site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हिटम्यान’का कठपुतली

दसैँभन्दा पहिले नै हो एउटा कोठे भेटघाटमा पुगेको थिएँ । जाँदा थाहा थिएन पुगेपछि थाहा भयो नेपाली कांग्रेस निकट व्यक्तिहरूको जमघट रहेछ । त्यहाँ उपस्थितमध्ये कतिपय अहिले वा पहिले सत्तामा रहेकाहरू थिए । त्यस्ता व्यक्तिहरूको जमघटमा आत्मश्लाघा भरिएको ज्ञानगुन र अर्तीबुद्धि धेरै त सुनिने नै भयो । एकजनाले बाढीले बगाउने ढुंगाबालुवा विदेश निर्यात गरेर खर्बौं रूपियाँ आर्जन हुने कुरा गर्दा पनि कसैले वास्ता नगरेको गुनासो गरे । त्यतिबेला पदमै बहाल रहेका अर्का व्यक्तिले पनि ढुंगाबालुवा निकासीका पक्षमा विचार प्रकट गरे । बाँकी कसैले त्यस विषयमा केही बोलेनन् ।

 

यसको केही दिनपछि अर्थमन्त्री जनार्दन शर्माले ‘ढुंगाबालुवा’ बेच्नसमेत नपाएकोमा रोष प्रकट गरेको समाचार सार्वजनिक भयो । यिनकाे कुरा कसरी मिल्योजस्तो लाग्यो । त्यसपछि नेकपा (एमाले)का नेता विष्णु पौडेलले अर्थमन्त्रीका रूपमा  र शङ्कर पोखरेलले लुम्बिनीकाे मुख्यमन्त्रीका हैसियतमा ढुंगाबालुवा विदेश निकासी गर्न गरेको जोडबलको सम्झना भयो । त्यतिबेला डाँडै खनेर ढुंगा निकासी गर्ने योजना अदालतले रोक लगाएकाले कार्यान्वयन नभएको हो क्यारे । 

 

स्थलमार्गबाट ढुंगाबालुवा निकासी गर्दा नजिकको बजार त भारतका उत्तरप्रदेश र बिहार नै हुन् । भारतमा निर्माण तीव्र गतिमा हुन थालेको छ भने निर्माण सामग्री अपर्याप्त छ । नेपालकाे ढुंगाबालुवा खुलारूपमा लैजान पाए सजिलो पनि हुन्छ । अनि प्रयास किन नहोस् त ? एमाले, माओवादी र कांग्रेसका नेताहरूको पनि कुरा त मिल्दोरहेछ कहिले कहीँ ! 

 

भारतमा कोरोनाको कहरकै बीचमा २०२०/२१ मा ठूलो किसान आन्दोलन भयो । किसानहरूले कृषिमा आधुनिकीकरणका नाममा सरकारले प्रस्ताव गरेको कानुनविरुद्ध आन्दोलन गरेका थिए । सरकारले आन्दोलन दबाउन धेरै शक्ति लगायो । तर, सफल भएन र अन्ततः कानुन फिर्ता लियो । भारत सरकारले किन यति धेरै जिद्दी गरेको होला जस्तो लागेको थियो ।

 

नेटफ्लिक्समा एउटा जासुसी सिरिज ‘द ब्ल्याक लिस्ट’ हेर्दा पो रहस्य थाहा भयो अमेरिकी कम्पनीहरूका लागि ‘इकोनोमिक हिटम्यान’हरूले भारत सरकारका अधिकारीलाई र भारतीय जनता पार्टीका नेतालाई फकाएका रहेछन् र पो किसानहरू पेलिएका रहेछन् । 

 

अपराध जगत्मा चलेको एउटा अंग्रेजी शब्द छ - ‘हिटम्यान’ । भाडाका हत्यारालाई ‘हिटम्यान’ भनिदो रहेछ । तर, चुनावमा होमिएका उमेदवार र तिनका सहयोगी सबैलाई ‘भाडाका हत्यारा’ भन्नु भने अन्यायै हुन्छ । उनीहरूलाई कठपुतली बनाएर नचाउनेहरूले पनि कसैलाई नमारेको हुनसक्छ । एकाध गुन्डा नाइकेलाई फाप्यो भन्दैमा सबै गुन्डा राजनीतिमा आउने र सफल हुने त होइन । राजनीतिमा प्रभावशाली हुने यसैले सामान्य अर्थका ‘हिटम्यान’ होइनन् भन्ने स्पष्ट हुन्छ । को हुन् त तिनीहरू ?  

 

तिनलाई भन्दारहेछन् - ‘इकोनोमिक हिटम्यान’ ।

 

‘हिटम्यान’मा अगाडि ‘इकोनोमिक’ थपेपछि बन्ने ‘इकोनोमिक हिटम्यान’ सजिलोसँग बुझाउने शब्द सायद नेपालीमा प्रचलनमा छैन । कम्तीमा मैलै यी पङ्क्तिहरू लेख्दै गर्दा भेटिन । नेपालीमा प्रयोग हुने गरेकाे सत्ताका दलाल वा बिचौलिया शब्दले ‘इकोनोमिक हिटम्यान’को अर्थ बुझाउँदैनन् । परन्तु, शासन सत्ता भने यिनै इकोनोमिक हिटमेनका इसारामा चलेको भान हुन्छ । राज्यका सबै अङ्गमा यिनै ‘इकोनोमिक हिटम्यान’का कठपुतलीहरूको नाच देखिन्छ ।   

 

नेपालीमा कम प्रचलित भए पनि यो इकोनोमिक हिटम्यान भन्ने शब्द अ‌ंग्रेजीमा भने ‘हिट’ नै रहेछ । यी पङ्क्तिहरू लेख्ने क्रममा गुगल गर्दा .६० सेकेन्डमा २० लाख प्रविष्टि रहेको देखायो । जोन पर्किन्सले त यस विषयमा अनुभवमा आधारित पुस्तक नै लेखेका रहेछन् । 

 

नेपालकाे ढुंगाबालुवामा पनि ‘इकोनोमिक हिटम्यान’को आँखा लागेको त होइन ?

 

चुनावपछि देशको अवस्था बदल्ने वाचा अब दिक्कैलाग्दो गरी सुनिन्छ । चुनाव हुने सबै पदमा उमेदवारी दिन नसक्नेहरूसमेतले स्थिरता र सुशासन दिने फुइँ लगाइरहेका छन् र त्यसलाई पत्याउनेहरू पनि छन् । पाठकहरूलाई यत्ति भन्नु छ - कसैका कुरा पत्याउनुभन्दा पहिले एकपटक गहिरिएर विचार गर्नुस् !

 

पक्कै पनि सबै उमेदवार खराब भने छैनन् । बहुसङ्ख्यक फटाहा छन् । आफैँलाई पत्यार नलाग्ने कुरासमेत धकै नमानी जनतालाई भन्छन् । तै पनि तिनैमध्ये धेरै जनाको मत पाउने फटाहा शासन गर्ने हैसियतमा पुग्छन् ।  लोकतन्त्र जनताको पनि संस्कार नबन्दासम्म हुने यही र यस्तै हो । 

 

दलका घोषणापत्रमा जनतालाई मूर्ख बनाउन कथिएका कथा हुन् । पाँच वर्षका लागि जनादेश माग्ने दलले पचास वर्ष शासन गर्ने कल्पना गरेर घोषणापत्र बनाउँछन् र कदाचित सत्तामा पुगे भने सरकार बनाएको दिनदेखि अर्को चुनाव नहुँदासम्म फर्केर पनि हेर्दैनन् । चुनावी गठबन्धनले दलहरूको सैद्धान्तिक भेद मासिएजस्तै घोषणापत्रको ‘खयाली पुलाउ’ पनि कहिल्यै पाक्दैन । तै पनि हेर्नुपर्छ - ‘इकोनोमिक हिटम्यान’काे प्रभाव दलका घोषणापत्रमा कति देखिएको छ ?

 

जनतामात्र होइन चुनावमा उमेदवारी दिनेहरूमध्ये पनि धेरैमा निर्वाचित प्रतिनिधिले देशको राज चलाउँछन् भन्ने भ्रम छ । कर्मचारीले राजकाज चलाउँछन् भन्ने भ्रममा बाँच्नेको सङ्ख्या पनि ठूलै छ । देशकाे शासन विदेशीले चलाउँछन् भन्ने भ्रममा एकथरीले जीवन गुजारेका छन् । आआफ्नो विश्वासमा बाँच्न पाइन्छ । तर, यथार्थ भने त्यति सरल छैन । देशकाे शासनमा सबैभन्दा बढी प्रभाव त ‘हिटम्यान’हरूको हुन्छ । तिनै ‘हिटम्यान’का कठपुलती अहिले चुनावकाे मैदानमा होमिका छन् । यद्यपि, तीमध्ये धेरैलाई आफू ‘हिटम्यानका कठपुतली’ भएको भने थाहै नहुनसक्छ ।   

 

हिटम्यानहरूको प्रभावमा परेर देशै खोक्रो हुने गरी स्रोतसाधन दोहन गर्नु गराउनु पक्कै राष्ट्रघात हो । यहाँ त डाँडाखोला बेच्न तम्सनेहरू र बुहारी एवं नातिनातिनालाई नागरिकताको प्रमाणपत्र दिँदा राष्ट्रघात हुन्छ भन्नेहरू नै आफूलाई देशभक्त भन्छन् । ती यहीँ जन्मेका वा बिहा गरेर आएपछि स्थायी बसोवास गर्नेहरू नागरिक त त्यसै पनि भइसके । तिनलाई भेदभाव गर्नेहरू वा दोस्रो दर्जाका बनाउन खोज्नेहरू पो राष्ट्रघाती हुन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro