इस्लामावाद । पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन् भने दुई महिला छन् ।
पाकिस्तान प्रकोप व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा मृत्यु भएका मध्ये १७ जना सिन्ध प्रान्तका मात्रै रहेको जनाएको छ । पाकिस्तानमा आएको बाढी पहिरोबाट सबैभन्दा धेरै सिन्ध प्रान्त प्रभावित भएको छ भने अन्य प्रान्तमा पनि असर परेको छ ।
बढीपछिका घटनामा परी पाकिस्तानमा थुप्रै घाइते भएका छन् । लाखौँ विस्थापित भएका छन् । पछिल्लो एक दिनमा मात्रै एक हजार ७३३ घरमा क्षति पुगेको छ भने २३ हजार ३१२ जनावर मरेका छन् ।
मध्य जुनदेखि सुरु भएको मनसुनसँगै आएको वर्षाका कारण भएका घटनामा परी अहिलेसम्म एक हजार ५९६ जनाको मृत्यु भएको छ । घटनामा परी अहिलेसम्म १२ हजार ८६३ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्राधिकरणले जनाएको छ । रासस/सिन्ह्वा