site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रहरले पुर्‍याएको रारा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

यसपटक बुवाले रारा पुग्ने रहर गर्नुभयो । म त एकपटक रारा गइसकेको थिएँ । बाटोभरि लेख्न लायक सयौँ स्थान र प्रसंगहरू थिए । तर, सम्झिन सकिरहेको थिइनँ । सायद एकैपटक धेरै ठाउँहरूको भ्रमण गरिएको हुनाले धेरै दृश्य मानसपटलमा एकैपटक तँछाड मछाड गर्दै आइरहेका थिए कि !

पारिवारिक भ्रमण थियो यसपालि । म आफ्नो लागि भन्दा पनि अरूको लागि पथप्रदर्शक बनेर फेरि रारा जाँदै थिएँ । जानु थियो कर्णाली राजमार्गको साँघुरो बाटो । कर्णाली नदी जति फैलिएर बगेको छ, राजमार्ग त्यति नै साँघुरिएर तन्किएको छ ।

मलाई कर्णाली नदीको सङ्लो निलाम्य पानी, नदीको फैलावट, किनाराको बालुवाको थुप्रो औधी मन पर्छ । म घण्टौँसम्म बालुवाको बगरमा रमाएर बसिदिन सक्छु । किनारसँग संवाद गरिरहन सक्छु । किनकि, कर्णालीले राराको सङ्लो पानीदेखि अग्ला हिमालहरूको हिउँ, जडीबुटीको सुगन्ध बोकेर हिँडेको छ । उसलाई कर्णालीका विकट गाउँबस्तीहरूको सुखदुःख सबै थाहा छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दैलेख बजारबाट मध्यपहाडी राजमार्ग हुँदै बिहानै हिँडे तापनि हामी त्यस दिन रारा पुग्न सकेनौँ । हामी ठाउँठाउँमा ऐतिहासिक र रमणीयस्थल हेर्दै, फोटो खिच्दै हिँडिरहेका थियौँ ।

फेरि, कतिपय साँघुरा स्थानमा भेट हुने सानाठूला सवारीसाधन एकापसमा भेटिँदा क्रस हुनै समय लाग्ने । अनगिन्ती घुम्ती र मोडहरू । दैलेखको आठबीस नगरपालिकाका टुनिबगर, राकम कर्णाली, खिडकिज्युला हुँदै कालीकोटको शुभकालिका गाउँपालिका प्रवेश गरेलगत्तै हुल्म भन्ने ठाउँमा हामी पुग्यौँ ।

Royal Enfield Island Ad

त्यहाँबाट अंग्रेजी एस आकारको मोड काटेपछि तिला नदीको पुल तरेर कालीकोटको सदरमुकाम मान्म बिहान एघार बजे मात्र पुगियो । बाइसेचौबिसे राज्यकालको रास्कोटी शाहीहरूको ऐतिहासिक कोट दरबार डाँडामा रहेछ । त्यहाँ पूर्वतिरबाट मात्र जान मिल्ने प्रवेशद्वार भएको र पश्चिमतिर आवतजावत गर्न नमिल्ने ठूलो भीर रहेछ ।

पारिपट्टि योगी नरहरिनाथको नामबाट नामांकन गरिएको नरहरिनाथ गाउँपालिका छ । त्यहाँ सुनथराली एयरपोर्ट विमानको प्रतीक्षामा बसिरहेको रहेछ । विमानस्थल निर्माण भएदेखि विमान बसेको रहेनछ ।

हामी खाँडाचक्र नगरपालिकाको मान्मबाट दिउँसो साढे एक बजे मात्र अगाडि हिँड्यौँ । बाटोमा पिली भन्ने ठाउँ आयो । पिलीको भीर पनि ज्याँदै भयानक र भिरालो रहेछ । त्यसो त साविकको कर्णाली अञ्चलका अधिकांश जिल्लाको भूगोल अत्यन्त विकट र भीमकाय चट्टानयुक्त नै हो । कर्णाली राजमार्गको अधिकांश खण्ड त्यस्तैत्यस्तै छ, साँघुरोसँग चट्टान काटेर बनाइएको ।

पिलीको छुट्टै इतिहास रहेछ । द्वन्द्वकालमा पिलीमा सडक निर्माणमा रहेको नेपाली सेनाको ब्यारेकमाथि माओवादी पक्षले गरेको हमलाबाट त्यहाँ धेरै सैनिक र केही माओवादी लडाकुहरू हताहती भएका रहेछन् ।

हाम्रो यात्रा अगाडि बढिरहेको थियो । क्रमशः पिली, ओदा, सेराबाडा, चौखोला हुँदै तिलागुफा नगरपालिका सीमा टाकुल्लामा साँझ पाँच बजे पुग्यौँ । पालीघाट, भैँसीगौडा, टिम्मुरे, गाल्जे, जुविथा, खल्लागाड हुँदै नाग्म पुग्दा भने साँझको साढे छ बजिसकेको थियो । साँझले झमक्क छोपिसकेको थियो ।

साँझ परिसकेको र त्यहाँबाट अगाडि जाँदा बाटोमा राम्रो वास बस्ने व्यवस्था नभएकाले तातोपानी हुँदै जुम्ला बजार जाने निर्णय गर्‍यौँ । र, कर्णाली राजमार्गबाट हामी दायाँतर्फ मोडियाैँ ।

बाटोमा तातोपानीमा स्नान गर्ने मन हुँदाहुँदै पनि साँझ परेकाले नुहाउन सकेनौँ । अन्ततः कुडारी हुँदै आठ बजे वास बस्ने गरी जुम्लाको खलंगा बजारमा पुग्यौँ ।

जुम्लाका घरहरू अधिकांश काठको प्रयोग गरेर बनाइएको हुने रहेछ । हामी पनि काठैकाठ प्रयोग गरेर बनाइएको होटेलमा वास बस्न पुगेका थियौँ ।

भोलिपल्ट बिहान सात बजे चियानास्ता खाएर हाम्रो यात्रा फेरि रारातिर मोडियो । रारा जाने छोटो बाटो जो भुलभुलेमा जोडिन्थ्यो, पातारासीको डाँफे, खाली भन्ने ठाउँमा बिहानको नौ बजे हामी पुगेका थियौँ । उच्च स्थानको त्यो समथर भूभागमा केही घरहरू थिए । वरपर केही अग्ला डाँडाहरू थिए । हामीले भने त्यहाँ रोकिएर केही तस्बिर खिच्यौँ । र, फेरि यात्रा अगाडि बढायौँ ।

अनेक बाटो–दोबाटो गरेर मुगुको गमगढी पुग्दा दिउँसोको साढे एक बजिसकेको थियो । त्यसैले हामी सबैले एउटा होटेलमा खाना खायौँ । मेरी पत्नी २०५६ सालमा एउटा संस्थामा काम गर्दा त्यहाँ दुई वर्ष बसेकी रहिछन् । उनले आफू त्यहाँ बस्दाका घरबेटी बुवालाई भेट्ने कुरा गरिन् । हामीले घरबेटी बुवालाई भेट्यौँ । बुवा भावुक हुनुभयो । यो साढे दुई दशकको अवधिमा घरबेटी आमा बित्नुभएछ ।

त्यति बेला मेरी पत्नीका साथी बनेका साना बहिनीहरूको पनि बिहे भएर तिनका छोरीहरूको समेत बिहे भइसकेको रहेछ ! माहिली बहिनीका छोरीज्वाइँ र बच्चा देखेर मेरी पत्नी आश्चार्यचकित भइन् । तर, चौबिस वर्षको समय थोरै थिएन ।

घरबेटी बुवाले भन्नुुभयो, ‘चार महिनाअगाडि रगतै बान्ता भएर झन्डै मरेको थिएँ । बाँचेर भेट भयो ।’

मेरी पत्नीले आफूले उस बेला चिनेका धेरै मानिसका बारेमा घरबेटी बुवासँग जिज्ञासा राखिन् । उनीहरूबीचमा निकै बेर सुखदुःखका कुरा भए । घरबेटी बुवाले त्यतै बस्ने प्रस्ताव राख्नुभयो ।

