काठमाडौं । असाेज ७ गते नेपालमा चलचित्र ‘प्रेम गीत–३’ रिलिज भयो । त्यही दिन भारतमा यसको हिन्दी डबिङ रिलिज भयो । सोही दिन भारतबाहेकका केही देशमा पनि हिन्दी संस्करण रिलिज भयो । भारतमा यो चलचित्र पहिलो ‘इन्डो नेपाली’ चलचित्र भनेर रिलिज भयो । अन्य जति देशमा यो चलचित्र पुग्यो, इन्डो नेपाली भनेर नै रिलिज भयो ।
नेपालमा भने नेपाली संस्करण रिलिज भएको तीन दिनपछि यसको हिन्दी संस्करण रिलिज भयो । हिन्दी संस्करण नेपालमा हिन्दी भनेर रिलिज हुने कि नेपाली भनेर (नेपालीसरह) यसमा निर्माण पक्ष र चलचित्र विकास बोर्डबीच माथापच्ची नै चल्यो ।
यही विषयलाई लिएर नेपाली चलचित्र उद्योग र चलचित्रका शुभेच्छुकहरू करिब दुई ध्रुवमा बाँडिए भन्दा अत्युक्ति हुँदैन । विवादकै बीच तालुकदार मन्त्रालयले अन्ततः प्रेम गीत–३ को हिन्दी संस्करणलाई हिन्दी भन्न नमिल्ने भन्दै नेपाली नै भएको स्पष्ट पार्यो । बोर्डको अडानमा मन्त्रालयले हस्तक्षेप गरेपछि प्रेम गीत–३’ निर्माण पक्षको जित भयो ।
जसले जे भनून्, जेसुकै तर्क गरून्, प्रेम गीत–३ ले भारतमा नेपाली चलचित्रको ढोका खोलेको सत्य हो । यसअघि कुनै नेपाली चलचित्र भारतमा यसरी रिलिज भएको थिएन, जसरी प्रेम गीत–३ रिलिज भयो । भारतीय वितरकले किनेर, भारतीय प्रोफेसनल डबिङ आर्टिस्ट लिएर त्यहाँका ठूला ब्यानरका ठूला चलचित्रमा काम गरेका दक्ष टेक्निसियनलाई काम गराएको प्रेम गीत–३ ले नै हो ।
पहिलोपटक बलिउडमा नेपाली चलचित्रका ठूलठूला होर्डिङ बोर्ड लागे । नेपाली चलचित्रका कलाकारले भारतका थुप्रै ठूला सहरमा पुगेर चलचित्रको प्रोमोसन स्टेज प्रोगामसहित गरे । भारतीय वितरकले नै प्रोमोसन गर्यो । भारतका थुप्रै थिएटरमा चलचित्रको ट्रेलर बज्यो । नेपाली कलाकारले भारतीय मिडियामा बाक्लै स्थान पाए । अन्तर्वार्ताको मौका पाए । भारतीय चर्चित फिल्म समीक्षकले पहिलोपटक नेपाली फिल्मको समीक्षा गरे । कति कमाइ गर्यो भनेर भारतीय ट्रेड एनलाइसिस्टले बक्सअफिस रिपोर्ट सार्वजनिक गरे ।
लामो संघर्षपछि भारतमा रिलिज भएको प्रेम गीत–३ ले नेपालमा पनि चलचित्र उद्योग छ र चलचित्र बन्छन् भन्ने आमजानकारी बलिउडमा पुर्याइदियो ।
यो खबर बलिउडमा पुग्नु भनेको नेपाली चलचित्रका लागि आगामी दिनमा ढोका खुल्नु पनि हो । गुणस्तरीय अर्थात् भारतीय वितरकले मन पराएको खण्डमा बलिउडमा नेपाली चलचित्र अब लाग्नेछन् । र, ती चलचित्रले प्रेम गीत–३ ले जस्तो पापड बेल्नुपर्ने छैन । तर, त्यसका लागि नेपाली मेकरले केही सर्त मान्नुपर्नेछ । र, त्यो हो हिन्दीमा डबिङ । अर्थात्, नेपाली भाषा भारतीयले नबुझ्ने भएकाले हिन्दीमा डबिङ गर्नुपर्नेछ । र, प्रेम गीत–३ जस्तै इन्डो नेपाली फिल्म लेखिनेछ । नेपाली भाषाको फैलावट हिन्दीजति नहुँदाको असर हो यो ।
भारतीय बजारमा नेपाली चलचित्रको ढोका प्रेम गीत–३ ले खोल्यो, यसमा कसैको दुईमत छैन । अब राम्रा नेपाली चलचित्रले भारतमा बजार पाउन सक्ने सम्भावनाको ढोका उघ्रिएको निःसन्देह सत्य हो ।
तर, प्रेम गीत–३ को भारत रिलिजसँगै यसले केही सन्देश छोडेको कुरालाई नजरअन्दाज गरिनु हुँदैन । यदि, त्यसो गरियो भने फेरि पनि त्यसको घाटा बेहोर्ने नेपाली चलचित्र क्षेत्र र नेपालीले नै हो । नेपाली फिल्म कस्तो हुन्छ भनेर भारतीयले बुझे– राम्रो लोकेसन, ठिकठाक अभिनय गर्ने कलाकार नेपाली सिनेमा उद्योगमा छन् । तर, कस्ता सिनेमा बन्छन् ? बलिउड फर्मुलाकै भन्ने उनीहरूले प्रेम गीत हेरेर थाहा पाए । भीएफएक्सजस्तो लाग्ने हिमालयका दृश्य तर मन छुन नसक्ने लभस्टोरी भनेर भारतीय समीक्षकले नै लेखिसके । यसको के सन्देश भारतीय दर्शक र वितरकमा परेको छ भने नेपाली सिनेमाको आफ्नै ल्याङ्ग्वेज छैन । भारतीय सिनेमाको फर्मुला नै हो । त्यसो भए केका लागि नेपाली सिनेमा हेर्ने ? यो जबरजस्त प्रश्न अब उठ्नेछ । पहिलो सिनेमा भएकाले हिमालयको भीएफएक्सझैँ लाग्ने प्राकृतिक दृश्य र करिब पाँच करोड रुपैयाँमा बनेको सिनेमा भनेर वितरकले पब्लिसिटी गरेको थियो । अब आउने सिनेमालाई के भनेर भारतीय वितरकले दर्शकसामु बेच्ने ? लोभलाग्दो प्रोडक्सन भ्यालु भएका भारतीय सिनेमा समेत एकपछि अर्को फ्लप भइरहेका बेला हाम्रो कमजोर प्रोडक्सन भ्यालु र कमजोर कथा भन्ने सिनेमालाई उनीहरूले किन लिन्छन् ? र, कसरी आफ्ना दर्शकलाई बेच्छन् ? यो प्रश्न अब उठ्नेछ । त्यसैले अब भारतीय बजारमा हामी अहिले बनिरहेका गुणस्तरकै नेपाली सिनेमा लिएर गएर बेच्न सकिँदैन भन्नेमा नेपाली फिल्ममेकर अहिले नै स्पष्ट हुनुपर्नेछ । यसमा नेपाली मेकर गम्भीर हुने हो भने नेपाली चलचित्रको गुणस्तरमा सुधार हुँदै जानेछ । होइन भने ढोका घुरुक्क उघ्रिँदा–उघ्रिँदै बन्द हुनबाट कसैले रोक्न सक्ने छैन । यो त भयो भारतीय बजार र नेपाली मेकरले अबको बाटो ।
प्रेम गीत–३ को हिन्दी डबको नेपाल रिलिजमा ठूलै विवाद भयो । चलचित्रकर्मी पक्ष/विपक्षमा उभिए । केहीले विकास बोर्डको पक्ष लिए भने केहीले प्रेम गीत–३ को निर्माता तथा कलाकार क्रमशः सन्तोष सेन र प्रदीप खड्काको ।
प्रेम गीत–३ को हिन्दी संस्करण नेपालमा रिलिज हुँदा यसको असर भोलिका दिनमा के पर्ला ? प्रेम गीत–३ का निर्माता तथा निर्देशक सेनलाई नै विश्वास गर्ने हो भने यसको नेपाली र हिन्दी दुवै संस्करणको नेपाली बक्सअफिस रिपोर्टमा त्यति धेरै अन्तर छैन ।
विकास बोर्डले हिन्दीमा स्वरांकन भएको भनिएको र भारतीय वितरकले भारतसहित जति देशमा प्रदर्शन गरे, त्यहाँ इन्डो नेपाली सिनेमा भनेर प्रदर्शन गरे । भारतीय वितरकले इन्डो नेपाली सिनेमा भनेको चलचित्रलाई नेपालमा नेपालीसरह सुविधामा रिलिज हुन थाले भने यसको असर भोलिका दिनमा कस्तो पर्ला ? निःसन्देह भन्न सकिन्छ– नेपालमा ठूला भनिएका र केही अपेक्षित चलचित्रले हिन्दी भाषामा पनि आफ्नो चलचित्र स्वरांकन गर्नेछन् । ३०–३५ लाखमा हिन्दीमा स्वरांकन गरेर ल्याउँछन् र नेपालमा प्रदर्शन गराउँछन् । दोब्बर कमाइ हुन्छ भने यसो किन नगर्ने ? जसले जे भने पनि आखिर सिनेमा पनि बिजनेस त हो । फरक यति हो, यो कलाको व्यापार हो । यसमा कलात्मक रूपमा इमोसन बेच्ने हो ।
राम्रो ब्रान्ड बनाइसकेका जस्तै : ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘जात्रा’, ‘पशुपतिप्रसाद’, ‘लुट’का मेकर जसले करिब–करिब चार÷पाँच करोडमा बिजनेस गर्ने निश्चित छ भने ३०–३५ लाख रुपैयाँ खर्च गर्न लोभ गर्लान् र ? कमाइ हुने निश्चित हुँदा पक्कै गर्ने छैनन् । सिनेमा हलले प्रदर्शन गरिहाल्छन् । चलचित्र विकास बोर्डलाई १५ प्रतिशत शुल्क पनि तिर्नु परेन भने यो बाटो हिँड्न बिजनेस गर्नेले अवश्य पनि हिचकिचाहट गर्दैन । राम्रै चलचित्र बने भारतले पनि रिलिज गर्ला । भारतीय वितरकले रिलिज गरे उसको डायस्पोरामा पुगे त्यहाँबाट पनि थोरबहुत रकम आउँछ नै । नेपाली रहेका सहरमा नेपालीले पनि हेर्लान् । यसमा आम नेपाली फिल्ममेकर लोभिए भने के हुन्छ ? जवाफ खोज्न लामो समय कुर्नै पर्दैन । स्रोतका अनुसार करिब आधा दर्जन आफ्ना फिल्म हिन्दीमा स्वरांकन गर्ने तयारीमा मेकर जुटिसकेका छन् । यसर्थ, यसको असर चाँडै देखिने निश्चित प्रायः छ ।
परिणाम अबका दिनमा देखिँदै जानेछ । अधिकांश मेकर हिन्दी स्वरांकनमा लोभिने र दर्शक पनि बलियो डाइलग डेलिभरीमा आकर्षित हुने हो भने भोलिका दिनमा कतै नेपाली चलचित्र नेपाली भाषामै नबन्ने त होइन ? यो प्रश्नलाई पनि नजरअन्दाज गरियो भने त्यो पनि कमजोरी हुनेछ । कारण, अहिले पनि नेपालमा नेपालीभन्दा हिन्दी टेलिभिजन र त्यसका कन्टेन्टमै धेरै दर्शक रहेको कसैबाट छिपेको विषय होइन । यसले नेपाली भाषा, संस्कृति र साहित्यमा कस्तो असर परिरहेको छ ? यो जगजाहेर छ । भारतीय टेलिभिजनले थिलथिलो बनाएको नेपाली कला, संस्कृति र साहित्यमा अब नेपाली चलचित्र नै हिन्दी भाषामा नेपालमै बन्दै र निर्वाध नेपाली हलमा प्रदर्शन हुने हो भने त्यसको गम्भीर असर देखिन धेरै समय कुर्नुपर्ने छैन । हिन्दीमै चलचित्र स्वरांकन र प्रदर्शनको लहर चल्ने हो भने विस्तारै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा जाने सिनेमा मात्र नेपाली भाषामा बन्ने दिन नआउला भन्न सकिन्न । यो गम्भीर अवस्थाको संकेत देखिन थालिसकेको छ ।
अहिले नेपालमा कमर्सियल र फरक धार (रियालिस्टिक) भनेर नेपाली फिल्मलाई दुई धारमा बाँडेर हेरिन्छ । कमर्सियल सिनेमा बलिउड फर्मुलामा बन्छन् भने रियालिस्टिक सिनेमाले यो फर्मुला अवलम्बन गर्दैनन् । यी सिनेमाले केही हदसम्म नेपाली माटोका कथावस्तु उठान गर्दै आएका बताइन्छ । हिन्दीमा स्वरांकन भएका चलचित्र नेपालका हलमा नेपाली चलचित्रकै सुविधासरह चलाउने हो भने भोलिका दिनमा अहिले फरक धार र कमर्सियल भनेर कित्ताकाट भएझैँ फेस्टिभलका लागि नेपाली भाषामा र कमर्सियल चलचित्र हिन्दीमा मात्र नबन्लान् भन्न सकिन्न ।
नेपाली चलचित्र हिन्दीमा स्वरांकन हुनु आफैँ नराम्रो होइन । तर, यसको प्रदर्शन कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो । हिन्दीमा स्वरांकन भएका चलचित्र डिजिटल प्लेटफर्मममार्फत रिलिज गरे के हुन्छ ? नेपाली हलमा स्वदेशी भाषामा बनेका चलचित्र मात्र रिलिज गर्ने तर अन्य विदेशी भाषामा भएका चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज गर्दा न भाषा संस्कृतिको अतिक्रमणको अपजस मेकरलाई लाग्नेछ न त उनीहरूलाई नै घाटा हुनेछ ।
प्रेम गीत–३ को हिन्दी संस्करण डिजिटल प्लेटफर्ममार्फत रिलिज गरेको भए यसको निर्माण पक्षको ठूलो तारिफ हुने थियो । हिन्दी डबिङको लोभलाग्दो तारिफ बटुलेको प्रेम गीत–३ को निर्माण पक्षले यही चलचित्र राखेर डिजिटल प्लेटफर्म खोलेको भए वा भइरहेका कुुनै ओटीटीले किनेर रिलिज गरेको भए दर्शकमाझ आफ्नो प्लेटफर्म चिनाउने यो ठूलो अवसर हुने थियो । त्यो अवसर प्रेम गीत–३ को निर्माण पक्ष र चलिरहेका नेपाली डिजिटिल प्लेटफर्मका सञ्चालक दुवैले गुमाए । हातमै आइपुगेको अवसर गुमाउने र आफू रहेको क्षेत्रलाई थप मजबुत बनाउने सम्भावनाबाट चुक्ने नेपाली फिल्ममेकरको पुरानै रोग हो । त्यो योपटक पनि दोहोरियो ।