कम्बोडियामा भएको नरसंहारको जाँचबुझ र मानवताविरुद्धका अपराधीमाथि मुद्दा चलाउन गठित अन्तर्राष्ट्रिय अदालत १६ वर्षमा बिहीवार अन्तिम निर्णय सुनाएर भङ्ग भएको छ । संयुक्त राष्ट्रसंघको अग्रसरतामा यो अदालत गठन गरिएको थियो ।
कम्बोडियामा सन् १९७० को दशकमा खमेर रुजको बर्बर शासनमा करिब १७ लाख जनालाई मारिएको थियो । अन्तिम निर्णयमा अदालतले खमेर रुजका नेता एकमात्र जीवित नेता ख्यु सामपाङलाई सन् २०१८ मा दिइएको मृत्युदण्डको सजाय कायमै राखेको छ ।
अन्तर्राष्ट्रिय अदालतका कामकारबाही १६ वर्षसम्म सञ्चालन गर्न करिब ३३ करोड ७० लाख अमेरिकी डलर खर्च गरियो । सन् १९७५ देखि ७९ सम्म कम्बोडियामा शासन चलाउने खमेर रुजका नेताहरूमाथि नरसंहार, मानवताविरुद्धको अपराध तथा युद्ध अपराधको मुद्दा चलाइएको थियो ।
बीसौं शताब्दी मानवताविरुद्धका जघन्य अपराधका थुप्रै घटनाहरूको साक्षी रह्यो । परन्तु, यस्ता अधिकांश घटनामा अपराधीहरूलाई सजाय गर्न भने अन्तर्राष्ट्रिय समुदाय चुकेको छ । विशेषगरी अपराधीहरू नै सत्तामा पुगेपछि उनीहरू सजायबाट उम्केको देखिन्छ ।
खमेर रुजका नेता र बर्बर शासनका मुख्य व्यक्ति पोल पोटको भने सरकारविरुद्ध छापामार युद्ध चलाएका बेलामा सन् १९९८ मा ७२ वर्षको उमेरमा जंगलमै मृत्यु भएको थियो । अरु अभियुक्तहरू मरिसकेका वा शारीरिकरूपमा अशक्त भएकाले उनीहरुमाथि मुद्दा चलाइएन ।
मूलतः इजलासमा अन्तर्राष्ट्रिय तथा कम्बोडियाली न्यायाधीशहरू रहने र सहमतिबाट निर्णय गर्नुपर्ने जटिल कार्यशैलीका कारण अदालतको समय लम्मिएको मानिन्छ । साथै वर्तमान शासक हुन सेन स्वयंमाथि पनि मुद्दा चल्न सक्ने देखिएपछि उनले अभियोजन प्रक्रिया नै रोकेका थिए ।
हुन सेन पनि खमेर रुजकै मध्यम स्तरका नेता थिए । भियतनामको सहायतामा खमेर रुजलाई सत्ताबाट हटाएपछि हुन सेनले कम्बोडियाको सत्ता कब्जा गरेका हुन् । कम्बोडियन पिपल्स पार्टीका खधिकांश वरिष्ठ नेता खमेर रुज पृष्ठभूमिकै छन् ।
कम्बोडियाका बीसौं लाख नागरिकले शासकको सनक र क्रूरताका कारण ज्यान गुमाउनु पर््यो । तै पनि विश्वका कतिपय भागमा कम्बोडियाको घटनाबाट कुनै पाठ नसिकी राजनीतिमा नाममा मानवताविरुद्ध अपराध गरिएको छ । नेपालकै माओवादीको हिंसात्मक विद्रोह यसको एउटा उदाहरण हो ।
कम्बोडियामा भएको नरसंहारका तुलनामा अपराधीहरूमाथि भएको सजाय नगण्य देखिन्छ । अझ अन्तर्राष्ट्रिय अदालतको गठन र कार्यविधि तथा त्यसमा लागेको समय एवं आर्थिक लगानी हेर्दा त सबै प्रयास नै व्यर्थ प्रतित हुन्छ ।
जेहोस्, इतिहासको एउटा कालो कालखण्डको अभिलेख भने तयार भयो । साथै ढिलै भए पनि मानवताविरुद्धको अपराधप्रतिको उत्तरदायित्वबाट दोषी उम्कन पाउँदैन भन्ने मान्यता पनि स्थापित भएको छ ।
नेपालमा पनि सङ्क्रमणकालीन न्यायमा बाधा पार्ने वा झारा टार्न खोज्नेहरूले बुझे हुन्छ - मानवता विरोधी अपराधबाट सधैँका लागि उन्मुक्ति सम्भव छैन । ढिलोचाँडो अपराधको सजाय भोग्नै पर्छ । कम्बोडियाको इतिहासले सिकाएको पाठ यही हो ।