विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको नवौँ दिन बिहीबार खुट्टीमा झुण्डिएको कोट मञ्चन भएको छ ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको कान्तिपुर माध्यमिक विद्यालयले विद्यार्थी विवेक कुमार यादवद्वारा लिखित तथा शिक्षक रोशन राजवंशीद्वारा निर्देशित नाटक मञ्चन गरेको हो । नाटकले मित्रताको कथामार्फत दाइजो प्रथा विरुद्धमा बोलेको थियो ।
नाटकमा लेखक यादवसँगै सुवास साह, पवन महात्तो, सरोज मेहता, सविना खातुन, इशु साह, खुशी राजवंशी, कमल मुर्मु लगायत १२ विद्यार्थीले अभिनय गरेका थिए ।
भदौ २२ गतेदेखि सुरु भएको महोत्सवमा अन्तिम दिन भाेलि श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । अपराह्न ४ बजे उक्त नाटक मञ्चनसँगै महोत्सव विधिवत रूपमा समापन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।
यसअघि आयोजकको उद्घाटन नाटक साँढेसँगै, विभिन्न विद्यालयका उद्धारकर्ता विवेक, अँधेरी नगरी, प्रत्यागमन, चोर, भविष्य निर्माण, कोही किन बर्बाद होस् र सुसंस्कृतम्सहित ९ नाटक मञ्चन भइसकेका छन् ।
महोत्सवमा सहभागी हुन आवेदन दिएका विद्यालयमध्येबाट ९ विद्यालय छनौट गरी सहजीकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो ।
विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् । महोत्सवले विद्यालय, विद्यार्थी र रङ्गमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ ।