सय वर्ष बाँच्ने व्यक्ति नै समाजमा बिरलै भेटिन्छन् । त्यसमा पनि १०३ वर्षसम्मै सक्रिय जीवन बिताउने व्यक्ति झन् लाखौं त के करोडौंमा एक होलान् । सत्यमोहन जोशी त्यस्तै करोडौंमा एक विशिष्ट व्यक्ति थिए ।
भाषा र संस्कृतिका क्षेत्रमा उनको जोशीको विशेष योगदानको नेपाली समाजले पनि खुलेरै कदर गरेको छ । सम्भवतः नेपालमात्र होइन संसारमै जीवित छँदै कुनै स्रष्टाले जोशीले जस्तो राज्य र नागरिक दुवैबाट समान सम्मान बिरलै पाएका होलान् ।
धेरै स्रष्टाले आफूलाई समाजले कति सम्मान गर्छ भन्ने देख्न वा अनुभव गर्न पाएका हुँदैनन् । शताब्दी पुरुष सत्यमोहन जोशीले भने समाजको स्नेह र सम्मान दुवै अनुभव गर्न पाए । उनले पाएको श्रद्धा र स्नेह भने उनकै आर्जन हो ।
जीवित छँदै उनको चित्राङ्कित हुलाक टिकट छापियो । उनको नाम भएको टक पनि काटियो । सम्भवतः देश लोकतान्त्रिक गणतन्त्र भएको प्रत्यक्ष प्रमाण थियो त्यो । जनताको जीवित छोराका नाममा टक काट्ने काम गणतन्त्रमा न सम्भव हुन्छ ।
उनको इच्छाअनुरूप उनको पार्थिव शरीर मरणोपरान्त एउटा शिक्षण अस्पताललाई दिइएको छ । यसले पनि जोशी आफ्नो समयभन्दा निकै उदार र प्रगतिशील विचारका रहेको पुष्टि हुन्छ । नेपाली समाजका लागि उनको जीवनको सम्भवतः अन्तिम निर्णयसमेत प्रेरक हुने देखिन्छ ।
नेपाली समाजको चाँडै बिर्सने बानी छ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि त्यसरी नै बिर्सियो भने चाहिँ नेपाली समाज आडम्बरी र कृतघ्न सिद्ध हुनेछ । यसैले उनको कीर्ति चिरस्थायी बनाउन राज्य र उनका प्रशंसकहरूले ध्यान दिनुपर्ने देखिन्छ ।
शताब्दी पुरुष जोशी बहुआयामिक प्रतिभा भए पनि नेपालको लोक साहित्य र संस्कृतिको अध्ययनमा उनको उचाइमा अरु पुग्नसकेका छैनन् । यसैले सत्यमोहन जोशीको स्मृतिमा नेपालको लोक साहित्य र संस्कृतिको अध्ययनका लागि विशेष प्रतिष्ठान बनाउनु उनीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।
नेपाली लोक संस्कृतिको अध्ययनबाट नेपाली समाज पनि लाभान्वित हुनेछ । यथार्थमा नेपाली समाज सांस्कृतिक विविधताका दृष्टिमा पनि सम्पन्न छ । नेपाली लोक कला, साहित्य र संस्कृतिको संरक्षणमा गरिने प्रयास नै शताब्दी पुरुष जोशीप्रति वास्तविक सम्मान हुनेछ ।
श्रद्धेय सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि !