site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मूल्यहीन अनमोल !
Sarbottam CementSarbottam Cement

ऊ मभन्दा बाह्र वर्ष कान्छी । र, भर्खर एसएलसी दिएकी थिई । उमेरमा सानी भए पनि मैले उसलाई बानीबेहोरामा असल र धेरै कुरामा अब्बल देखेको थिएँ । हुन पनि उसलाई कुनै सम्पत्तिले विस्थापन गर्न सक्दैनथ्यो ।

बुबा धनी परिवारकी छोरीसँग मेरो बिहे गराएर टन्न सम्पत्ति भित्र्याउन चाहनुहुन्थ्यो । मेरो मन भने ऊसँग ठोक्किसकेको थियो । घरमा विवाहको कुरा चलेपछि उसलाई मसँग विवाह गर्न भनेँ ।

‘तपाईंको परिवारले मलाई मन पराउँदैन । मेरा कारणले जीवनभर दुःख पाउनुहुन्छ । त्यसकारण बिहे नगरौँ,’ उसले भनी ।

Prabhu Bank
Agni Group
NIC Asia

‘तिमी यति क्षमतावान् छौ, विस्तारै सबै ठिक हुन्छ,’ मैले भनेँ । त्यति भन्दा त केही सीप लागेन !

‘म एक महिनाको तलब खर्च गरेर तिमीलाई भेट्न आउँछु, कुन कुनामा दाउराको भारीसँग उकालीओराली गर्दै गरेको भेट्छु र त्यस बेला बैँसले मात्तिइहाल्यौ, अहिले त खुब सुख पाएकी रहिछौ भन्छु, अनि थाहा पाउँछ्यौ’ भनेर धम्की पनि दिएँ ।

Global Ime bank

यति धम्की दिनलाई म सक्षम थिएँ, किनभने लोकसेवा पास गरेर स्थायी खरिदार भइसकेको थिएँ ।

‘ठिक छ, भाग्यमा लेखिएको भोग्छु । पारिवारिक अवहेलनाभन्दा त त्यही सन्तोषजनक हुन्छ,’ उसले भनी ।

फेरि मैले अर्को उपाय लगाएँ । रानीपोखरीतिर घुमाउन लगेँ र भनेँ, ‘मसँग बिहे गर्दिनौ भने यहीँ हामफालेर मर्छु ।’

त्यसताका रानीपोखरी खुला थियो । बल्ल ऊ डराई र भनी, ‘यसरी ज्यान नफाल्नुस् । हजुरकै लागि पो भनेकी थिएँ । हुन्छ, बरु बिहे गरौँला ।’

यसरी उसलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेँ । दुई परिवारको स्वीकृतिबिना नै उनलाई गुह्येश्वरी मन्दिर लगेर बिहे गरेँ ।

समय बित्दै गयो । उसले घरमा बुहार्तन व्यहोर्नुपर्‍यो । घरपरिवारले नोकरभन्दा तल्लो दर्जाको व्यवहार गरे । भोकैतिर्खै दुई सन्तान पनि उसैले हुर्काई ।

मैले भने नि, ऊ क्षमतावान् थिई भनेर । त्यस्तो अवस्थामा पनि उसले दुईपटक शिक्षकमा नाम निकाल्न सफल भएकी थिई । परिवारको साथ नपाउँदा जागिर खान सकिन मात्र होइन, घरमा बस्न पनि सकिन ।

हामीले सम्बन्ध जोड्दा आइपर्ने कष्ट जो उसले भनेकी थिई, ती सबै प्रत्यक्ष देखिँदै थिए । उसको त्यो दूरदृष्टि देखेर म चित खाएँ । पारिवारिक घृणाको घाउमा मैले साथको मल्हम लगाउन भने सकिनँ ।

किनभने, म व्यसनी भइसकेको थिएँ । ममा अल्लारे केटाहरूसँग संगत गर्ने, खानेपिउने मात्र होइन, व्यभिचार गर्ने लत समेत बसिसकेको थियो ।

घरमा टिक्न नसकेपछि अन्ततः ऊ ससाना दुई सन्तान च्यापेर काठमाडौं आई । एउटाको जागिरले सहरमा टिक्न गाह्रो थियो । यसैबीच उसले रातदिन मिहिनेत गरेर चारतिर जागिरमा नाम निकाली र अन्यत्र छोडेर कृषि विकास बैंकको म्यानेजर भई ।

मलाई भने अब ढुक्क लाग्न थाल्यो । विस्तारै घरव्यवहार उसको काँधमा नै बोकाउन थालेँ । आफू भने आफ्नै मर्जीमा, आफ्नै मस्तीमा, आफ्नै कमाइमा रमाउन थालेँ ।

‘तपाईंले मान्छेलाई रमिता देखाउनुभयो । कस्तो बनाउँला भनेर आफूखुसी सुरु गरेको दाम्पत्य जीवन, यस्तो नीरस र पीडित बनाउनुभयो । मेरो कुन गल्तीको सजाय दिइरहनुभएको छ, भन्नुस् त !,’ बेलाबेला उसले सोध्ने गर्थी ।

‘मेरो निजी जिन्दगीमा दखल न दे, तेरो बाउको केही खाइदिएको छैन’ भन्दै म ठूलो स्वर गरेर आफ्नो वास्तविकता छोप्न खोज्थेँ ।

हाम्रो दैनिक झगडा भइरहन्थ्यो । यस्तो हुँदा पनि यौन व्यवसायीसँग पक्राउ परेका बेला ऊ आएर मलाई छुटाउँथी । क्यासिनोमा पक्राउ पर्दा पनि धरौटी राखेर छुटाउँथी । रक्सीले मातेर नालीमा लड्दा समेत उठाउन आइपुग्थी ।

खाइ नखाइ, नसुतीनसुती दुःख र मिहिनेत गरी उसले । ऋणधन गरेर घर किनी । दुई छोरालाई इन्जिनियर बनाई र क्यानडा पठाई । उनीहरूको भविष्य सुन्दर बनाई ।

मलाई कहिलेकाहीँ ‘मैले ठिक गरिनँ’ भन्ने त लाग्थ्यो, तर जब व्यसनको याद आउँथ्यो, आफूलाई रोक्नै सक्दिनथेँ । ऊ देश–विदेश घुम्न जाऔँ भन्थी । अरू साथीभाइको देख्दा रहर लाग्दो हो, सायद । म भने उसको सहयात्री त परै जाओस्, थपनासम्म पनि बन्न सक्दिनथेँ ।

मलाई मेरो जुवाको खाल र यौन व्यवसायीको अखडा छोड्नै मन लाग्दैनथ्यो । म आफैँमा बिन्दास थिएँ । छोराहरू विदेश गएपछि त कसैसँग डराउनुपर्छ भन्ने पनि लागेन !

कहिलेकाहीँ खुस पर्दा म खाना पकाउँथेँ । ऊ भन्थी, ‘कामदार त म अरूलाई पनि बनाउन सक्छु, तर लोग्नेको स्थानमा अरूलाई राख्न सक्दिनँ । तसर्थ, मेरो लोग्ने बनिदिनुस् प्लिज । आमनारीको जस्तै लोग्ने ।’

ऊ पाउ पर्थी । तर, म झन् कठोर बन्थेँ र भन्थेँ, ‘मलाई मान गरिनस्, तँलाई मभन्दा अग्ली हुनुपरेको हैन !’ यसरी नै म ऊसँग निहुँ खोज्थेँ ।

सुन्दरी त थिई नै, ऊ राम्रो गायिका पनि थिई । उसका थुप्रै फ्यान थिए । यसअर्थमा ऊ पैसा, पद, प्रतिष्ठा सबै कुराले सम्पन्न थिई । मलाई भने ती सबै कुराको मनमा ईष्र्या लाग्थ्यो । साँच्चै भन्ने हो भने वैदिक सनातन धर्ममा हुर्किएको लोग्नेमान्छेले स्वास्नी आफूभन्दा माथि पुगेको सहन सक्दो रहेनछ । मजस्तो गैरजिम्मेवार कुलतीलाई अरू निहुँ के चाहियो र ! उसको ‘नेम’ र ‘फेम’ नै काफी थियो ।

घरमा बिताउने हाम्रो समय केवल रडाकोमा सीमित थियो । दुवै माथिल्ला पदका जागिरे, इज्जतदार अफिस, सानदार घर, गाडी, छोराहरू विदेशमा, बाहिर हेर्दा हाम्रो घरसंसार टिलिक्क टल्किएको स्वर्णदरबारजस्तो लोभलाग्दो  थियो ।

तर, हाम्रो सम्बन्ध भित्रभित्रै खोक्रो, धरापमा परिसकेको र थोरै मात्र चुँडिन बाँकी थियो । यदाकदा एउटै बिछ्यौनामा भए पनि एउटै ओढ्नेमा अँट्दैनथ्यौँ ।

