site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दसैँको टीका
Sarbottam CementSarbottam Cement

भदौरे महिनाको समापन र असोजको शुभारम्भसँगै खेतका गराहरूमा एकातिर लहलह सुनौला धानका बाला झुलिरहेका थिए । अर्कोतिर बारीमा कोदोको बाला पुक्कपुक्क फुलिरहेका थिए । आकाशमा लाग्ने बादल पातलिँदै गएर निलो अम्बर खुलेसँगै धरती हरियालीले सजिएर शोभायमान भएकी थिई ।

सँगै शोभा बढाउँदै बसेका पहाड, कन्दरा, नदीनाला पनि शीतल र सफा जल लिएर सुसाउँदै बग्दो थिए । आकाशमा उडिरहेका गन्तव्यविहीन चंगाहरूले पल्लो गाउँलेहरूलाई दसैँ आएको सन्देश दिइरहेको थियो भने आँगनभरि ढकमक्क फुल्न लागेको सयपत्री र मखमली फूल दसैँलाई स्वागत गर्न पर्खिबसेका थिए ।

यता, लालुपातेका थुँगाहरू हावासँगै बरालिएको देख्दा त झन् दसैँलाई बिदा दिन नपाए हुन्थ्योजस्तो लाग्थ्यो । हरेक वर्ष आउने दसैँले केही न केही नयाँ अनुभूतिसँगै सामीप्य प्रदान गरेकै थियो । हर्ष र उमंगको बहार छाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

परन्तु, योपालि पनि निधार खाली नै होला भनेर कुसुम गहभरि आँखाबाट आँसुुका दानाहरू झार्दै सुँक्कसुँक्क गरिरहेकी थिइन् ।

पहिलो चरणको कोरोना कहरको प्रवेशसँगै लक्ष्मी बजैका कान्छा छोरा आकाश पनि यसबाट अछुतो रहन सकेन । बिरामी भई हस्पिटलमा भर्ना भएदेखि स्टाफ नर्स कुसुमकै निगरानीमा आकाशको उपचार भएको थियो ।

Global Ime bank

बिरामी निको भएसँगै आकाश र कुसुमले पनि एकार्कासँग हृदय साटासाट गरिसकेका थिए । दुवैका परिवारको राजीखुसी र अनुमतिविना दुवै प्रणयसूत्रमा बाँधिएका थिए ।

परिवारको इच्छाविपरीत विवाह भएकै कारण दुवै परिवारबाट आकाश र कुसुम बहिष्कृत थिए । झ्याइँझ्याइँ पञ्चेबाजा बजाएर कुलघरानाकी छोरी बुहारी बनाएर ल्याउने लक्ष्मी बजैको धोको पूरा हुन सकेन । बाबु-बाजे, घर-खानदानको इज्जत गुन्द्रुकको झोलमै फाल्यो भन्दै बजैले आकाश र कुसुमको बिहे अस्वीकार गर्दै घर भित्र्याएकी थिइनन् ।

दुई वर्ष भइसकेको थियो, आफ्ना आमा–बुवाको हातबाट टीका थाप्न नपाएको । सबैको घरमा दसैँले हर्ष र उल्लास ल्याए पनि कुसुममा त्यो खुसी छाएको थिएन । उनी कोठामा बसेर रोइरहेकी थिइन् ।

बाबु–आमा नभएकी र मावलकै संरक्षणमा हुुर्किएकी कुसुम आज झनै टुहुरो भएकी थिइन् । जसको ज्यान बचाउन आफ्नै ज्यानको बाजी लगाएर लकडाउनको सयममा पनि अग्रपंक्तिमा रहेर आकाशको हेरचाहका साथै उपचार गरेकी थिइन्, आज ऊ त्यसै घरबाट पनि बहिष्कृत भएकी थिइन् ।

विचरा, आकाशले गरोस् पनि के ! कुसुमका विलौना सुन्न र सम्झाउनबाहेक उसले केही गर्न सकेको थिएन ।

“पख न पख, एक दिन त्यही घरले तिमीलाई इज्जतका साथ बोलाउनेछ ।” यसरी नै आकाश सान्त्वना दिन्थ्यो ।

महाअष्टमीको दिन थियो । रातको ९ बज्न लागेको थियो । आकाश र कुसुम खाना खाएर सुत्न लागेका थिए । आकाशको मोबाइलमा घण्टी बज्यो । आकाशले ‘यति राति कसको फोन होला !’ भन्दै हेर्‍यो ।

दुई वर्षयता फोन नगरेका बुवाको फोन रहेछ । दुवै छक्क परे । खुसी पनि भए । पक्कै दसैँको टीका थाप्नलाई बाले बोलाउने आशा पलायो । उसले फोन उठायो ।

“बुवा दर्शन,” आकाशले सम्बोधन गर्‍यो ।

“आकाश, तेरी आमा साह्रै बिरामी छे । आज आठ दिन भइसक्यो थला परेको । तेरा दाजु, भाउजू र बहिनी सबै आइसके । तलार्इं तेरी आमाले आकाश... आकाश... भन्दै खोजीरा’छे । सके चाँडै आइज,” बाबुले भने ।

“के भएको हो, बुवा ?,” आकाशले सोध्यो ।

“घटस्थापनाको दिन बेलुुकी ५ बजेदेखि पेट दुख्न थालेको थियो । पछि टाउको दुख्न थाल्यो । बेलाबलामा बान्ता हुने, ज्वरो पनि आउने गरेकोले गाउँकै स्वास्थ्यचौकीमा लगेर देखाएँ । सबै ठिकै छ भन्थ्यो । औषधि त्यहीँबाट चलेको थियो । तर, अहिले अचानक झन् साह्रै भएकी छे । छटपट गर्ने र कराउनेबाहेक केही छैन,” आकाशका बाले बेलीविस्तार लगाए ।

आकाश छटपटियो । भन्यो, “हुन्छ, म बिहानै आइपुग्छु ।”

कुसुमले बाबु–छोराबीच भएका सबै कुराकानी सुनिरहेकी थिइन् । तर, केही बोल्न सकिरहेकी थिइनन् ।

महानवमीका दिन घर जान पाएकामा दुवैजना खुसी त थिए, तर मन नजितेर यस्तो अवस्थामा जाँदा भने खल्लो लागेको थियो, दुवैलाई । डाँडापाखा, उकाली–ओराली, केही समथर त केही हिल्लामे बाटो हुँदै बिहानै गाडी लिएर हिँडेका उनीहरू पाँच घण्टामा गाउँ पुगे ।

घरैअगाडि गाडी रोकियो । घरआँगन र त्यहाँ फुलेका सयपत्रीलगायत अरू रंगीचंगी फूलहरू र घरपछाडि नै चाँदीचाँदीझैँ टल्किएको हिमालको मनमोहक दृश्यले तिनको मन रमायो ।

तर, आमा, बुवा, दाजु, भाउजू र बहिनीलाई देखेपछि आकाशलाई भक्कानिएर रुन मन लाग्यो । तर, जतिसुकै पीडा भए पनि सहेर बस्यो । घरपालुवा कुकुर टाइगर दौड्दै आयो र आकाशवरिपरि पुच्छर हल्लाउँदै सुँघ्दै चाट्न थाल्यो । धेरै दिन भए पनि त्यसले आकाशको आगमनलाई स्वागत गरेको थियो । टाइगरलाई सुमसुम्यायो ।

आकाश र कुसुमको घरमा प्रवेशसँगै एकखाले खुसीयाली छायो । तर, आमाको बिरामले कसैलाई दसैँ आएजस्तो लागिरहेको थिएन । खाटको वरपर सारा परिवार उभ्भिएका थिए । कोही आमाको गोडा मोल्दै थिए भने कसैले टाउको थिचिरहेका थिए । आमाको मुखबाट कनिरहेको आवाज मात्रै आइरहेको थियो । सबै अब के गर्ने कसो गर्ने भन्ने विषयमा सल्लाह गर्दै थिए ।

आकाश र कुसुमले आमाको गोडा समाए र ढोग गरे । ‘आमा... आमा’ भन्दै आकाशले आमाको हात समायो । आमाले आँखाबाट थोरै हर्षको आँसु झारिन् । बोल्न खोजिन्, तर सकिनन् ।

जे भए पनि आखिर छोरो न हो । त्यहीँ उभ्भिएकी कुसुमको हात समाइन्, आमाले । यसरी दुई वर्षपछि कुसुमका आँखामा हर्षका आँसु ओइरिए । यतिखेर भक्कानिएर रुन मात्रै सकेकी थिइनन् ।

“आमा, तपाईंलाई केही हुँदैन । तपाईं चाँडै निको भइहाल्नुहुन्छ नि,” कुसुमले आमाको हात समाउँदै भनिन् । उनले आमाको नाडी छामिन् । आफूले बोकेको साइड ब्यागबाट थर्मोमिटर निकालेर ज्वरो नापिन् । छातीको जाँच गरिन् । आँखा खोलेर हेरिन् ।

दुवैले नुहाइधुवाइ गरेर फ्रेस भए । खाना खाए । त्यसबीचमै कुसुमले सासूआमाको दिसा, पिसाब जम्मा गरिन् । सिरिन्जले रगत निकालेर आफूसँग ल्याएको भाँडोमा हालिन् । र, केही बेरपछि आकाश र कुसुम सदरमुकामतिर लागे, आफूले ल्याएको गाडीमै ।

दिसा, पिसाब, रगतको जाँच भयो । दुई घण्टामा सबै रिपोर्ट आयो । रिपोर्ट हेरेर आवश्यक औषधि र स्लाइन पानी लिएर दुवै फेरि घर फर्किए ।

कुसुमले आमालाई स्लाइन पानी चढाइन् । औषधि खान दिइन् । अनि, सान्त्वनाको स्वरमा भनिन्, “एक हप्तासम्म औषधि खानुपर्छ आमा, ठिक भइहाल्नुहुन्छ । तपाईंलाई केही भएको छैन । त्यस्तो डराइहाल्नुपर्ने छैन ।”

रातको ११ बज्यो । कुसुमले आमालाई दिइएको स्लाइन पानीको निडल शरीरबाट निकालिन् । र, एउटा औषधि खान दिइन् ।    

आमा बिरामी भएकोले बुवाले छोरी गीतालाई नै घर हेर्न र पूजापाठ गर्न बोलाएका थिए । आफ्नै घरअगाडि उत्तरपूर्व दिशामा बनाएको सानो पूजाघरमा घटस्थापनाको भोलिपल्टदेखि पूजा–आराधना गर्ने काम गीताले नै गरेकी थिइन् ।

दसैँको दिन बिहान सखारै गाईहरूका घाँटीमा बाँधिएका ससाना घण्टी चारो खाँदा सँगै बजिरहेको थियो । घण्टीको आवाज सबै ओछ्यानमै सुनिरहेका थिए । परिवारका सबै उठ्ने तरखर गरिरहेका थिए, तर आमाको उपचारका लागि अबेलासम्म जागा भएकोले उठ्ने आँट गर्न सकिरहेका थिएनन् ।

अरू दिनजस्तै दशमीको दिन पनि एकाबिहानै पूजाघरको द्वार खोलिएको आवाज आयो । सँगै घरलगायत पूजाघरको लिपपोत गरियो । पूजाकोठाबाट घण्टी बजेको आवाज आउन थाल्यो । देवीलाई धूप, बाती, कपुरलगायतले आरती गरिरहँदा चारैतिर मगमग बास्ना आउन थाल्यो ।

टीकाको दिन भएकाले सबैमा उत्साहसँगै छटपटी पनि थियो । आमाको बिमारले यो छटपटी ल्याएको थियो । बल्लबल्ल आमा र बुवाको हातबाट टीका लगाउन पाउँछु भन्ने आशा बोकेकी कुसुम भने निराश देखिन्थिई । कसैको मुखमा हाँसो थिएन । थियो त केवल आमाप्रतिको चिन्ता र स्वास्थ्यलाभको कामना ।

एक्कासि गीता दौडिँदै आइन् । उनले बुवा, दाजु–भाउजूको ढोका ढकढक गर्दै कराइन्, “बुवा, दाजु, भाउजू ! छिटो उठ्नुस् ।”

सबै अत्तालिएर बाहिर निस्किए । “के भयो, के भयो ?,” बुवाले गीतालाई सोधे ।

गीताले आमाको कोठातिर औँलाले इसारा गर्दै भनिन्, “आमा...आमा...!”

कसैले केही बुुझ्न सकेनन् । सबै दौडिँदै आमाको कोठामा पुगे । तर, आमा कोठामा थिइनन् । ओछ्यान खाली थियो । आमालाई नदेखेर हल्लाखल्ला भयो, खोइ आमा ? भन्दै ।

थला परेकी बिरामी आमालाई खोज्दै सबै पूजाघरमा पुगे । आमा पूजाघरमै थिइन् । रातो सारी लगाएर नवदुर्गाको आराधनामा लिप्त लक्ष्मी बजै कुनै देवीसमान देखिएकी थिइन् ।

बितेको नौ दिनदेखि थला परेकी आमाको यो स्वरूप देखेर सबै आश्चर्यचकित थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement