एक दशकअगाडि रामचन्द्र आचार्यसँग मेरो भेट भएको हो । म दैलेख जिल्लाको, उहाँ गोरखाको । बन्धु भएकाले हामीमा अपनत्व अस्वाभाविक थिएन । उमेरले हजुरबुबासमान । यो वृद्ध उमेरमा पनि उहाँ निकै सक्रिय र मिहिनेती हुनुहुन्छ ।
लामो समय शिक्षण पेसामा बिताउनुभयो । जीवनको उर्वर समय असल विद्यार्थी बनाउनमा खर्चिनुभयो । थुप्रै विद्यार्थीलाई पढाउने, परीक्षा लिने र नतिजा निकाल्ने काम गर्नुभयो । उहाँ शैक्षिक क्षेत्रको धरोहर नै हो ।
उहाँ कुशल साहित्यकारका रूपमा पनि चिनिनुहुन्छ । शिक्षण पेसामा रहेको समयदेखि नै साहित्यमा क्रियाशील हुनुहुन्थ्यो । तथापि, पेसाप्रतिको उत्तरदायित्वले उक्त पक्ष बढी उजागर हुन सकेको थिएन । अवकाशपछि भने साहित्यिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । कलम निरन्तर चलिरहेको छ । साहित्यले पनि कृति पाइरहेको छ ।
दशकअगाडि उहाँको ‘भावना’ निबन्धसंग्रह प्रकाशित भएको थियो । त्यसपछि उहाँको कलम झन् तिखो भएर चलिरह्यो । आफ्ना पूर्वस्मृतिलाई समेटेर आत्मकथा लेख्नुभयो, ‘पूर्वस्मृति’ ।
कृतिकार आचार्य बहुआयामिक व्यक्ति हुनुहुन्छ । यसको प्रमाण प्रस्तुत पुस्तक हो । पुस्तकमा उहाँले इतिहास, धर्म, कला, साहित्य, संस्कृति र शिक्षणको चित्र कोर्नुभएको छ । आफ्नो सिंगो जीवनको पनि चित्र कोर्न सक्नुभएको छ । यो उहाँको वास्तविक कार्यको दस्तावेज हो, जसले उहाँलाई कालान्तरसम्म अमर बनाउनेछ ।
आफ्नो विगतको संघर्ष बताएर संघर्षबाट नभागी जीवन सार्थक बनाउने नयाँ पुस्तालाई उहाँले अथाह प्रेरणा दिनुभएको छ । इतिहास जान्न चाहनेका लागि पुस्तक निकै महत्त्वपूर्ण छ ।
यो कृति आचार्य परिवारको इतिहास हो । गोरखा जिल्लाको इतिहास हो । यसभन्दा बढी नेपाल देशको इतिहास हो भन्ने मैले बुझेको छु । मानव जीवन सुखदुःख, त्याग, तपस्या र संघर्षको संगम हो । यो बुझेर उहाँले जीवन सरल, सहज र रमाइलोसँग व्यतीत गर्नुभएको छ ।
राणा, राजा, प्रजातन्त्र, पञ्चायत, बहुदल र गणतन्त्र सबै भोगेको तर जनताले जहिले पनि दुःख पाएको तितो अनुभूति यस पुस्तकमा अभिव्यक्त छ । पुस्तकमा पाका लेखकका परिपक्व विचार पस्किएको छ । विचार पनि कसैको समर्थन र विरोध नगरी तटस्थ रूपमा स्थापित छ ।
(दैलेख)