काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम तीव्ररूपमा अघि बढेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक अभावको कारण देखाएर निर्माणको काम छाडेपछि रंगशाला अलपत्रमा परेको थियो । तर, भरतपुर महानगरपालिकाले पहल लिएपछि अहिले संघीय सरकार, वाग्मती सरकार र भरतपुर महानगरको सहकार्यमा रंगशाला निर्माण भइरहेको छ ।
०८१ असार २३ गतेदेखि हिमालयन कालिञ्चोक बीबी आर निर्माण कम्पनीले रंगशालाको काम गरिरहेको छ । निर्माण कम्पनीले ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ लागतमा रंगशाला निर्माण गरिरहेको छ ।
रंगशाला निर्माणका लागस वाग्मती सरकारले ७५ करोड र भरतपुर महानगरले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।
कति भयो प्रगति ?
निर्माण थालेलगत्तै पाँच महिनामा भएको प्रगतिले तोकिएको समयभित्रै निर्माण सकिने देखिएको आयोजनाका प्रोजेक्ट म्यानेजर वीरेन्द्रकुमार यादवले जानकारी दिए । उनका अनुसार, रंगशालामा दैनिक १५० देखि १७५ जना कामदारबाट काम भइरहेको छ ।
इन्जिनियर रञ्जीत शाहले निर्माण थालेको पाँच महिनामा करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको बताए । अहिले दर्शक बस्ने स्ट्यान्ड, खेल मैदान बनाउनेसहितका काम भइरहेको छ ।
चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको रंगशालाको खेल मैदानमा दर्शक बस्ने तीन तहको प्याराफिट र भीआईपी टावर तथा खेलाडीहरू बस्ने टावर निर्माण गरिने शाहले बताए ।