दसैँ मनाउनेका तुलनामा दुर्घटनामा पर्ने र शोकमा डुब्नेको सङ्ख्या थोरै भए पनि पीडाको तुलना हुनसक्तैन । यद्यपि, राज्य र यातायात व्यवसायीका साथै यात्रु स्वयंले पनि सावधानीलाई प्राथमिकता दिएको भए दुर्घटनापीडितको सङ्ख्या पक्कै धेरै कम हुनेथियो ।
यसपटक दसैँमा वर्षा पनि अपेक्षाकृत धेरै भयो । देशैभर दसैँमा जस्तो झरी परिरह्यो । झरीका कारण अधिकांश मोटर बाटाहरूमा पहिरो जाँदा आवागमन असुरक्षित र असुविधाजनक भयो । परन्तु, दुर्घटनाको मुख्य कारण बाढी पहिरोलाई मान्न मिल्दैन ।
सडक अवस्थाको नियमित रेखदेख र यातायात क्षमताको नियमन नहुनु, सवारी साधनको भौतिक अवस्थाको नियमित परीक्षण र मर्मत नगरिनु तथा सवारी चालकको असावधानी एवं हेलचेक्य्राइँका कारण सवारी दुर्घटना हुने गरेका छन् । साथै, अधिकांश ग्रामीण सडक सार्वजनिक यातायात सेवाका लागि उपयुक्तसमेत छैनन् ।
दसैँका अवसरमा यात्रुको चाप बढ्ने हुनाले यातायात व्यवसायीले धेरै कमाउने मौका छोप्न खोज्नु स्वाभाविकै हुनसक्छ । तर, यात्रुको ज्यानै जोखिममा पर्ने गरी सवारी साधनले धान्नै नसक्ने सङ्ख्यामा यात्रु चढाउनु भने अपराध नै हो । कानुनका आँखामा अपराधी नमानिए पनि सडक दुर्घटनाका कारकहरू नैतिकरूपमा ज्यानमारा नै हुन् ।
राज्यले भने न सवारी साधनको नियमित भौतिक परीक्षण र मर्मत सम्भार भए नभएको हेर्ने गरेको छ न साधनको क्षमताले धान्नेभन्दा बढी यात्रु चढाइएको नै अनुगमन गर्छ । यसैले अधिकांश दुर्घटना सवारी साधनको क्षमता र भारबीचको असन्तुलनबाट हुने गरेको छ ।
यसैगरी सडकमा नियमित अनुगमन नहुँदा तीव्र गतिका कारण पनि सवारी दुृघटनाबाट बर्सेनी ठूलो सङ्ख्याले ज्यान गुमाउने गरेका छन् । सरकारले तीव्र गतिका कारण हुने सबै दुर्घटना रोक्न त नसक्ला तर उपयुक्त अनुगमन संयन्त्र र प्रक्रिया भएमा यसतो दुर्घटना धेरै कम हुनसक्छ ।
यसैले दसैँ वा अरू अवसरमा हुने अधिकांश सडक दुर्घटना भवितव्य नभई टार्न सकिने घटना हुन् । यस्ता घटनामा कुनै कानुनले सजाय नगरे पनि सम्बन्धित निकायमा जिम्मेवार सरकारी अधिकारी र यातायात व्यवसायीहरू दोषी देखिन्छन् ।
सरकारले सडक दुर्घटनामा हुने क्षतिका अनुपातमा यसको रोकथाम र नियन्त्रणका लागि पर्याप्त जनशक्ति र स्रोत साधन विनियोजन गरिएको देखिँदैन । अनावश्यक प्रशासनिक कर्मचारी कटौती गरेर पनि सडक यातायातको नियमनका लागि स्रोत साधन जुटाउन प्राथमकिता दिइनुपर्छ ।
ठूला दुर्घटना भएका बेला सरकारी पदाधिकारीले देखाउने दुर्घटनाप्रतिको गम्भीरता अर्को दुर्घटना नहुँदासम्म थाती बस्छ । यस चक्रलाई तोड्न गम्भीर नहुने हो भने नेपालको सडक यातायात नर्कको वैकल्पिक बाटो बनिरहनेछ ।