चीन (बेइजिङ) । चीनमा मानिसहरूलाई कोभिड–१९ क्वारेन्टाइन परिसरतर्फ लाँदै गरेको एउटा बस दुर्घटनामा हुँदा त्यसमा सवार २७ जनाको मृत्यु भएको छ ।
दक्षिण–पश्चिमी ग्विझोउ प्रान्तको सडकमा आइतबार बिहान बस पल्टिँदा अरू २० जना घाइते भएका छन् ।
यस दुर्घटनापछि बेइजिङगको ‘शून्य–कोभिड’ नीतिलाई लिएर धेरैले अनलाइनमार्फत आक्रोश व्यक्त गरेका छन् । उक्त नीतिअन्तर्गत ठूलो संख्यामा मानिसहरूका कोरोना परीक्षण र संक्रमितहरूको पहिचान गर्ने गरिएको छ । साथै केही थोरै संख्यामा मात्रै संक्रमित भेटिए पनि ठूलो सहरभरि कडा लकडाउन लगाउने गरिएको छ ।
बस दुर्घटनामा पर्नुको कारण भने खुल्न सकेको छैन ।
विश्वका अन्य मुलुकहरू कोभिडविरुद्ध जुझ्दै जीवनशैलीलाई सामान्य ढंगले अघि बढाइरहेका बेला विश्वको प्रमुख अर्थतन्त्र भएको चीनले भने अझै पनि कोभिडविरुद्धको युद्धलाई ठूलो प्राथमिकता दिइरहेको छ ।
ग्विझोउमा अहिले कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
शनिबार मात्र त्यहाँ ७१२ जना नयाँ संक्रमित थपिएका छन् । यो चीनको कुल संक्रमित संख्याको ७० प्रतिशत हुन आउँछ ।
चीनको कम्युनिस्ट पार्टीको प्रत्येक पाँच वर्षमा आयोजना हुने आगामी अक्टोबरको कंग्रेसमा कोभिड नीति माथि व्यापक छलफल हुने अपेक्षा गरिएको छ ।
राजधानी बेइजिङको करिब २ करोड १० लाख भन्दा बढी बासिन्दाले सार्वजनिक भवन वा पसलमा प्रवेश पाउनका लागि प्रत्येक तीन दिनमा लामो लाइन लागेर पीसीआर टेस्ट गर्नुपर्ने स्थिति रहेको छ ।
बीबीसीबाट ।