पोखरा । गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को क्षेत्र मनाङ ‘ख’ मा दुइजनाको मात्रै उमेदवारी परेको छ ।
उक्त क्षेत्रबाट मनाङे र एकजना स्वतन्त्र उमेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । रोचक त के छ भने यो क्षेत्रमा एमाले र गठबन्धन दुवैले मनाङेलाई समर्थन गर्ने भन्दै आफ्ना उमेदवार उठाएका छैनन् । मनाङका सञ्चारकर्मीसँगको कुराकानीअनुसार यो क्षेत्रमा मनाङे र कर्मा दोर्जे लामा गुरुङले स्वतन्त्र उमेदवारी दिएका हुन् । मनाङे आफैँ पनि स्वतन्त्रमा उमेदवारी दिएका छन् ।
उनी यसअघि पनि स्वतन्त्र उमेदवारी दिएर एमालेको समर्थनमा विजयी भएका थिए ।
गठबन्धन र एमालेको तानातानमा परेतापनि मनाङेको झुकावचाहिँ एमालेतिर देखिएको थियो । गण्डकीमा पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्न निर्णायक भूमिकामा रहेका मनाङे अहिले गठबन्धनबाट मन्त्री छन् ।