काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेंगी नियन्त्रणमा सरकारले काम नगरेको बताएका छन् । उनले अहिलेको सरकारले डेंगी नियन्त्रणमा गरेका काम आफूलाई पटक्कै चित्त नबुझेको बताए ।
शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले अहिलेको सरकार डेंगी नियन्त्रणमा जिम्मेवारी बहन गर्न चुकेको बताए । उनले तीनै तहका सरकारले गरेको काम पटक्कै चित्त नबुझेको बताएका हुन् ।
“सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,” थापाले भने, “हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौँ । तर, अहिले हाम्रै सरकारले काम गरेन ।”
थापाले आपतकालीन बैठक बसेर तीनै तहका सरकार मिलेर अस्पतालको व्यवस्थापनदेखि डेंगी नियन्त्रणका लागि साझा योजनाबाट काम गर्नुपर्ने बताए । उनले चाडबाडका बेला डेंगीको प्रकोप बढ्ने देखिएकाले सरकारले त्यसमा ध्यान दिएर काम गर्नुपर्ने बताए ।