काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डले नेपालले चीन सरकारले दिने ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) बाट ठूलो अपेक्षा गर्न नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर बीआरआई सहयोग गर्ने नीति लिएको भन्दै नेपालले चीन सरकारले दिने बीआरआई सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताए ।
उनले बीआरआई परियोजनामा चीनको आक्रमक योजना नभएर सामान्य मात्रै रहेको बताए । उनले चीनसँगको बीआरआई सहयोगको जति व्यापक चर्चा भएपनि बीआरआई आउँछ भन्ने आशा नभएको बताए । पूर्वअर्थमन्त्री पाण्डेले नेपाल चीनको मोनविज्ञान बुझेर मात्रै अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
उनले नेपाल सरकारले अमेरिकी सहयोग एमसीसी पास गरेर ठिक गरेको बताए । पाण्डेले नोपलमा अमेरिकी सहयोग एमसीसी आउँदा चीनलाई चिन्ता भएर चासो उठाएको भन्दै नेपालमा अमेरिकाको उपस्थिति धेरै भयो भने चीन मात्रै नभएर भारत पनि रिसाउने अवस्था आउने बताए ।
उनले भारतले नै नेपाललाई धेरै सहयोग आउन दिने अवस्था नभएको भन्दै विदेशी राष्ट्रहरूको स्वार्थलाई बुझेर मात्रै वैदेशिक लगानी सम्बन्धि नीति बनाउनुपर्ने बताए ।