बेइजिङ । चीनको राजधानी बेइजिङमा विश्वको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २०औँ महाधिवेशन आइतबारबाट सुरु भएको छ ।
महाधिवेशमा पाँच वर्षको कामको समीक्षा, भविष्यको लागि पाठ्यक्रम तयार र नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ । वर्तमान महासचिव एवम् राष्ट्रपति सी नेतृत्वका लागि चुनिए ऐतिहासिक तेस्रो कार्यकालको बाटोमा छन् ।
पार्टी महाधिवेशनका लागि प्रतिनिधिहरू चयन गर्ने प्रक्रियामा छ । यसको लागि नोभेम्बर २०२१ देखि प्रक्रिया सुरु भएको थियो । सीपीसीले आफ्ना ९ करोड ५० लाखभन्दा बढी सदस्यहरूबाट कसरी २ हजार ३०० प्रतिनिधिहरू छनोट गर्छ त ?
महाधिवेशनको कार्यविधि के हो ?
प्रान्तीय–स्तरका क्षेत्रहरू, केन्द्रीय अधिकारीहरू, केन्द्रीय वित्तीय क्षेत्र र बेइजिङस्थित केन्द्र–शासित राज्य–स्वामित्व भएका उद्यमहरूसहित ३८ निर्वाचन इकाइहरूबाट प्रतिनिधिहरू निर्वाचित हुन्छन् ।
सम्पूर्ण प्रक्रियामा सामान्यतः पाँच भागहरू हुन्छन्ः पार्टी सदस्यहरूद्वारा उमेदवारहरूको मनोनयन, उमेदवारको समीक्षा, प्रतिक्रियाको लागि उमेदवारहरूको सार्वजनिक सूचना, छनोट भएका उमेदवारको सूची र प्रत्येक निर्वाचन इकाइमा अन्तिम मतदान हुन्छ ।
निर्वाचित प्रतिनिधिहरूको राष्ट्रिय महाधिवेशनअघि नै योग्यता समीक्षा समितिले जाँच गरिसकेको छ । उक्त प्रक्रियामा सो क्षेत्रको प्राथमिकस्तरको पार्टी संठनहरूको सय प्रतिशत र ९९.१५ प्रतिशत पार्टी सदस्यहरू संलग्न भएका थिए ।
योग्यता
प्रतिनिधिहरू पार्टीका अनुकरणीय सदस्यहरू हुनुपर्छ र कडा मापदण्ड पूरा गर्नुपर्छ । राजनीतिक निष्ठालाई मूल्यांकनमा पहिलो स्थान दिइन्छ । पार्टी नेतृत्वका अनुसार उमेदवारहरू सबैभन्दा पहिले ठोस आदर्श तथा विश्वास र उच्च नैतिकवान हुनुपर्छ ।
योग्य प्रतिनिधिहरू स्वच्छ छवि र इमानदार हुनुपर्छ । भ्रष्ट अधिकारीहरूलाई मनोनयन गर्न प्रतिबन्ध लगाइनेछ । गुइझोउ प्रान्तमा राजनीतिक अनुशासन र नियमहरू उल्लंघन गर्ने वा इमानदारीमा समस्या भएकाहरूलाई नकारात्मक सूची बनाई त्यसमा अयोग्यको रूपमा राखिएको थियो ।
उमेदवार छनोटका लागि विभिन्न निर्वाचन इकाइहरूको आ–आफ्ना विशिष्ट आवश्यकताहरू हुन्छन् ।
तिब्बतका उमेदवारहरूसँग चिनियाँ राष्ट्रको लागि समुदायको बलियो भावना हुनुपर्छ र राज्य पृथकतावादविरुद्ध स्पष्ट अडान लिनुपर्छ ।
“मैले मेरा सिफारिसहरू गर्दा उमेदवारहरूको समग्र प्रदर्शन र योग्यतालाई ध्यानमा राखेको थिएँ,” ५० वर्षभन्दा बढी समयदेखि पार्टी सदस्य भइसकेका छिन्घाई प्रान्तका सीपीसी सदस्य झाओ डियानबाङले भने ।
कसरी सिट बाँडफाँट गरिन्छ ?
दुई हजार ३०० प्रतिनिधिहरू ३८ निर्वाचक इकाइहरूद्वारा चुनिएका छन् । २०औँ सीपीसी राष्ट्रिय महाधिवेशनका सिटहरू मुख्यतः पार्टी संगठन र प्रत्येक निर्वाचन इकाइका पार्टी सदस्यहरूको संख्यामा आधारित छन् । विभिन्न चुनावी इकाइहरूलाई सिट बाँडफाँट गर्दा अघिल्लो सीपीसी राष्ट्रिय कांग्रेसहरूमा प्रतिनिधिहरूको कोटालाई पनि ध्यानमा राखिन्छ ।
बाँडफाँटको सूत्र अनुसार प्रत्येक निर्वाचन इकाइका लागि २०औँ सीपीसी राष्ट्रिय कांग्रेसमा प्रतिनिधिहरूको संख्या मूलत १९औँ राष्ट्रिय महाधिवेशन जस्तै छ । महाधिवेशनअनुसार २०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन पार्टीका केही सेवानिवृत्त पदाधिकारीहरूलाई आमन्त्रित गरिनेछ ।
सबै पक्षलाई समेटिने
प्रतिनिधिहरूले ९ करोड ५० लाख सीपीसी सदस्यहरूको प्रतिनिधित्व गर्ने भएकाले महाधिवेशन सावधानीपूर्वक डिजाइन गरिएको छ । प्रतिनिधिहरू समाजका सबै क्षेत्र, समग्र देशका विभिन्न क्षेत्र र विभिन्न जनसांख्यिकीय समूहहरूबाट चुनिने व्यवस्था गरिएको छ । जसमा दुवै लैंगिक र जातीय अल्पसंख्यकहरूको प्रतिनिधित्वको सुनिश्चितता गरिनेछ ।
तल्लो तहका सदस्यहरू प्रतिनिधिहरूको महत्त्वपूर्ण अनुपातका लागि जिम्मेवार हुनेछन् । फ्रन्टलाइनमा काम गर्ने पार्टीका सदस्यहरूले कुल सिटको कम्तीमा एक तिहाइ सिट हुनुपर्छ । जबकी पदाधिकारीहरूका लागि लागि ती दुई तिहाइभन्दा बढी हुँदैन । किसान, मजदुर र प्राविधिकहरूबीच उत्कृष्ट सदस्यहरूलाई प्राथमिकता दिइनेछ ।
व्यवसायी, वैज्ञानिकदेखि डाक्टरसम्मका विभिन्न पेसाका साथै प्रदेश, महानगरदेखि गाउँसम्मका विभिन्न तहका प्रशासनिक इकाइहरू सबैको प्रतिनिधित्व हुनेछ ।
पूर्वी चीनको जियांसी प्रान्तको राजधानी सहर नान्चाङमा रहेको पार्टीका अधिकारीहरूले आफ्ना २ लाख ६० हजार सदस्यहरूलाई उमेदवार सन्दर्भको रूपमा १३३ स्थानीय ग्रास–रूट रोल मोडेलहरूको सूची वितरण गरेका थिए ।
दक्षिणपश्चिम चीनको युनान प्रान्तमा विभिन्न जातीय अल्पसंख्यक समूहहरूको बसोबास छ । त्यहाँ उनीहरूका बीच प्रतिनिधि सीटहरू उचित रूपमा बाँडफाँट गरिएको छ ।
स्वच्छ निर्वाचन कसरी हुन्छ ?
चीनमा मतदान गर्न र भोट खरिद गर्न कडा प्रतिबन्ध छ । पार्टीको अनुशासनात्मक एजेन्सीहरू र संगठन विभागहरू राष्ट्रव्यापी चुनावका लागि तयारीमा छन् । हटलाइन सेवाहरू जनताको गुनासोहरू सम्बोधन गर्न चौबीसै घण्टा सञ्चालनमा छन् ।
ठूलठूला सचेतना अभियानहरू सञ्चालन गरिएको थियो । विगतका चुनावी घोटालाहरूलाई उदाहरणको रूपमा प्रयोग गरी पार्टीका सदस्यहरूलाई गलत व्यवहारको चेतावनी दिन र सम्भावित अपराधीहरूलाई रोक्न यस्ता अभियानहरू सञ्चालन गरिएका हुन् ।
निर्वाचन प्रक्रियाका सबै चरणहरू निगरानीमा राखिएको छ । यद्यपि, पार्टी अनुशासनात्मक नियमहरू र चुनावी प्रोटोकलहरू उल्लंघन गर्नेहरूलाई कडा कार्बाहीको व्यवस्था छ ।
कडा सुरक्षा र प्रतिस्पर्धाका बीच २ हजार ३०० प्रतिनिधि तियानमेन स्क्वायरको ग्रेट हल अफ द पिपुलमा हिजोदेखि एक हप्तासम्म भेला भएका छन् । तीमध्ये करिब २०० जनालाई पार्टीको केन्द्रीय समितिमा सामेल गर्न छनोट गरिनेछ भने करिब १७० जना वैकल्पिक सदस्य छनोट हुनेछन् ।
केन्द्रीय समितिले पार्टीको पोलिटब्युरोमा २५ जनालाई चयन गर्नेछ । पोलिटब्यूरोले पोलिटब्युरो स्थायी समितिका सदस्यहरू नियुक्त गर्नेछ । हाल पार्टीका महासचिव सी चिनफिङसहित सात सदस्य छन् ।
सी तेस्रो पटक पनि चुनिए उनले विश्वको दोस्रो ठूलो अर्थतन्त्र र यसको सबैभन्दा ठूलो सैन्य शक्तिको नेतृत्व गर्नेछन् । केही विश्लेषकहरूका अनुसार उनले तेस्रो पाँच वर्षको कार्यकालमा चीनलाई थप अधिनायकवादी राजनीतिक अडानतर्फ धकेल्ने सम्भावना छ ।
६९ वर्षीय सीले राष्ट्रका तीन प्रमुख पद ओगटेका छन् । उनी महासचिवको हैसियतमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख हुन् । राष्ट्रपतिको रूपमा उनी चीनको राष्ट्र प्रमुख हुन् भने चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षको रूपमा उनले देशको सशस्त्र बलको कमान्डसमेत गर्छन् । स्रोत : सिन्ह्वा