site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रशान्त लिम्बू : झापाले नेपाली फुटबललाई दिएको 'सुन्दर उपहार'
SkywellSkywell

काठमाडौं ।  “मेरा लागि यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तिमी हौ । समूह विजेता टिमको खेलाडीलाई दिने प्रचलन नभएको भए म सर्वोत्कृष्ट खेलाडीको अवार्ड तिमीलाई दिन्थेँ ।” 

माथि उल्लेखित पंक्ति एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगिताका म्याच कमिस्नर जार्गल सुखबाटरले नेपाली ड्रेसिङ रूपमा आएर कप्तान प्रशान्त लक्षम लिम्बूलाई भनेका हुन् । जुन सुखबाटरलाई उद्धृत गर्दै नेपाली टिमका मिडिया म्यानेजर प्रविणविक्रम कटवालले ब्राहखरीसँग भने ।

म्याच कमिस्नर सखबाटरको दुई लाइनको भनाइले नेपाली यू–१७ टिमका कप्तान प्रशान्तलाई पूरै परिभाषित गर्छ । प्रशान्त आफूले आफैँलाई डिफेन्डिङ मिडफिल्डर मान्छन् । बाहिरबाट हेर्दा उनको खेल शैली ठ्याक्कै बार्सिलोनाका कप्तान सर्जियो बुस्केटसँग मिल्छ । मध्यपंक्तिमा बसेर खेललाई अध्ययन गर्छन् । र, परिस्थितिअनुसार टिमको ‘मुभ’ बनाउँछन् । परेको अवस्थामा आक्रमणमा जान्छन् । आवश्यक पर्दा रक्षापंक्तिमा खडा हुन्छन् । 

KFC Island Ad
NIC Asia

Prashant 11666093576.jpg

प्रशान्त आफैँ पनि बुस्केटको फ्यान हुन् । उनी भन्छन्, “अन्तर्राष्ट्रिय फुटबलमा म बुस्केट र कासिमिरो मेरो मन पर्ने खेलाडी हुन् । उनीहरूको खेल्ने शैली मलाई मन पर्छ ।”

Royal Enfield Island Ad

भियतनाममा सम्पन्न एएफसी यू–१७ कप छनोट प्रतियोगितामा नेपालको नतिजा सन्तोषजनक रहेन । नेपालले प्रतियोगिताका तीनै खेलमा नमिठो पराजय भोग्यो । पहिलो खेलमा थाइल्यान्डसँग ३–० ले पराजित नेपाल दोस्रो खेलमा भियतनामसँग ५–० ले पराजित भयो । अन्तिम खेलमा चाइनिज ताइपेईसँग ४–२ ले पराजित भयो । ताइपेईविरुद्धको खेलपछि हो, म्याच कमिस्नर सखबाटरले नेपाली ड्रेसिङ रूपमा आएर प्रशान्तको प्रशंसा गरेको । 

चाइनिज ताइपेईविरुद्ध नेपालले गरेको दुईमध्ये एक गोल प्रशान्तले नै गरेका थिए । अर्को गोल धन सिंहले गरेका थिए ।

Prashant 21666093573.jpg

भियतनाम जानुअघि नेपाली युवा टोलीले श्रीलंकामा साफ यू–१७ च्याम्पियनसिप खेलेको थियो । जसमा नेपाल उपविजेता बन्यो । साफमा नेपालले समूह चरणमा छिमेकी प्रतिद्वन्द्वी भारतलाई ३–१ ले हराएको थियो । तर, फाइनलमा त्यही भारतसँग पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाउनुपरेको थियो । 

दुवै प्रतियोगितामा प्रशान्तको प्रदर्शन अब्बल रह्यो । त्यतिमात्र होइन प्रशान्तले दुवै प्रतियोगितामा कप्तानको भूमिकामा टिमको नेतृत्व पनि गरे । नेपाली फुटबलको उमेर समूहमा विशेष गरी एन्फा एकेडेमीका खेलाडीको दबदबा हुने गर्छ । प्रशान्तले एन्फा एकेडेमीको दबदबा तोड्दै टिमको नेतृत्व गरे । यसबाट प्रशान्तको प्रतिभा थप प्रमाणित हुन्छ । 

Prashant 31666093573.jpg

दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमको नेतृत्व सम्हालेका प्रशान्तले टिमको कप्तानी पाउँछु भन्ने कल्पना समेत गरेका थिएनन् । श्रीलंकामा साफ यू–१७ च्याम्पियनसिप हुने भएपछि टिम बनाउनका लागि एन्फाले सुरु गरेको खेलाडी छनोट क्याम्पमा सहभागी हुन प्रशान्त झापाबाट काठमाडौं आएका थिए । 

त्यसो त एन्फा एकेडेमीको उत्पादन नभएकाले‍ पनि प्रशान्तले कप्तानी पाउँछन् भनेर कसैले आकलनसम्म गरेका थिएनन् । तर, मिडफिल्डमा गज्जबको प्रदर्शन र टिम हाक्न सक्ने नेतृत्वदायी खुबीका कारण मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कप्तानको आर्मब्यान्ड प्रशान्तलाई सुम्पिने निर्णय गरे । 

“टिममा छनोट हुनु नै मेरा लागि सबैभन्दा ठूलो सफलता थियो । त्यो मेरा लागि सबैभन्दा खुसीको क्षण थियो । कप्तानी नै पाउँछु भन्ने सोचेको पनि थिइनँ । तर, प्रशिक्षकले ममाथि विश्वास गर्नुभयो । त्यसपछि त झन् खुसीको सीमा रहेन,” प्रशान्तले अनुभव सुनाए ।

कप्तानको जिम्मेवारी पाउँदाको क्षण जति सुखद थियो । प्रशान्तका लागि आफ्नो कप्तानीमा खेलेको पहिलो प्रतियोगिता अनुभव त्यति नै तितो छ । समूह चरणको अन्तिम खेलमा भारतलाई पराजित गरेका कारण फाइनलमा पनि हराउने लक्ष्य नेपालको थियो । तर, फाइनल नेपालका लागि बिर्सनलायक रह्यो । प्रशान्त स्वयम्का लागि त झनै दु:खद रह्यो । त्यसकारण त्यो प्रसंग आउँदा प्रशान्तको मनलाई अमिलो बनाउँछ । 

कारण, प्रशान्तले ३९ औँ मिनेटमा रातो कार्डको सामना गरेपछि मैदान छाड्नुपरेको थियो । 

“समूह चरणमा भारतसँग १–० ले पछि परे पनि तीन गोल फर्काउन सफल भएको थियो । त्यसकारण फाइनलमा पनि भारतलाई हराउन सक्छौँ भन्ने विश्वास थियो,” १७ वर्षे प्रशान्तले भने, “तर, लक्ष्यअनुरूपको प्रदर्शन गर्न सकेनौँ । मैले रातो कार्डको सामना गरेँ । त्यो मेरा लागि अहिलेसम्मको दुःखद क्षण हो । उपाधिको निकै नजिक हुँदा पनि ट्रफी घर ल्याउन सकेनौँ । त्यस कुराले अहिले पनि नराम्रो लाग्छ ।”

यू–१७ राष्ट्रिय टिममा स्थान बनाउनुअघि प्रशान्तले चर्च ब्वाइज युनाइटेडबाट सहिद स्मारक ‘बी’ डिभिजन लिगको अनुभव बटुलिसकेका थिए । प्रशान्तकै उत्कृष्ट प्रदर्शनप्रेरित चर्च ब्वाइज ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजन लिगमा बढुवा भएको थियो ।

पाँँचथरमा जन्मिएका प्रशान्त हाल झापा चारआलीमा बस्छन् । झापा आफैँमा फुटबलको उर्वर भूमि हो । झापाले राष्ट्रिय टिममा थुप्रै खेलाडी दिएको छ । तर, पछिल्लो समय विशाल राईहरूको ब्याचपछि झापाबाट राष्ट्रिय टिमले अब्बल खेलाडी पाउन सकेको छैन । बिच समयको त्यो खडेरी प्रशान्तले तोड्ने बलियो सम्भावना छ । प्रशान्तमात्र होइन, उनले नेतृत्व गरेको टिममा झापाका अन्य खेलाडी पनि छन् । जसले राष्ट्रिय टिमका लागि बलियो दाबेदारी पेस गरेका छन् । त्यसकारण झापाले पछिल्लो समय नेपाली फुटबललाई दिएको राम्रो उपहार हुन्, प्रशान्त । 

Prashant1666093636.jpg

लोकेन्द्र लक्षम र मनिता लक्षमका एक्ला छोरा हुन्, प्रशान्त । प्रशान्तकी एक बहिनी पनि छिन् । प्रशान्तका बुवाआमा दुवै हाल रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । बुवाआमा दुवै विदेश भएकाले प्रशान्त र उनकी बहिनी झापामा हजुरआमासँग बस्छन् । सानो छँदा गाउँमा छिमेकी दाइहरूले खेलेको देखेर प्रशान्तमा पनि फुटबल खेल्ने हुटहुटी जागेको हो ।

९ वर्षको उमेरदेखि प्रशान्त गाउँका तिनै दाइहरूको पछि लाग्दै बारी र खाली चौरमा नाङ्गो खुट्टा बलको पछि दौडिन थाले । चोटपटक लाग्ने तथा पढाइ बिग्रने डरले प्रशान्तलाई आमाबुवाबाट खेल्न अनुमति थिएन । तर, फुटबल मोहका कारण प्रशान्तलाई परिवारको गाली र चोटपटकको त्रासले असर गरेन । 

“दाइहरूले खेलेको देख्दा रमाइलो लाग्थ्यो । विस्तारै उहाँहरूसँगै म पनि खेल्न थाले । उमेर सानै भएकाले बाबा मम्मीले नखेल, चोट लाग्छ भन्नुहुन्थ्यो,” प्रशान्तले बाल्यकाल सम्झिए, “तर, लुुकेर, भागेर भए पनि खेल्न जान्थे । पछि त बाबा र अंकलहरूले पनि खेल्न प्रोत्साहन गर्नभयो । बल, बुट ल्याइदिनुभयो । अहिले त सबैजनाले राम्रो खेल्न भन्नुहुन्छ । अब सिनियर टिमबाट खेल्नुपर्छ भन्नुहुन्छ ।” 

प्रशान्तले फुटबलसँगै पढाइलाई पनि निरन्तरता दिएका छन् । व्यवस्थापन संकायका विद्यार्थी प्रशान्तले १२ कक्षामा कम्प्युटर साइन्स लिएका छन् । पढाइका कारण फुटबललाई समय दिन कठिन हुने भए पनि प्रशान्त फुटबलसँगै पढाइलाई पनि निरन्तरता दिने योजनामा छन् । 

“टाइम म्यानेज गर्न असहज त हुन्छ । तर, पढाइलाई छोडेर फुटबल मात्रै खेल्ने सोच छैन । दुवैलाई सँगै अघि बढाउनेछु,” राष्ट्रिय टिममा स्थान बनाउन मिहिनेत गरिरहेका प्रशान्तले भने । 

प्रशान्तले राष्ट्रिय टिमबाट खेल्न उमेर समूह जस्तो सहज नहुने बुझेका छन् । उनलाई अहिलेको मिहिनेत राष्ट्रिय टिमसम्मको यात्रा तय गर्न पर्याप्त छैन भन्ने राम्रोसँग थाहा छ । त्यसैले प्रशान्त आफ्नो प्रदर्शनमा अझ निखार्न अपराह्न ४ बज्नासाथ जर्सी, बुट, जुराफ र प्याडसहित स्थानीय फुटबल चौरमा प्रशिक्षणका लागि दौडिहाल्छन् ।

“प्रशान्त टिममा एक फरक खेलाडी हुन् । कम बोल्छन् । तर, मैदानमा लिडर हुन् । बसमा हुँदा पनि विदेशी खेलाडीको स्किलहरू हेरेर बस्छन्,” प्रशान्तको प्रशंसा गर्दै भियतनाममा नेपाली टिमका मिडिया म्यानेजर कटवाल भन्छन्, “गड गिफ्टेड खालको खेलाडी हुन् । उत्तिकै मिहिनेती पनि छन् । प्रशान्त भविष्यमा सम्भावना बोकेका राम्रो खेलाडी हुन् ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro