भौगोलिक यथार्थको बेवास्ता गर्दा विकास आयोजनाको अवस्था कस्तो हुन्छ भन्ने अध्ययनका लागि मेलम्ची खानेपानी आयोजना अनुपम उदाहरण बन्न पुगेको छ । सम्भवतः अब केही वर्षसम्मै मेलम्चीको पानी अस्थायीरूपमा मात्र काठमाडौं ल्याइनेछ ।
काठमाडौं उपत्यकावासीलाई हिउँदमा मेलम्चीको पानी खुवाउन बर्सेनि वर्षा याममा बन्द गरेर मूलतः सुरुङ जोगाउनुको विकल्प तत्काल भेटिने लक्षण देखिँदैन । यस वर्ष पनि मेलम्चीको पानी काठमाडौं ल्याउन बाढीले क्षति पुर्याएको सडक र पुल अस्थायीरूपमा निर्माण गर्न सुरु भएको छ ।
यसअघि दुईपटक हिउँदमा काठमाडौंवासीले मेलम्चीको पानी चाखिसकेका छन् । यसबीच मेलम्ची आयोजनामा भएको लगानी, भ्रष्टाचार र समयको त हिसाब हुनै छाडिसक्यो । यसैले मेलम्चीको पानी हिउँदमा भए पनि नियमित आपूर्ति गर्ने प्रबन्ध मिलाउनु उचित देखिन्छ ।
अगिल्लो वर्ष बाढीले ठूलै क्षति पुर्याउँदा पनि संयोगले सुरुङमा बाढीको पानी पस्न नपाएकाले आयोजना लामो समयका लागि बन्द गर्नुपरेन । यस वर्ष त झन् बेलैमा सुरुङ बन्द गरेर सुरक्षाको उपाय आयोजनाले अपनायो ।
फलस्वरूप, हिउँद लाग्नेबित्तिकै पानी आपूर्ति गर्नसक्ने अवस्थामा आयोजना पुग्यो । बाढीले पनि अपेक्षाकृत ठूलो क्षति नगरेको जानकारी आयोजनाका अधिकारीले दिएका छन् । यसैले छिटै नै पानी काठमाडौं आइपुग्ने विश्वास गर्न सकिन्छ ।
अर्थात्, बाढीको समस्या स्थायीरूपमा समाधान नहुँदासम्म सावधानीका उपायलाई प्राथमिकता दिनुको विकल्प रहेनछ । यस्तै, हरेक वर्ष सडक र पुलहरू पनि भत्किने र अस्थायी मर्मत सम्भार गरिरहनु पर्ने चक्र मेलम्ची आयोजनाको नियति बन्न जो पुगेकोछ ।
यसैले अस्थायी मर्मत सम्भारका लागि पनि दीर्घकालीन व्यवस्था आयोजनाले अपनाउनु पर्ने देखिन्छ । कम्तीमा पानी पर्न छाड्नेबित्तिकै मर्मत सम्भारको काम सुरु गर्न प्रशासनिक झमेलाका कारण अलमलिनु नपरोस् ।
यसैगरी मेलम्ची क्षेत्रका स्थानीयसँग गरिएका सम्झौता कार्यान्वयनमा पनि आयोजना इमानदार र पूर्वक्रियाशील हुनु वाञ्छनीय हुन्छ । स्थानीयहरूको अवरोधका कारण व्यर्थमा निर्माण अवधि लम्मिने अवस्था आउन दिनु बुद्धिमानी हुँदैन ।
मेलम्चीको पानी आपूर्तिमा चुनावको प्रभाव पर्न दिनु पनि हुँदैन । यसका लागि आयोजनालाई राजनीतिक विवादमा पर्न नदिन सम्बन्धित अधिकारीहरू बढी नै सावधान हुनुपर्छ । साथै, पानी वितरण प्रणालीको सुधारमा पनि आयोजनाको ध्यान जाओस् !