकी थिइन् । उक्त सम्झौतमा बेलायतले साउदी अरबमाथि लगाइएको हतियार र उपकरण निर्यातमा प्रतिबन्ध हटाएको थियो ।
यसले पूर्वप्रधानमन्त्री जोनसनको मन्त्रिपरिषद्मा उनलाई हानि पु¥याएन र सेप्टेम्बर २०२१ मा ट्रस राज्यको ठूला कार्यालयहरूमध्ये एक विदेश सचिवमा पदोन्नति भइन् । लेबर पार्टीको मार्गरेट बेकेट पछि सो भूमिका निभाउने उनी दोस्रो महिला बनिन् ।
उनले एक पटक अन्तर्वार्तामा आफू धेरै कूटनीतिक नभएको बताएकी थिइन् । जबकी उनको काम ब्रेक्जिटपछि विश्व भ्रमण गर्नु र अन्य देशहरूसँग थप व्यापार सम्झौताको लागि पहल गर्नु थियो ।
उनले हारेकी मात्र छैनन्, सफलताहरूको स्वाद पनि चाखेकी छन् । इरानी–बेलायती नागरिक नाजानिन जाघारी–राट्क्लिफको रिहाइ सुरक्षित गर्न र फेब्रुअरी २०२२ मा रूसी आक्रमण पछि युक्रेनको लागि समर्थन जुटाउन उनी सफल भएकी थिइन् ।
जोन्सनको उत्तराधिकारी हुने दौड सुरु भएपछि अस्थिर सुरुवात
यता जोन्सनको पतन सुरु भएको थियो भने उता उनको नेतृत्वको महत्वाकांक्षा पृष्ठभूमिमा बढ्दै गएको थियो । थोरै शंकाको बीच उनले आफूलाई प्रधानमन्त्रीको दाबेदारको रूपमा उभ्याइन् । सांसदहरूको प्रतिस्पर्धामा अन्त्यमा ऋषि सुनकसँग अन्तिम दुईमा पुगेपछि उनले कर कटौतीलाई प्रमुुख एजेण्डा बनाएकी थिइन् ।
उनले रक्षा खर्च बढाउने, अपराधमा कडा कानुन र मार्गरेट थ्याचरको श्रद्धाञ्जली दिने कुरा थियो । तर, उनको मुख्य वाचा भने कर घटाउने र विकासलाई प्रोत्साहित गर्ने थियो ।
अन्ततः उनले टोरी सदस्यहरूको ५७ प्रतिशतको समर्थन प्राप्त गरी प्रधानमन्त्रीमा चुनिएकी थिइन् । एक निर्णायक जित तर कसै–कसैले अपेक्षा गरेजस्तो ठूलो अन्तर भने होइन ।
एक नयाँ प्रधानमन्त्रीको अध्याय कस्तो हुनेछ भनेर विश्वले उनलाई हेरिरहेको बेला ४५ दिनमै राजीनामा दिएर बाहिरिएकी छन् ।
स्काई डट कम को सहयोगमा