हाम्रो मुख्य गन्तव्य राराताल भएकाले उता पुगेर फर्कंदा समय मिल्यो भने बस्ने गरी आउँछौँ भन्यौँ । र, त्यहाँबाट बिदा भएर ताल्चा विमानस्थल हुँदै रारातिर लम्कियौँ ।

सल्लेरीमा केही होटेलहरू थिए । घोडावालाहरू यात्रुको प्रतीक्षामा थिए । घोडा चढ्नु मेरो रुचिको विषय होइन । एउटा निरीह प्राणीमाथि चढ्दा मलाई आनन्द होइन, हीनताबोध हुन्छ ।

तर, त्यहाँभन्दा मास्तिर राष्ट्रिय निकुञ्ज छ । जहाँ गाडी लग्न मिल्दैन । निकुञ्जको आफ्नै नियम छ र सुरक्षामा सैनिक पनि बसिरहेका हुन्छन् । म हिँडेरै जान चाहन्थेँ । बुवाको खुट्टामा समस्या भएको र लामो दूरी हिँड्न नमिल्ने भएकाले बुवाका लागि घोडाको व्यवस्था गरेर हामी हिँड्ने तयारी गर्दै थियौँ ।

घोडावालाहरूको जत्था नै आयो । अधिकांश विद्यालय पढ्ने उमेरका केटाकेटी थिए । पछि थाहा भयो, साँच्चै विद्यालय पढ्ने केटाकेटी रहेछन् । मयलले कट्कटिएका हातमा घाउ भएको त्यस्तै बाह्र वर्षजतिको एउटा बालकले मलाई आफ्नो घोडामा चढ्न अनुरोध गर्‍यो ।

लगत्तै नाकमुन्तिर सिँगानको टाटा सुकेको, चौधपन्ध्र वर्षजतिको अर्को किशोर केटोले आफ्नो घोडा चढिदिन आग्रह गर्न थाल्यो । एकजना अधबैँसे देखिने एउटा आँखा गुमाएको मानिस आयो र उही अनुरोध दोहोर्‍यायो ।

त्यहीँ केही किशोरी पनि घोडा समातेर बसिरहेका थिए । र, त्यस साँझ मैले यस्तो लेखेँ– 

भालुले फुटाएको आँखा लिएर
रारामा घोडा डोर्‍याउँदै छ
भालुले चिथोरेको कुरूप अनुहार बोक्न
ऊ अश्वत्थामाझैँ अभिषप्त छ
ऊ मलाई घोडा चढ्न आग्रह गर्छ
एउटा निरीह प्राणीमाथि चढ्न
मलाई कताकता हिनताबोध हुन्छ
म घरी उसलाई हेर्छु
घरी उसको घोडालाई हेर्छु
दुवै उस्तै लाग्छ
बाध्यताले डोरिएका
घोडाको मुखमा
उसले लगाम लगाएको छ
उसको मुखमा
बाध्यताले लगाम लगाएको छ
पानी नपाएका खेतका गराहरूझैँ
उसका पैतला पट्पटी फुटेका छन्
भालुले फुटाएको आँखा रारातालझैँ गहिरो छ
जहाँ छचल्किएका छन्
अनेकौँ दुःखका छालहरू
ऊ घोडा डोर्‍याउँदै मेरो सामु आउँछ
फेरि, दोस्रोपटक घोडामा चढ्न आग्रह गर्छ
मलाई उसको दुब्लो घोडा चढ्न दया लाग्छ
अहँ, म उसको घोडा चढ्न सक्दिनँ !

उतिखेरै मयलले कट्कटिएका हातले
अर्को लिखुरे घोडा डोर्‍याउँदै
अन्दाजी बाह्र वर्षजतिको बालक
मेरो समीप आउँछ
आफ्नो घोडा चढ्न आग्रह गर्छ
लेख्दा लेख्दै कापी सकिएर
कापी किन्ने पैसा कमाउन हिँडेजस्तो
अनि,
अंग्रेजी शिक्षकको प्रश्नले डराएर
पढ्दा पढ्दैको क्लास बंक गरेर आएजस्तो
ऊ फेरि दोस्रोपटक आफ्नो घोडा चढ्न आग्रह गर्छ
म दोधारमा पर्छु

हामी तीनजनाबीच
फेरि चौथो पात्र आइपुग्छ
त्यस्तै चौधपन्ध्र वर्षजतिको
जसको नाकमुन्तिर
सिँगानको सेतो टाटा चम्किएको छ
च्यातिएका कपडा लगाएको
उसले पनि उही आग्रह दोहोर्‍याउँछ

आग्रहको भुमरीमा परेर
म घोडा मालिकहरूलाई हेर्छु
तिनका घोडाहरूलाई हेर्छु
घोडाले समेत आग्रह गरेझैँ लाग्छ !

म अनिर्णयको बन्दी बनेर
सल्लाको फेदमुनि
चउरमा थपक्क बस्छु
उतिखेरै राराबाट हावाको चिसो सिरेटो
हल्का कुहिरो बोकेर आउँछ
र, हामीलाई छोपिदिन्छ ।

जे होस्, सबैले सम्भव भएजति तिनका घोडा चढेरै रारातालको छेउसम्म गयौँ । उनीहरू खुसी भए ।

सन्ध्याकालीन रारा दिनभरि छाल हानेर थाकेझैँ शान्त थियो । ठूलो भूकम्पपछिका परकम्पझैँ साना छालहरू आइरहेका थिए । एकछिन मलाई रारासँग संवाद गर्न मन लाग्यो ।

म हातले इसारा गर्छु
ऊ छालले इसारा गर्छ
हामी दुईबीच मौन संवाद चलिरहन्छ
म आँखाले प्रश्न सोध्छु
ऊ सौन्दर्यले जवाफ फर्काउँछ
फेरि मौन संवाद चलिरहन्छ
सुनसान साँझमा
कसैलाई पर्खिरहेजस्तो ।

त्यस दिन हामी तालछेउकै एउटा होटेलमा वास बस्यौँ । बिहान उठ्दा घामको किरणमा ताल मुस्कुराइरहेको थियो ।

समुद्रझैँ रारा २,९९० मिटरको उचाइमा साना पहाडहरूबीच लमतन्न सुतेको थियो । जसको लम्बाइ ५ हजार मिटर, चौडाइ ३० हजार मिटर र गहिराइ १६७ मिटर छ ।

तालभित्र असंख्य माछा छन् । ती माछा तालको छेउमा खेलिरहन्छन् । जलहाँसहरू राराको छालसँगै तालमाथि तैरिरहेका देखिन्छन् । राराको छेउमा एकछिन बस्दा अद्भुत शान्ति र रमाइलो अनुभूति हुन्छ । केही भनौँ झैँ लाग्ने तर भन्नै नसकिने । केही लेखौँ झैँ लाग्ने तर लेख्नै नसकिने !

राराका छालहरूझैँ भावनाका छालहरू एकैपटक उर्लिदिने । शब्दहरू तँछाड मछाड गरी आइदिने । कहाँबाट सुरु गर्ने, केबाट सुरु गर्ने ! राराको छालबाट लेख्न सुरु गर्नु कि आकाशझैँ निलाम्य दहबाट ! रारा जाँदाको साँघुरो र अप्ठ्यारो बाटोबाट सुरु गर्नु कि नेपाली खस भाषाको उत्पत्ति भएको जुम्लाको सिँजाबाट !

राराको सङ्लो पानी मिसिएर बग्दै आएको कर्णाली नदीबाट सुरु गर्नु कि कर्णालीका दुःखहरू बगाउँदै आएको कर्णाली अनि किनारको बालुवाको बगरबाट !

जीवनमा एकपटक पुग्नैपर्ने ठाउँ हो, रारा । जहाँ जाँदा ऐतिहासिक खस साम्राज्यको शीतकालीन राजधानी, खस भाषाको उद्गमस्थल सिँजा बाटैमा पर्छ । विश्वकै उच्च स्थानको धान खेती, मार्सी धान, स्याउ र ओखरका बगैँचाहरूले सिँजा ढकमक्क ढाकिएको हुन्छ । राराताल पुगेपछि बाटोको सास्ती हराएर मनमा छुट्टै प्रकारको अद्भुत आनन्दको सञ्चार हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro