डेंगुको सङ्क्रमण नियन्त्रण गर्न सरकारले बेलैमा ध्यान दिएको भए अहिलेको अवस्था पक्कै उत्पन्न हुने थिएन । अझै पनि सरकारले डेंगुको महामारी नियन्त्रण नभए उत्पन्न हुने कहालीलाग्दो अवस्थाको अनुमान गर्नै नसकेको देखियो ।
देशमा डेंगुबाट १९ हजारभन्दा बढी सङ्क्रमित भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकै तथ्यांक छ । यीमध्ये २४ जनाको त मृत्यु नै भइसकेको छ । स्वास्थ्य संस्थामा न आएकाहरू पनि पक्कै सङ्क्रमित भएका होलान् । अर्थात्, सङ्क्रमितको सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा पक्कै बढी छ ।
डेंगुको प्रकोप फैलन गत असारदेखि नै सुरु भएको हो । बितेका २ महिनामा संघ, प्रदेश र स्थानीय कुनै तहका सरकारले पनि यसको प्रकोप नियन्त्रणका लागि केही पनि गरेनन् । जनस्वास्थ्यका सबालमा पनि सबै तहका सरकारहरू चुकेको देखियो ।
काठमाडौं उपत्यकामा नै कुल सङ्क्रमितको आधा बिरामी छन् । तिनको उपचारका लागि अस्पतालमा ठाउँको चर्को अभाव छ । एउटै शय्यामा ३ जनासम्म राखेर उपचार भइरहेको दयनीय दृश्य अस्पतालहरूमा देखिन्छ । यो सरकारहरूको लज्जास्पद असफलताको उदाहरण हो ।
एक प्रकारको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र सङ्क्रमित व्यक्तिबाट लामखुट्टेले अर्को व्यक्तिमा सार्ने हुनाले डेंगुको सङ्क्रमण महामारीकै शैलीमा फैलन्छ । यसको नियन्त्रणको उत्तम उपाय लामखुट्टे फैलन नदिनु नै हो । तर, टोल बस्तीहरूमा लामखुट्टे नियन्त्रणका लागि कुनै अभियान वा कार्यक्रम भने चलाइएको छैन ।
महामारीका अवस्थामा सुरुमा सरकार केही अलमलिनु स्वाभाविक भए पनि डेंगुका हकमा देखिएको सरकारी उदासीनता भने गैरजिम्मेवार प्रवृत्तिको पराकाष्ठा नै हो । नेपालमा डेंगु देखिन थालेको दुई दशक पुग्न लाग्यो । यसको नियन्त्रणका उपाय पनि सबैले थाहा पाएका छन् ।
जनस्वास्थ्य विज्ञहरूले जानकारी, स्रोत र क्षमता हुँदाहुँदै पनि लापरबाही गरेकाले डेंगु नियन्त्रण नगरिएकोमा सरकारप्रति आक्रोश प्रकट गरेका छन् । उनीहरूको आरोप सही हो र त्यसका लागि तीनै तहको सरकारका पदाधिकारी दोषी छन् । यसैले डेंगुबाट मर्नेहरू सरकारकै हेलचेक्य्राइँबाट मरेका हुन् भन्नु अन्यथा हुँदैन ।
डेंगु फैलन नदिने जिम्मेवारी परिवार, समुदाय र सरकार सबैको हो । परिवारतहदेखि नै डेंगुको जोखिम र त्यसबाट जोगिन अपनाउन सकिने उपायबारे सजग हुनु जरूरी छ । कम्तीमा घरभित्र र वरपर पानी जम्ने खाल्टाखुल्टी पुरेर लामखुट्टे फैलन नदिन सकिन्छ ।
यसैगरी समुदायस्तरमै पनि लामखुट्टे फैलन सक्ने ठाउँ खोजेर त्यसलाई पुर्ने वा कीटनाशक विषादी छर्केर सङ्क्रमण नियन्त्रणमा सहयोग गर्न सकिन्छ । तर, यी सबैका लागि पनि सरकारले जनतालाई उत्प्रेरित भने गर्नुपर्छ । व्यक्तिगत घरहरूमा परिवारलाई सजग गराउने र विद्यालय, पार्कहरूजस्ता सार्वजनिक ठाउँमा निगरानी र नियन्त्रण गर्ने हो भने महामारी नबन्दै नियन्त्रण हुनसक्छ ।
घना बस्तीहरूमा केन्द्रित लामखुट्टे नियन्त्रण अभियानको नेतृत्व स्थानीय तहले लिनुपर्छ । डेंगु नियन्त्रणमा काठमाडौं र ललितपुरका महानगरपालिका र नगरपालिकाहरू अकर्मण्य देखिएका छन् । जनस्वास्थ्यको रक्षा गर्ने मूल दायित्वमै चुक्ने हो भने अरू तामझाम सबै पाखण्ड साबित हुनेछ । स्थानीय सरकारहरूले आफ्नो औचित्य सिद्ध गरून् ।