वन्दना स्वीटमा म प्रायः बिहान पुग्ने गर्दथे । साथीहरू भेट्ने एउटा उपयुक्त स्थान थियो त्यो । मीनभवनको उकालोसँगै थियो, वन्दना स्वीट । अनन्तप्रसाद वाग्ले, रमेश सागर र म मिलेर एउटा सयुक्त कवितासंग्रह ‘सहृृदयी स्वरहरू’ प्रकाशित गरेका थियौँ, २०५९ सालमा ।
यस कार्यको सुरुवात त्यही वन्दना स्वीटबाट भएको थियो । यसको साक्षीमध्येमा एक थिए, स्रष्टा राजेन्द्र पराजुली ।
राजेन्द्र दाइ प्रत्येक बिहान वन्दना स्वीटमा कफी पिएर घण्टौँ बस्दथे । कहिले साथीहरू हुन्थे, कहिले एक्लै पनि कफीको चुस्कीमा मस्त देखिन्थे । हाम्रो भने निश्चित समय हुन्थ्यो । हामीलाई जहिल्यै हतारै हुन्थ्यो ।
राजेन्द्र दाइको नाम सुनेका, सिर्जनाहरू पढेका तर नजिकबाट संगत नगरेका हामीलाई सुरुमा केही अप्ठ्यारो महसुस भए पनि पछिपछि सहज हुँदै गयो ।
पछि त एक दिन उनी त्यहाँ नआउँदा पनि हामीलाई खल्लो लाग्थ्यो । यद्यपि, यस्तो क्रियाकलाप केही महिनासम्म मात्र चल्यो । त्यही समयले हामीलाई उनीसँग आत्मीय बनाएको हो ।
अहिले राजेन्द्र दाइसँग धेरैचोटि सँगै कफी चियर्स गर्ने अवसर मिलेको छ । कुरा खोतल्दै जाने हो भने दाइसँगको निकटताका धेरै प्रसंगहरू उल्लेख गर्न सकिन्छ । यस्ता केही सन्दर्भलाई मैले यहाँ जोड्न खोजेको मात्रै हुँ ।
उनका सिर्जनाहरू पढेर नै हामीले लेख्न सिकेका हाँै । उनको पछिल्लो संस्मरणकृति ‘कोटेश्वरको केटो’ भने पढ्न केही ढिला भएको निश्चय नै हो ।
समयले फड्को मारिरहन्छ, सधैँ एकैनास कहाँ रहन्छ र । त्यो कोटेश्वरको केटोको कहानी पनि त्यस्तै भएको छ । धान खाने खेतमा घर फलेका छन् । रोपनीका रोपनी खेतबारी आनामा सीमित भएका छन् । यानि, त्यो स्वच्छ हराभरा गाउँ प्रदूषित सहरमा परिणत भएको छ ।
मान्छेलाई जसरी पनि सहरमा घर चाहिएको छ, गाउँघर शून्य बनाएर सहरका आनामा आफ्नो संसार खोजिरहेका मान्छेहरूको कथाव्यथा कोटेश्वरको केटोले कहेको छ ।
काठमाडांै छिरेपछि म कोटेश्वर, बानेश्वरकै आसपासमा रहेँ । अहिले पनि कोटेश्वर आडैको वडा नं. ३२ को बासिन्दा बनेको छु । मैले पनि धेरैपटक वाग्मतीमा लुगा धोएको छु । बानेश्वरबाट खेतको आलीआली हिँडेर कोटेश्वर पुगेको छु ।
हेर्दाहेर्दै धान फल्ने खेतमा घर फलेका छन् । स्वच्छ पानी बग्ने वाग्मतीमा ढल बगेको छ । स्थानीयभन्दा आप्रवासीले सहर ढाकेका छन् । रोपनीरोपनी खेतबारी आनाआनाको घडेरीमा सीमित बन्न पुगेका छन् । कोटेश्वरको केटोमार्फत राजेन्द्र्र दाइले यी र यस्तै विषयवस्तुलाई संस्मरणको स्वरूपमा सत्य उजागर गरेका छन् । काँठको जीवन पानापानामा लेखेका छन् ।
मलाई कहिलेकाहीँ लाग्छ, यस कृतिमा उल्लेख भएझैँ केही वर्षपछि हाम्रो भकुण्डेबेँसीको हालत त्यस्तै हुनेछ । जसरी राजेन्द्र दाइले रोपनीबाट आनामा झरेको यथार्थ अभिव्यक्त गरेका छन्, त्यसरी नै हामी काभ्रेमा रोपनीबाट आनाआनामा सीमित हुनेछौँ ।
सम्भवतः त्यस बेला हामी रोपनीका मालिकले आनामा बसेर संस्मरण लेखौँला, जसरी कोटेश्वरको केटो राजेन्द्र दाइले लेखे !
‘कोटेश्वर’, ‘अनुहारहरू’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरूसँग’ शीर्षकमा पच्चीस उपशीर्षकहरू रहेका छन्, कृतिमा । कोटेश्वर शीर्षकभित्र एक गिलास चिया, म उभिएको ठाउँ, धुवाँ, जिन्दगी र चंगा, चँुडिएको चप्पल, यसैगरी पढ्दैै जा राजने जैसी, चुरोट, नाम फेरिनुको विस्मय र वाग्मती अर्थात् आमा नदी शीर्षकका संस्मरणहरू रहेका छन् ।
अनुहारहरूभित्र पिताजीको तस्बिर, प्याराडक्स जिन्दगी, फिलिली, कवि श्यामलको नृत्य, एक भुलक्कड यारको संस्मरण र नजिब मुहम्मदसँग जम्काभेट शीर्षकका संंस्मरण रहेका छन् ।
त्यस्तै, अनुभूति सुफियानाभित्र देश एउटै, दुनियाँ दुइटा, त्यो पहिलो पुस्तक, ओरालो झर्दा, समुन्द्र नांगै देखिन्छ, सुफियाना साँझ र स्वर्ग जाने बाटो शीर्षकका संस्मरणहरू रहेका छन् ।
र, अक्षरहरूसँगमा संक्रमणकालको डिलमा, कहीँ नटिक्ने मान्छे, मृत समाचार, मेरा भारत महान् र धमिला धम्कीहरू रहेका छन् । कोटेश्वरको केटोमार्फत यी शीर्षक सार्वजनिक भएका छन् । यी संस्मरणमार्फत विगत र वर्तमानका यावत् प्रसंगहरू पुस्तकमा आएका छन् ।
आफ्नो नाम राजनबाट राजेन्द्र बनाउने हेडमास्टरका कर्तुतसँगै आफ्नो बाको भोगाइ तथा बाको माया पाउन नसकेको पीडा पनि संस्मरणमा समावेश छ ।
केही संस्मरण साहित्यिक साथीहरूका बारेमा छन् । मृत समाचार शीर्षकको त्यो घटनाको सम्झना मसँग पनि रहेको छ । कसैको घरमा मृत्युको समाचार बोकेर जानुपर्ने त्यो क्षण म अझै सम्झन्छु । अहिलेजस्तो सामाजिक सञ्जाल त्यस बेला हुँदो हो त मृत्युको समाचार बोकेर जानुपर्ने थिएन । तर, त्यस समयले केही समयका लागि भए पनि मृत्यु समाचारलाई केही पर धकेलेको पक्कै थियो ।
दुर्घटनामा दाजु विनय रावल बित्नुभएको र राजेन्द्र दाइलाई पनि गहिरो चोट लागेको समाचारले हामीलगायत साहित्यजगत् नै स्तब्ध बनेको त्यो समय त्रासदी पढिरहँदा पुरानो घाउ बल्झिन पुग्छ ।
केही लेखक तथा उच्चपदस्थ व्यक्तिहरूका संस्मरणहरू पढिरहँदा आफ्ना बारेमा तथ्यहरू लुकाएर आफूलाई महान् बनाएर लेखिएका धेरै भेटिन्छन् । त्यस्ता संस्मरणले केही सिकाउनेभन्दा पनि उनीहरूका अहंलाई चुल्याउने काम पक्कै गर्छ ।
तिनले आफ्ना दुःखका पाटाहरू अनि भए गरेका गल्तीलाई ओझेलमा पार्दा उनीहरूलाई चिन्नेले त पक्कै राम्रो मान्दैनन् । त्यसकारण हरेक व्यक्तिले लेख्ने संस्मरण यथार्थ नै हुनुपर्छ भन्ने म सोच्दछु ।
कोटेश्वरको केटोमार्फत आएका राजेन्द्र दाइका संस्मरणहरूले त्यही सिकाएको छ, संस्मरण भनेको यस्तो हुनुपर्दछ । संस्मरण झुटको पुलिन्दा हुनु हुँदैन ।
मेरा भारत महान् र धमिला धम्कीहरूमार्फत उनले पत्रिकामा काम गर्दा आएका धम्कीहरूको सामना गरेको उल्लेख गरेका छन् । पत्रकारिता क्षेत्रमा घट्ने यस्ता विषय या प्रसंग तथा विकृतिहरू जस्ताको तस्तै कोटेश्वरको केटोमार्फत आएको छ । चप्पल, चिया, फेरिएको आफ्नो नाम र फेरिएको कोटेश्वर काँठको परिदृश्यलाई कोटेश्वरको केटोले ताजा बनाइदिन्छ ।
‘कहीँ नटिक्ने मान्छे’ मार्फत आफ्ना कमजोरीहरू पनि राजेन्द्र दाइले स्पष्ट प्रस्तुत गरेका छन् । यी संस्मरणहरूले आफ्ना कमजोरीभन्दा पनि वर्तमानका विकृतिहरू बोलेका छन् । यस्ता विकृतिहरूलाई एक्लो पराजुलीले आफ्नो स्वाभिमान बन्धकी राखेर पैसा कमाउनुभन्दा पनि त्यस्ता संस्थामा नबस्ने निर्णयले नै उनलाई कहीँ नटिक्ने मान्छे बनाएको स्पष्ट देखिन्छ ।
विगत र वर्तमानका चित्रमा पराजुलीको जीवनका भोगाइ कोटेश्वरको केटोमा पाठकले पढ्न सक्छन् ।