विस्तारै एउटै बिछ्यौनामा नअटेपछि मात्र एउटै ओतमुनि रवाना भएका थियौँ । एउटै ओतमुनि भए पनि कहिले अपरिचितजस्तै हुन्थ्यौँ । कहिले बोलचाल हुँदैनथ्यो त कहिले शत्रुजस्तो रडाको मच्चाउँथ्यौँ ।

यसैगरी धेरै वर्ष बिते । मैले ऊसँग गरेका बाचाकसम सबै रक्सीसँगै पिइसकेको थिएँ । अथवा, खराब संगतमा समर्पण गरिसकेको थिएँ । मैले उसलाई सन्चोबिसन्चो पनि कहिल्यै सोधिनँ । तर, फोनमा अरूसँग कुरा गरेको सुन्दा ऊ मधुमेह, उच्च रक्तचाप, थाइरोइडजस्ता धेरै रोगको सिकार भइसकेकी थिई भन्नेचाहिँ थाहा पाएको थिएँ ।

तथापि, थाहा पाएर पनि नपाएजस्तो गर्थेँ । बरु, अस्पताल लगेर, खर्च गरेर अरूकै स्वास्नीको उपचार गरिदिन्थेँ । केटीहरू मात्र हैन, अरूका स्वास्नीको पनि मलाई खुब माया लाग्थ्यो । उनीहरूलाई आफू रित्तिएरै माया गर्थेँ ।

म आफ्नी स्वास्नीलाई भने सिधा हेर्न पनि सक्दिनथेँ । ऊ बोलेको सुन्दा पनि रिस उठ्थ्यो । उसका हरेक क्रियाकलापको निन्दा मात्र गरिरहन्थेँ ।

‘यतिका पच्चिस वर्षसम्म मसँग बस्न सक्नु भएन, हिँड्न सक्नु भएन । अब एक महिना मलाई साथ दिनुस् है,’ एक दिन उसले भावुक अनुहार पार्दै भनी ।

‘के गर्नुपर्‍यो मैले ?,’ सिंहजस्तो गर्जिँदै सोधेँ ।

‘देश–विदेशमा गरेर एक महिनाको समय मसँग बिताउनुपर्‍यो । खर्च म आफैँ गर्छु ।’

‘तँलाई मान्छेका छेउमा लोग्ने देखाउनुपर्‍यो होइन ?’

‘होइन । सामाजिक सञ्जालमा केही पनि राख्दिनँ । कसैले थाहा पाउने छैनन् ।’

‘त्यति गरेपछि सजिलो गरी मर्छेस हो ? ल गरिदिउँला !,’ हान्ने गोरुका जस्ता आँखाले हेर्दै मैले भनेँ । ऊ केही बोलिन र पासपोर्ट, भिजा,  टिकेटजस्ता प्रक्रियामा लागी ।

हामी थाइल्यान्ड, सिंगापुर घुम्न गयौँ । उसलाई थुप्रै विदेशीले समेत मन पराउने र सँगै फोटो खिच्ने गर्थे । उसका पछिपछि लागिरहँदा म आफूलाई जोईटिंग्रे भएको अनुभव गर्न थालेँ ।

करबलमै सही, त्यसपछि हामीले दुबई घुम्यौँ । मैले आज्ञाकारी बालकझैँ उसले भनेभनेजस्तो गरिरहेँ । सुन्दर समुद्री दृश्य, रमाइलो वातावरण, मिठा परिकारहरू देख्दा मलाई अर्कै लोकमा पुगेजस्तो लाग्यो ।

हुन पनि एउटा भ्यागुतोले कुवाबाट निस्केर समुद्र देखेको थियो । सुन्दर संसारको समुद्र । पच्चिस दिनको यात्रा र घुमघाम एकसाथ बिताए पनि हामी छुट्टाछुट्टै बिछ्यौनामा नै सुत्ने गर्थ्यौँ । र, दूरीमै बसेका थियौँ । खराब संगत र नसा छोडिँदै गएपछि म आफू आफू नै होइन कि जस्तो अनुभव हुन थाल्यो । शरीर चंगा र मन आह्लादित भएको अनुभव गर्न थालेँ ।

हेर्दाहेर्दै मलाई ऊ मन पर्न थाली । उसले मसँग जोडिएपछि भोग्नुपरेका पीडा र संघर्ष सिनेमाको दृश्य फेरिएझैँ मेरो मानसपटलमा घुम्न थाले । उसको परिवारप्रतिको त्याग र समर्पण हेर्दा आफैँले आफूलाई नैतिक पतनयुक्त, गैरजिम्मेवार लोग्नेका रूपमा पाएँ ।

अब मलाई उसको धेरै माया लाग्न थाल्यो । तर, मैले उसको छेउमा जाने र माया देखाउने नैतिकता गुमाइसकेको थिएँ । उसले मेरै आइफोनले विभिन्न पोजमा हामी दुईका फोटा खिच्न लगाई । यसो ती फोटोहरू सार्दै हेर्दा पनि मलाई आनन्द लाग्न थाल्यो । हाम्रो जोडी एकदमै राम्रो देखियो या मलाई यस्तो लाग्न थाल्यो ।

काठमाडौं, चन्द्रगिरि जाँदा बेलुकीको ६ बजिसकेको थियो । केबलकारमा चढ्दा जूनभन्दा माथि थियौँ हामी । यो दृश्यले म निकै रोमाञ्चित भएँ । एकरात त्यहीँको होटेलमा बसियो । त्यहाँ पनि अन्यत्रजस्तै रमाइलो भयो ।

भोलिपल्ट दक्षिणकाली गइयो । दक्षिणकालीलाई छब्बिस वर्षअगाडि साक्षी राखेर ‘तिम्रो आँखामा कहिल्यै आँसु आउन दिने छैन’ भनेर बाचा गरेको थिएँ । आज ठिक त्यही महिना र गते रहेछ । लौ, केही राम्रो हुनलाई होला ! छब्बिस वर्षपछि उही दिनमा मन्दिर आइएछ भनेर खुसी पनि भएँ ।

उसले मन्दिरमा पूजा गरी । म छेउमा उभिएँ र सोचमग्न भएँ— अब आइन्दा तिमीले मलाई गरेभन्दा बढी माया गर्छु तिमीलाई ।

आजबाट म छब्बिस वर्षअगाडि तिमीले पाएको ‘म’ बन्छु भनेर दक्षिणकालीसँग मनमनै प्रण गरेँ ।

पूजाआजापछि सामान्य खाजा खाएर हामी फर्कियौँ । फर्किने क्रममा घरभन्दा केही वरै चोकमा जाँदै थियौँ । म पठाओको अगाडिको सिटमा थिएँ । ड्राइभरले ‘के भयो म्याडम ?’ भन्दै पछाडि हेर्‍यो । मैले पनि हेरेँ । ऊ छटपटछटपट गरिरहेकी थिई ।

‘के भयो हँ ?,’ मैले सोधेँ । ऊ केही बोल्न सकिनँ । मतिर फर्केर मलिन अनुहारमा रसिला आँखाले हेरी मात्र रही । एकैछिनमा मतिर हात लम्काई । सात वर्षपछि मैले उसको दाहिने हात समाएँ ।

उसले परपरसम्म आँखा हेरी । धेरै बल परेजस्तो गरी उसका आँखामा आँसु आए । अनि, मुन्टो फरक्क बटारी । गोडा तनक्क तन्काई र जिउ छोडी ।

म नसाबाट उत्रेर छ्याङ्ङ भएँ । आफूले जाँडरक्सी, तास, जुवा र रन्डीबाजीमा गरेका खर्च र उसलाई आजीवन दिएका पीडा सम्झिन थालेँ । अनि, उसले मजस्तो पतितलाई पति मानेर निभाएको भूमिका र योगदान तौलिन थालेँ ।

उसले परिवारका लागि गरेका त्याग, तपस्या पनि सम्झिन थालेँ । उसको प्रेम, त्याग र योगदानले नराम्ररी हिर्कायो मलाई । आफूलाई सम्हालेँ र सोचेँ– राम्रोसँग दाहसंस्कार गरिदिन्छु ।

तर, हत्तपत्त मानव अंग प्रत्यारोपण केन्द्रका कर्मचारीहरू गाडी लिएर आए । ‘मृत्युको सूचना पाएर हामी वहाँको लास लिन आएका । ल, यहाँ सही गरिदिनुस् त, वहाँले शरीरदान गर्नुभएको छ’ भन्दै एउटा कागज मेराअघि तेर्स्याए ।

किंकर्तव्यविमूढ भएर मैले सही गरिदिएँ । उनीहरूले मेरो मन परेकी प्रेमिका, ममतामयी पत्नी र एक संघर्षकी प्रतिमूर्तिलाई शववाहनभित्र राखे र गुडाए ।

मजस्तो पापीको भागमा त्यस्तो असल मान्छेको दाहसंस्कार गर्न लेखिएकै थिएन सायद । म झन् पश्चात्तापको भुङ्ग्रोमा पोलिएँ । जिउ थाम्न नसकेर डङरङ्ङ धुलोमा ढलेँ ।

त्यसपछि के भयो, मैले केही थाहा पाइनँ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement