नयाँ दिल्ली । भारतीय हिमालय क्षेत्रमा मंगलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६ हजार फिट (४,८८० मिटर)को उचाइमा उक्त घटनापछि मृत्यु हुनेको संख्या चार पुगेको सञ्चारमाध्यमले जनाएका छन् ।
“फसेका ३३ जनामध्ये चारजनाको मृत्यु भएको पुष्टि भएको छ । तीमध्ये करिब आठजनालाई उद्धार गरिसकिएको छ र बाँकी एक हिउँले बनेको चिरूवाभित्र फसेका छन्,” राष्ट्रिय विपद् व्यवस्थापन बलका रिधिम अग्रवालले एएफपीसँग भने, “हिउँ परिरहेको थियो, तर अहिले मौसममा सुधार आएको छ र हामीले वायुसेना र अन्य एजेन्सीहरूको सहयोगमा उद्धार अभियान सुरु गरिसकेका छौँ । जबसम्म मौसमले साथ दिन्छ र फसेकाहरू सुरक्षित हुँदैनन्, तबसम्म उद्धार जारी रहनेछ ।”
उक्त समूह स्थानीय पर्वतारोहण संस्थाका प्रशिक्षार्थीहरू थिए ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले उत्तरकाशीस्थित नेहरु पर्वतारोहण संस्थानले गरेको पर्वतारोहण अभियानका क्रममा गएको पहिरोका कारण भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
गएको अगष्टमा हिमाञ्चल प्रदेश राज्यमा हिमनदी तर्ने क्रममा हिउँको चिराभित्र खसेका एक पर्वतारोहीको शव दुई महिनापछि फेलापरेको थियो । रासस/सिन्ह्वा