काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेको छ । सरकारले आफ्नो निवासको गेटमै ताला लगाएको आरोप जबराले लगाएपछि आयोगको टोलीले स्थलगत निरीक्षण गरेको हो ।
आयोगको टोलीले जबराको सरकारी निवास बालुवाटार पुगेर सोधपुछ गरेको छ । सोधपुछका क्रममा जबराले सरकारले प्रहरी लगाएर आफूलाई सर्वोच्च जान रोकेको गुनासो गरेको आयोगका निमित्त सचिव टिकाराम पोखरेलले जानकारी दिए ।
“हामी पुग्दा गेटमा केही कडाइ गरेको पाएका थियौँ । भित्र गएर जबरासँग पनि सोधपुछ भयो,” पोखरेलले बाह्रखरीसँग भने, “उहाँले प्रहरी लगाएर सरकारले सर्वोच्च जान रोकेको बताउनुभएको छ ।”
उनले आफूहरूले सुरक्षाकर्मीसँग पनि कुरा गरेको भन्दै उनीहरूले माथिको आदेश भनेर जवाफ दिएको बताए ।
'गेटमा ताला नै लगाइएको हो ?' भन्ने प्रश्नमा पोखरेलेलले ताला नलगाएको बताए ।
“हामी पुग्दा मिडियाको पनि राम्रै उपस्थिति भइसकेको थियो । प्रहरीले सोधपुछ गरेर भित्र पठाउने गरिरहेको थियो,” पोखरेलले भने, “समान्य भन्दा प्रहरीको संख्या भने बढेको पाइएको थियो ।”
आयोगको टोलीले जबसँगको कुराकानीपछि विज्ञप्ति जारी गर्ने तयारी गरेको छ ।