site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सफलताका सूत्र/गाईजात्रा/सधैंसधैं
Sarbottam CementSarbottam Cement

सफलताका सूत्र
(निबन्धसंग्रह : डा. नम्रता पाण्डे/डा. प्रद्युम्नराज पाण्डे)

डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा लिखित उत्प्रेरक सन्देश प्रवाह गर्ने निबन्धसंग्रह बजारमा आएको छ । सकारात्मक सोच नै हरेकको जीवनका लागि अर्थपूर्ण सम्पत्ति हो । त्यही सोचले मानिसलाई कुनै न कुनै काम गर्न, निरन्तर क्रियाशील रहन उप्रेरित गरिरहन्छ । यस्तै उत्प्रेरक निबन्धहरूको सँगालो लेखकद्वय डा. नम्रता र डा. प्रद्युम्नले ल्याएका हुन्, ‘सफलताका सूत्र’ ।

कृतिको भूमिकामा प्रा. डा. भागवत ढकालले लेखेका छन्, “आजको मान्छेमा सुख–सुविधाका साधन छन्, सुख छैन । किताबका ठेली छन्, ज्ञान छैन । भोजनका परिकार छन्, भोक छैन । आलिशान भवन छन्, घरको आत्मीयता छैन । यस्ता लामा उदाहरण पेस गर्न सकिन्छ, तर पनि मान्छे छिट्टै सम्पन्न बन्न, छिट्टै विद्वान् कहलाउन, छिट्ट सुख–सुविधा आर्जन गर्न दौडिरहेको छ । लम्किरहेको छ । थोरै र नगण्य श्रमबाट ऊ विशिष्ट सफलता र सुखसयल पाउन उद्यत छ । यस दौडाइमा उसले कतिखेर आफन्त, इष्टमित्र, आफ्नो सुख–सुविधा र यावत् कुरा गुमाइसकेको हुन्छ र एक्लो निरीह बनेर मृत्युको प्रतीक्षा गरिरहेको हुन्छ ।...।”

Prabhu Bank
Agni Group
NIC Asia

साहित्यकार रामप्रसाद पन्त आफ्नो मन्तव्यमा लेख्छन्, “प्रस्तुत कृति ‘सफलताका सूत्र’ पढेर प्राप्त गर्न सकिने विषय थुप्रै छन्, जसमा हामी कसरी जागरुक हुने ? आध्यात्मिक ऊर्जा कसरी प्राप्त गर्ने ? जीवन जिउने कला कसरी सिक्ने ? आफूले आफैँलाई कसरी रूपान्तरण गर्ने ? आदि कुराहरू यसभित्र समाविष्ट छन् ।...।”

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी, जापानी प्राध्यापक मिचुहिरो नाकागावाका शुभकामना सन्देश समेटिएको यस कृतिमा लेखकद्वय आफ्नो भनाइमा लेख्छन्, “हामीले जे सोचेका थियौँ, त्यही बनेका छौँ र जे सोच्छौँ, भविष्यमा त्यही बन्नेछौँ । हामी विचारद्वारा जे कुरामा आकर्षित हुन्छौँ, त्यही प्राप्त गर्दछौँ । हामी जे कल्पना गर्दछौँ, त्यसकै सिर्जना पनि गर्दछौँ । विचारको बिउ जस्तो रोप्छौँ, फल त्यस्तै नै प्राप्त हुन्छ ।...।”

Global Ime bank

विचार र सफलता शीर्षकको निबन्धमा लेखिएको छ, “संघर्ष नै जितको मुख्य आधार हो । जीवन अत्यन्तै मूल्यवान छ, तर हामीले जानेर वा नजानेर यसको अवमूल्यन गरिरहेका छौँ । हामी सबै सफल हुन चाहन्छौँ, तर यसका लागि चाहिने निरन्तर अभ्यास गर्न चाहँदैनौँ । जीवनमा सफलता भनेको कुनै रोगको विरुद्ध एन्टिबायोटिक खाएजसरी प्राप्त हुँदैन ।...।”

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित १८०+४ पृष्ठको यस पुस्तकको मूल्य ४५०/– रुपैयाँ राखिएको छ ।
०००
गाईजात्रा 
(लघुकथासंग्रह : गायत्रीकुमार चापागाई)

साहित्यकार गायत्रीकुमार चापागाईको पछिल्लो कृति हो, ‘गाईजात्रा’ । यो लघुकथाहरूको संग्रह हो । कृति केही महिनाअघि सार्वजनिक गरिएको थियो ।

कविता, कथा, निबन्धका क्षेत्रमा क्रियाशील चापागाईले कृतिका बारेमा आफ्नो ‘अवधारणा’ यसरी लेखेका छन्, “...विश्वव्यापी महामारी कोरोनाको कहर । त्यही कहरमा पीडित समय । घरभित्रै लुकेर बसे पनि सिर्जनाको आँधी भने चलिरहने । ढुकढुकीमा सामाजिक सञ्जाल । प्रकाशनमा कुतकुत्याउने सम्पादकहरू–पत्रपत्रिकाका । पाइला–पाइलामा मृत्युको भय । वरिपरि विकृति र विसंगतिका चाङहरू । भाँडिएको राष्ट्र, समाज र परिवार । मैले भेटेका पात्र, घटना र परिवेश यही समाजका हुन् । टपक्क टिपेँ ।...।”

साहित्यकार खेमराज पोखरेलले भूमिकामा लेखेका छन्, “यो कृतिभित्र नेपाली समाजका लागि गायत्री मन्त्रजस्तै विविध विषयमा सुन्दर, शान्त र सुखायको सन्देश प्रवाह गरिएको छ ।...।”

कृतिभित्र चापागाईका ६४ लघुकथा समेटिएको छ । शब्दयात्रा प्रकाशनले बजारमा ल्याएको १४४+४ पृष्ठको यस संग्रहको मूल्य २००/– रुपैयाँ राखिएको छ ।
०००
सधैंसधैं
(मुक्तकसंग्रह : नवराज कार्की)

नेपाली साहित्यिकवृत्तमा परिचित नाम हो, नवराज कार्की । कवि कार्कीको पहिलो कवितासंग्रह वि.सं. २०४० सालमा प्रकाशित भएको थियो । २०३१ सालदेखि निरन्तर कविता, मुक्तक, व्यंग्यकवितामा सक्रिय रहेका उनको पछिल्लो कृति हो, ‘सधैंसधैं’ । मुक्तकहरूको यो सँगालोसँगै उनका नौ कृति प्रकाशित भइसकेका छन् ।

पुस्तकमा स्रष्टा यादव खरेल लेख्छन्, “...यस संग्रहमा २०७ वटा मुक्तक छन्, ती पनि छानिएका नमुना मुक्तक । अर्थात्, सरल तर अर्थपूर्ण र गहिरा । यी मुक्तकहरू देश, काल, परिस्थितिको सेरोफेरोमा घुम्छन् । मायाप्रीतिका साथै राजनीतिक व्यंग्य, देशप्रेम, अन्यायविरुद्ध विद्रोह आदि विषयविविधताले यो मुक्तकसंग्रह पठनीय मात्र नभएर संग्रहणीय बनेको छ ।”

सिक्किम विश्वविद्यालयकी प्रो. कविता लामा लेख्छिन्, “...कार्कीका केही मुक्तक जातगत, धर्मगत, वर्गगत तथा लिंगगत विभेदप्रति विरोध गर्दै समानताका पक्षमा उभिन्छन्, केही स्वाभिमानी, कर्मशील, कर्तव्यनिष्ठ देखिन्छन् त केही मानवीय सम्बन्ध र प्रेममा केन्द्रित छन् ।...।”

कवि कार्की लेख्छन्, “‘मुक्तक मेरो साधना हो, मेरा मुखपत्र । मैले मुक्तकमा अनेक प्रयोग र परीक्षण गरेको छु ।...।”

एउटा मुक्तकमा कार्की लेख्छन्–
खाने तँहरू
हेर्ने अरू 
अरू बोल्दैनन्
बोल्छु मै बरू
(पृष्ठ – ५५)

नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशनमा ल्याएको १००+४ पृष्ठको यो पुस्तकको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement