site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्रष्टाले प्रतिलिपि अधिकार पाइसके कि आन्दोलन सेलायो ?
SkywellSkywell

काठमाडौं । केही वर्ष अगाडिसम्म गीत–संगीतको रोयल्टी र प्रतिलिपि अधिकारलाई लिएर कलाकारहरू पक्ष–विपक्षमा देखिन्थे । कोही प्रतिलिपि अधिकारको पक्षमा त कोही विपक्षमा स्पष्ट उत्रिन्थे । यतिसम्म कि आफूलाई मन नपरे सामाजिक सञ्जालमा निकृष्ट गाली समेत गर्न पछि पर्दैनथे ।

स्रष्टाहरू भेला हुन्थे । अड्डा–अदालत धाउँथे । नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयमा जान्थे । मन्त्रालयमा गएर मन्त्री तथा सचिवलाई आफ्ना समस्या सुनाउँथे ।

तर, अहिले प्रतिलिपि अधिकार र रोयल्टीको विषय त्यति धेरै उठान भएको सुनिँदैन । यति बेला न प्रतिलिपि अधिकारको विषय चर्कोसँग उठेको छ न त रोयल्टीको नै । किन ? रोयल्टीको समस्या समाधान भइसक्यो ? प्रतिलिपि अधिकार स्रष्टाले पाइसके ?

KFC Island Ad
NIC Asia

“छैन,” लामो समय रोयल्टी र प्रतिलिपि अधिकारका लागि अभियान नै सञ्चालन गरेका संगीतकार लक्ष्मण शेष बताउँछन् ।

समस्या समाधान नगरी किन अभियान सेलायो ? “मैले मेरो कार्यकालमा र अरू समयमा मैले सकेको जति काम इमानदार भएर गरेँ । तर, एउटै व्यक्ति सधैँ अधिकार भनेर दौडिरहन सक्दो रहेनछ,” लक्ष्मण स्पष्ट पार्छन् ।

Royal Enfield Island Ad

वि.सं. २०७१ देखि ०७८ सम्म आफूले सम्पूर्ण काम थाती राखेर स्रष्टाको अधिकारका लागि अभियान सञ्चालन गरेको तर सम्बन्धित संघ–संस्था र व्यक्तिबाट अपेक्षित सहयोग नपाएको उनको गुनासो छ ।

“बलेको आगो सेलाउने म देख्दै छु । म हामी कलाकारकै अधिकार भन्दै कपिराइट र रोयल्टीका लागि यतिका धेरै वर्ष लागेँ । देश–विदेशमा हाम्रो अधिकार केही सीमित व्यक्ति तथा संस्थाबाट कसरी हनन् भइरहेको छ भनेर डिटेल सार्वजनिक गरेँ,” उनी भन्छन्, “तर, जसरी हामी स्वयं एकत्रित हुनुपर्ने थियो, भएनौँ भन्ने लाग्छ । जसका कारण बलेको आगो निभ्दै छ भन्ने लाग्छ । आफ्नो अधिकार लिन स्रष्टा स्वयं किन जागरुक भइरहेका छैनन्, म आफैँ छक्क परिरहेको छु ।”

कुनै समय अधिकारलाई लिएर बहस उत्कर्षमा पुगेको अवस्थामा समेत स्रष्टा आफैँ पछि हट्दा अधिकार बीचबाटोमै अलपत्र त पर्ने होइन भन्नेमा शंका गर्ने ठाउँ देखिएको उनको भनाइ छ । स्रष्टा आफैँ जागरुक नभएसम्म अधिकार कसैले नदिने र अधिकार हनन गरिरहेकाहरू पछि नहट्ने उनको निष्कर्ष छ ।

रोयल्टी नपाएको र आफ्नो सिर्जना बिनाअनुमति अरूले नै प्रयोग गरिरहेको भन्दै असन्तुष्ट केही अग्रज कलाकार तथा उनीहरूका आफन्त मुद्दामा जाने तयारीमा थिए । गीतकार यादव खरेल, गायक भक्तराज आचार्य र संगीतकार तथा गायक अमर गुरुङका आफन्त रोयल्टी र प्रतिलिपि अधिकारको विषयलाई लिएर मुद्दा हाल्न अदालत जाने तयारीमा थिए । तर, हालसम्म उनीहरू अदालत गएका छैनन् ।

किन ?

विषयलाई नछोडिएको तर भेटघाट, छलफल तथा बहस पातलिएको गीतकार खरेल स्वीकार गर्छन् । कोभिड–१९ का कारण केही समय पूर्ववत् रूपमा सक्रिय हुन नसके पनि विषयबाट पछि नहटेको उनको स्पष्टोक्ति छ ।

“लामो समय लगाएर हामी तीनजनाको डकुमेन्ट मुद्दाका लागि तयारी अवस्थामा छ । हामी रिटका लागि अदालत जाने तयारी गरिरहँदा अरू दुई–तीनजनाले पनि हामी पनि अदालत जाने हो, सँगै जाऔँ भनेकाले केही ढिलो भएको हो,” उनी भन्छन्, “हाम्रो सिर्जना हामीसँग नसोधी अरूले त्यसको फाइदा लिइरहेकै हो । यसलाई जसरी पनि फिर्ता ल्याउनु छ । दोषीलाई क्षतिपूर्ति तिराउनु नै पर्नेछ । त्यसैले यसलाई अझ सशक्त रूपमा अगाडि बढाउने तयारीमा छौँ । दोषी कारबाहीको भागीदार हुनैपर्छ ।”

प्रमाणलाई अझै बलियो बनाउन वकिलहरूसँग कुरा भइरहेको र थप बलियो प्रमाण जुटाउने काम भइरहेको यादव बताउँछन् । सबै स्रष्टा एक भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

संगीतकार संघका अध्यक्ष चेतन सापकोटा अब प्रतिलिपि अधिकारका लागि कसैले पनि मुद्दा–मामिला गर्नुपर्ने अवस्था नआउने जिकिर गर्छन् । सरकारले प्रतिबद्धतासहितको अग्रसरता लिइसकेकाले अब प्रतिलिपि अधिकारको कानुन बन्ने र तत्काल कार्यान्वयन हुने उनको भनाइ छ ।

अहिलेसम्म सडकमा बसेर आरोप–प्रत्यारोप लगाउने मात्र काम भएकाले प्रतिलिपि अधिकार सुरक्षित नभएको उनी बताउँछन् । अब चाँडै स्रष्टाहरूले आफ्नो अधिकार उपभोग गर्न पाउनेमा चेतन विश्वस्त छन् ।

“म अध्यक्ष भएपछि मुख्यसचिवसँग संगीतकार संघसहित सरोकारवालासँग छलफल भएको छ । उहाँसँग हामीले प्रतिलिपि अधिकारको आवश्यक कानुनका विषयमा कुरा गर्‍यौँ,” चेतन भन्छन्, “उहाँले ६ वर्ष अगाडिको फाइल रि–ओपन गर्दै हाम्रो अनुरोधानुसार कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँ आफैँले निर्देशन दिएकाले अब प्रतिलिपि अधिकारको समस्या समाधान हुनेमा म ढुक्क छु ।”

संस्कृति मन्त्रालय, उद्योग मन्त्रालय, यातायात मन्त्रालय, सञ्चार मन्त्रालय, रजिष्टारको कार्यालयलगायत निकायले ‘रोयल्टी एक्ट’ ड्राफ्ट गरिरहेको र उक्त ऐन आउनेबित्तिकै विद्यमान समस्याको समाधान हुने उनको विश्वास छ ।

रेडियो नेपालका गीतको सम्पत्तिको अधिकार के हो ? रत्न रेकर्डिङ संस्थानमा रेकर्डिङ भएका गीतको अधिकार कसको हो ? गायक, गीतकार, संगीतकार तथा उत्पादकको आजसम्मको रोयल्टी कसले खाइरहेको छ भन्नेबारे तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको पालामा गठन भएको समितिले सोधपुछ गरेर निष्कर्षमा पुग्ने भएकाले अब मुद्दा–मामिलाको आवश्यकता नरहने उनको धारणा छ ।

अब कसैको झोला बोकेर संगीतकार संघ अदालत नधाउने भन्दै उनी संघ मन्त्रालय गएर कानुन निर्माणसहित दीर्घकालीन समाधानमा केन्द्रित हुने बताउँछन् । यद्यपि, अदालत जान चाहनेलाई नरोक्ने उनी स्पष्ट पार्छन् । “कोही अदालत जान्छ भने हामी उसलाई रोक्दैनौँ । अदालतबाट हाम्रो पक्षमा फैसला आयो भने राम्रो नै हुनेछ,” चेतन भन्छन् ।

मुद्दा–मामिलाभन्दा पनि संवाद, सहकार्य र एकताबाट सबै समस्याको समाधान हुनुपर्ने पक्षमा आफू रहेको र सोहीअनुसार काम गरिरहेको चेतनको भनाइ छ । “आजसम्म हामीले बाटोमा बसेर अधिकार माग्यौँ । अब सम्बन्धित मन्त्रालयमा नीति निर्मातासँग गएर माग्ने हो,” उनी अगाडि थप्छन्, “सम्बन्धित ठाउँमा गएर अधिकारका लागि लविङ गरेपछि ऐन, कानुन बन्छ भन्नेमा हामी ढुक्क छौँ ।”

कानुन बनेपछि संगीतकार संघ, गीतकार संघ, रोयल्टी संकलन समाज, उत्पादक समाज, प्रस्तोता समाज र रजिष्टार बसेर मापदण्ड बनाइने उनी सुनाउँछन् । त्यस्तो मापदण्ड अन्तर्राष्ट्रिय अभ्यास हेरेर बनाइने उनी बताउँछन् । उक्त मापदण्ड लागु गर्न सरकारलाई आग्रह गर्ने उनले उल्लेख गरे ।

पुराना कुरामा संगीतकार संघलाई कुनै चासो र सरोकार नरहेको भन्दै अध्यक्ष चेतन भन्छन्, “पहिला को सँग के भयो, संघले अब त्यो हेर्दैन । नयाँ के गर्दा स्रष्टाको अधिकार सुरक्षित हुन्छ, त्यसमा हामी लाग्छौँ । पहिलो कोसँग कस्तो सम्बन्ध थियो, त्यसलाई हामी सरोकार नराखी नयाँ ढंगले अगाडि बढ्छौँ ।”

अब बन्ने प्रतिलिपि अधिकार र रोयल्टीको कानुनले अहिले एउटा स्टेजमा गाएर गायकले एक लाख रुपैयाँ बुझ्ने तर त्यही गीतको गीतकार, संगीतकार, एरेन्जरले कति पनि नपाउने अवस्थाको अन्त्य गर्ने उनको दाबी छ । गीत रेकर्डिङ गर्दा गीतकार, संगीतकार तथा एरेन्जरले लिने १५/२० हजार रुपैयाँ रोयल्टी वा प्रतिलिपि अधिकार बेचेको नभएर पारिश्रमिक मात्र लिएको भन्दै चेतन अब आउने कानुनले यसलाई सम्बोधन गर्ने बताउँछन् ।

सर्जक तथा स्रष्टासँग अनुमति नलिई देश–विदेशका दर्जनौँ म्युजिक प्लेटफर्ममा केही एग्रिगेटर कम्पनीले गीत–संगीत बेचेर त्यसको लाभ लिइरहेको आरोप लाग्दै आएको छ । बिनाअनुमति गीत–संगीत बेच्ने तर त्यसको न्यूनतम रोयल्टी समेत नदिई अर्बौँ रुपैयाँ एग्रिगेटरहरूले उठाइरहेको सर्जक तथा स्रष्टाको आरोप छ । आफूले पाउनुपर्ने रोयल्टी समेत नपाएको भन्दै सर्जक तथा स्रष्टाले लामो समयदेखि आवाज उठाउँदै आएका छन् । तर, यसको सम्बोधन भएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro