साहित्य
झ्यालबाट देखिने भीमसेनस्तम्भ
धरहरा देखिँदैन अचेल
केवल
धरहराझैँ अग्लिएको
मान्छेको घमण्ड देखिन्छ
इमान हराएको बेइमान देखिन्छ ।
कि देखिन्छ
खानलाई मात्रै बाँचिरहेका
नैतिकता हराएको एक हुल मान्छे !
सहरमा
नैतिकता कतै भेटिँदैन किन ?
सहरलाई
आचरणको झ्यालबाट नियाल्दा
रुन्चे अनुहार लगाएको आकाश देखियो
सहरमाथि मडारिएको
हिंस्रक कालो बादल देखियो
भन्नुपर्दा,
सहर त नैतिकवान् हुनुपर्ने होइन र ?
झ्यालको पनि बानी सुध्रिनुपर्ने होइन र ?
विडम्बना नै भन्नुपर्छ
हुनुपर्ने पनि भएन
सुध्रिनु पर्ने पनि सुध्रिएन ।
मात्र सहर
दीर्घ रोगीझैँ जीर्ण भएर बाँचेको छ
झन्–झन्,
अचेल
इतिहास हराएको झ्यालबाट
सिंगो
नैतिकता हराउँदै गरेको सहर देखिन्छ ।
०००
(फुटुङ, काठमाडौं)
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९ ०८:१८
प्रतिक्रिया दिनुहोस्