site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुनावले पनि नजगाउने आशा !

ठूलै खण्डखातिर केही नपरे अब प्रतिनिधि सभा र प्रदेश सभाहरूका लागि चुनाव पक्कै हुन्छ । अहिलेसम्मको परिदृश्य हेर्दा चुनाव मूलतः शेरबहादुर देउवा नेतृत्वको गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको समूहबीच हुने देखियो ।

देउवाको नेतृत्वमा मूलतः नेपाली कांग्रेसको संस्थापन पक्ष (यी पङ्क्ति लेख्दासम्मको अवस्थामा)र नेकपा (माओवादी केन्द्र) देखिन्छन् भने ओलीको समूहमा सिंगै एमालेका साथै मूलतः राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी हुने सम्भावना प्रबल छ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका हकमा अहिल्यै यसै भन्न मुस्किल छ । 

अनुहारबाहेक सबै उस्तै

मोटामोटी सैद्धान्तिक आवरण दिनका लागि अनुदार दक्षिणपन्थी र मध्यमार्गीहरूबीच चुनाव हुनलागेको भने पनि हुन्छ । यथार्थमा भने यो दुवै समूह अनुदार दक्षिणपन्थी नै हो । यी सबैका बीचमा खासै सैद्धान्तिक वा व्यावहारिक अन्तर देखिएको छैन । सबै कुनै न कुनै रूपमा सत्तामा रहिआएकै हुन् । स्थानीय निर्वाचनमा केही नगरहरूमा दलबाहिरका उमेदवारहरूले जितेको लहैलहैमा देखिएका ‘स्वतन्त्र’ उमेदवारका रूपमा केही अपेक्षाकृत आशालाग्दा उमेदवार त देखिएका छन् तर तिनले जिते नै पनि शासनको स्वरूप बदलिने छैन ।       

सत्य सकारे बेस !
अर्थात्, आगामी चुनावपछि अहिलेका शासकको अनुहार फेरिन सक्छ तर  जनताको अवस्था  बदलिँदैन । जनतामा निराशा र कुण्ठा थपिन सक्छ तर जनजीविका सजिलो हुँदैन । यसैले चुनावपछि जनताको अवस्थामा परिवर्तन हुने सपना देखाउनेहरू ‘फटाहा’ हुन् । शासकहरूको अनुहार बदलिन सक्छ तर व्यवहार बदलिनेछैन । 

नयाँमध्ये केही असल पात्र परे भने (सम्भावना त कमै छ) केही परिवर्तन पनि हुनसक्छ । तर, नेतृत्व गर्नेहरूलाई सम्झने हो भने जनताको हालत ‘बद’बाट ‘बदतर’ हुने जोखिम नै धेरै देखिन्छ । यसैले अहिलेको सत्ता वा विपक्षका शीर्ष नेता र तिनका मतियारहरूको साँठगाँठ सत्ताका निम्ति मात्र हो । चुनावमा जनतालाई ढाँट्नुभन्दा सत्य सकारे बेस !

स्वतन्त्र उमेदवारबाट अपेक्षा

चुनावमा धेरै खर्च नगरी जिते भने दलका सदस्य वा केही स्वतन्त्र उमेदवार पनि असल सांसद बन्न सक्छन् । यस्तै एकै जना सांसदले पनि संसद्लाई असल बाटो देखाउन सक्छ । तर, आकाशपाताल जोड्ने उडन्ते गफ गर्नेहरू असल सांसद हुने सम्भावना अत्यन्त कम हुन्छ । अहिले स्वतन्त्र भनिएकाहरू धेरै यस्तै उडन्ते देखिएका छन् । उमेदवारहरूको अनुहार स्पष्ट भइसकेको छैन । यसैले अहिल्यै सबै उमेदवार उडन्ते छन् भन्नु न्यायसंगत हुँदैन । उमेदवारहरूको अनुहार देखिने बेलासम्म पर्खौँ ।
 
कांग्रेसभित्रको आत्मघाती किचलो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अर्को चुनावपछि पनि प्रधानमन्त्री रहिरहनेमा ढुक्क हुन गठबन्धन बलियो बनाउन कम्मर कसेर लागेका देखिन्छन् । त्यसक्रममा उनले विशेषगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको बढी नै भर परेजस्तो छ । यसैले उनले आफ्नै दलभित्र विग्रह भए पनि दाहाललाई रिझाउन खोजेको हुनुपर्छ । देउवा र दाहाल मिल्नेबित्तिक चुनावमा बहुमत आउने हिसाब उनीहरूले गरेका होलान् । कांग्रेस र माओवादी केन्द्रले पहिले पाएका मत जोड्दा त्यस्तो हिसाब निस्कला पनि । तर, मतदाताको मन कुनै पनि क्षण र कारणबाट बदलिन सक्छ भन्ने हेक्का भने यिनले राखेको देखिएन । 

देउवाको नियत र असन्तुष्टको नियति

कांग्रेसभित्रको असन्तुष्टि सिटभन्दा बढी देउवाको नियतबाट उब्जेको देखियो । समानुपातिक सूचीले हेर्दा नै देउवा यही निर्वाचनलाई सधैँका लागि पार्टी कब्जा गर्ने मौका बनाउन कृतसङ्कल्प देखिन्छन् । देउवाले कांग्रेसको होइन आफ्नो गुटको मात्र हित हुनेगरी तालमेल गर्ने रणनीति अपनाएपछि शेखर समूह बढी छटपटाएको देखियो । तर, समय बितिसकेपछिको छटपटी र देउवालाई घुर्क्याएर जो हात सो साथ गर्ने उनीहरूको रणनीति पनि देश र दलका लागि हितकर भने देखिँदैन ।  

शेखर समूहको रोइलो 

शेखर समूहले प्रतिशतको रोइलो नगरेकै भए हुन्थ्यो । भागबन्डा नै गरिरहने हो भने देउवा र शेखरमा के फरक भयो त ? देश र दलका समस्य देउवा प्रवृत्ति हो । यसैले शेखरहरू देउवा प्रवृत्ति विरुद्ध उभिनुपर्थ्यो ।  पार्टीलाई विधि र पद्धतिमा चलाउने प्रयत्नले मात्र देउवा प्रवृत्ति परास्त हुन्छ । उदाहरणका लागि उमेदवार व्यक्तिको नाम विशेषको नाममा लेनदेन गर्नुको साटो लोकतान्त्रिक अभ्यास गरेर व्यक्तिहरूको चयन गर्ने अभ्यास अपनाएको भए सम्भवतः देउवालाई पनि धेरै मिच्ने आँट आउने थिएन । अब त देउवा ‘दिने’ र शेखर ‘हातथाप्ने’ भूमिकामा देखिए । उमेदवारीसँगै साधनस्रोतका लागि पनि देउवाको कृपा चाहिने होला । त्यसरी जितेर आएका उमेदवार कसरी देउवा प्रवृत्तिविरुद्ध उभिन सक्छन् र ?

सबैको नेता बन्ने मौका गुम्यो

देउवा पक्षले असहयोगै गरे पनि  उमेदवार सिफारिस गर्न पारदर्शी र लोकतान्त्रिक अभ्यास गरेको भए हुन्थ्यो । पारदर्शी लोकतान्त्रिक विधि अपनाएर १६५ र ११० जनाकै नाम सभापतिलाई सिफारिस गरेको भए के हुन्थ्यो ? देउवाले नमाने उनी गुटका मात्र नेता हुन्थे भने शेखर पार्टीकै नेता देखिनेथिए । त्यस अवस्थामा देउवाले  ठाडै अस्वीकार गर्न मुस्किल हुनेथियो । अहिलेको किचलोले त कांग्रेसप्रति निराशामात्र बढाएको छ । देउवासँगको मोलतोलले केही नेताको पालो आउला तर समग्रमा पार्टीप्रति विकर्षण नै धेरै बढेको छ । हुन पनि फरकै नदेखिने हो भने जनताले किन मत दिने ?  देश र लोकतन्त्रलाई केही फाइदा नहुने हो भने त व्यर्थको रडाको र रोइलोले मतदातालाई बिच्क्याउने काममात्र हुने भयो । परिवर्तनका पक्षमा रहेका कांग्रेसका परम्परागत मतदाता थप निराश हुने भए । अब त जिते जस देउवालाई हारे अपजस शेखरलाई हुने भयो । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro