विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सव २०७९ समापन भएको छ ।
भदौ २२ देखि सुरु भएको महोत्सव शुक्रबार 'प्रेमको प्रतीक-भगवान् कृष्ण' मञ्चनसँगै सकिएको हो । महोत्सवमा आयोजकको एकसहित १० नाटक मञ्चन भएका थिए ।
विराटनगर तथा आसपासका ९ विद्यालयले तयार पारेको नाटक हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा दैनिक एउटा मञ्चन गरिएको थियो ।
अन्तिम दिन शुक्रबार मञ्चन भएको नाटक विराटनगरको श्री श्री रविशंकर विद्या मन्दिरले विद्यार्थीलाई नै सहभागी गराएर तयार पारेको हो । प्रधानाध्यापक सीमा अग्रवालद्वारा निर्देशित नाटकमा आलोक साह, राहान दाहाल, सोम्या अग्रवाल, अद्भीत गौतम, अंकित पाण्डेसहित ३१ विद्यार्थीले अभिनय गरेका थिए ।
आयोजक आरोहण गुरुकुल विराटनगरले साँढे नामक नाटक मञ्चन गरेर सुरु भएको महोत्सवमा श्री मनकामना से. इ. बो. स्कुलले उद्धारकर्ता विवेक, पूर्वाञ्चाल विद्या सदन से. बो. स्कुलले अँधेरी नगरी, बुढानिलकण्ठ से. इ. स्कुलले प्रत्यागमन, रञ्जनी एकेडेमिक इ. टिचिङ स्कुलले चोर मञ्चन गरेको थियो ।
त्यस्तै सुम्निमा इ. स्कुलले भविष्य निर्माण, मोर्डन एरा से. इ. बो. स्कुलले कोही किन बर्बाद होस्, श्री लक्ष्मीनारायण वेद विद्याश्रमले सुसंस्कृतम्, कान्तिपुर से. स्कुलले खुट्टीमा झुण्डिएको कोट मञ्चन गरेको थियो ।
विराटनगर महानगरपालिकाको प्रवर्द्धन तथा एम.एम. ग्रुप र फिनिक्स बुक्सको सहयोगमा आयोजित नाटक हेर्न विभिन्न विद्यालयका विद्यार्थी तथा अभिभावक पुगेको थिए ।
महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका विद्यालयमध्येबाट ९ विद्यालय छनौट गरी सहजीकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो ।
आरोहण विराटनगरले यसअघि २०७६ सालमा पहिलो पटक विद्यालय नाटक महोत्सव आयोजना गरेको थियो । त्यसपछि कोरोना महामारीले अवरोध गरेपनि अब भने वर्सेनि आयोजना गर्ने आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।