काठमाडौं । नाटक ‘हरि हजुरबा’ आजबाट मञ्चन हुने भएको छ । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा तयार पारिएको नाटक आजबाट मण्डला नाटक घरमा मञ्चन हुने भएको हो ।
नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको कथा भन्नेछ । चिठी पुर्याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिनेछ ।
नाटकमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन् । साथमा रियुल्साङ, सविना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ ।
अभिनेता हुसेन करिब १० वर्षपछि नाटकमा फर्किएका हुन् । अभिनेता बराल नाटक ‘मितज्यू’ पछि मञ्चमा देखिन लागेका हुन् ।
यो नाटकको निर्मातामा अभिनेताद्धय दयाहाङ राई र बुद्धि तामाङ छन् ।
पुस २८ गते (आइतबार)सम्म सोमबारबाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ ।