काठमाडौं । स्वास्थ्य सेवा क्षेत्र सुधारका सातबुँदे माग २० औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी पक्ष र सरकारबीच दोस्रो चरणको वार्ता भइरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, शिक्षा तथा स्वास्थ्य सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी छन् ।
डा. केसीका तर्फबाट भने डा. जीवन क्षेत्रीसहित पाँच सदस्यीय टोली सहभागी छ । आज बुँदागत रुपमा निष्कर्षमा पुग्नेगरी छलफल हुने बताइएको छ ।
यसअघि, आइतवार भएको वार्तामा केही बुँदामा छलफल भए पनि निष्कर्ष आउन नसकेपछि आज दोस्रो चरणको छलफल सुरु भएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि आमरण अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको अस्पतालको रिपोर्ट छ ।