site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
८८ वर्षअघिको पहिलो ‘लट’को राहदानीमा के छ ?

काठमाडौं । काठमाडौंका ध्रुवप्रसाद रिमाल र उनका भाइ बालप्रसाद मंगलबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगे । आफ्ना छोराहरूसहित उनीहरू त्यहाँ पुगेका थिए । उनीहरूले विभागलाई दुइटा पुरानो राहदानी बुझाए ।

ध्रुवप्रसाद र बालप्रसादले ८८ वर्ष पुरानो राहदानी विभागका महानिर्देशक सुरेन्द्रप्रसाद यादवलाई बुझाएका हुन् । त्यो उनीहरूको बुवा कृष्णप्रसाद उपाध्याय रिमालको राहदानी थियो । विभागको संग्रहालयमा उक्त राहदानी राखिनेछ ।

iefkdmg1663144099.jpg

महत्त्व
तत्कालीन श्री ५ को सरकारले जारी गरेको उक्त एउटा राहदानी पहिलो ‘लट’को दशौँ नम्बरको हो । त्यो वि.सं. १९९० मा जारी गरिएको थियो । कृष्णप्रसादले अर्को राहदानी पनि पाएका थिए । त्यो वि.सं. २००५ मा जारी भएको देखिन्छ ।

राणाकालीन समयमा उनी पहिलोपटक बेलायत पुगेका थिए । बेलायतका लागि नेपाली राजदूत बहादुरशमशेर राणासँग राजदूतावास स्थापना गर्ने सिलसिलामा उनी त्यहाँ गएको नाति सागर रिमाल सुनाउँछन् । “नेपाली राजदूतावासको कार्यालय स्थापना गर्न राजदूतसँग हजुरबुवा साथमा जानुभएको थियो,” कृष्णप्रसादको भनाइ सम्झँदै उनले भने, “उहाँहरू पानीजहाजबाट पुग्नुभएको थियो ।”

त्यति बेला उनी राणा परिवारको नजिक थिए । उनले सुबेदार पद समेत पाएका थिए । उनको राहदानीमा बेलायत, फ्रान्स र इजिप्टको भिसा लागेको देखिन्छ ।

उनी ओजस्वी राजन्य मिसन (नेपालले बेलायतका राजालाई तक्मा दिन गएको टोली)मा गएका थिए । सोही टोलीले त्यहाँका राजालाई तक्मा दिएपछि लन्डनमा सन् १९३४ मा दूतावास खोलिएको पूर्वपरराष्ट्रसचिव मदनकुमार भट्टराई बताउछन् ।

नाति सागरले हजुरबुवाका दुई जीवित छोराहरू (ध्रुवप्रसाद र बालप्रसाद)सँग सल्लाह गरेर संग्रहालयमा उक्त राहदानीहरू राख्न ल्याएका थिए । उनी भन्छन्, “ऐतिहासिक वस्तुहरू घरमा राख्दा असुरक्षित र नष्ट हुने भएकाले संग्रहालयमा सुरक्षितसाथ राखिने विश्वासले दिएका हौँ ।”

उनले थपे, “हिजोसम्म यो हाम्रो परिवारको धरोहर थियो । अब नेपाल सरकार र नेपाली जनताको भयो ।”

नौ दशकअघि अहिलेको जस्तो मेसिन रिडेबल र विद्युतीय राहदानी थिएन । न त ३२ र ६४ पेजका चिल्ला पाना भएका कम्प्युटर प्रिन्ट भएको राहदानी पाइन्थ्यो । सर्वसाधारणले सहजै राहदानी पाउँदैन थिए । हातले नाम लेखिएका हुन्थे । राहदानी नेपाली कागजमा बनाइएको थियो । अहिलेजस्तो घण्टौँ लाइनमा बसेर राहदानी लिनु पर्दैन थियो । तर, राणाले मन पराएका मानिसले सहजै राहदानी पाउँथे ।

सागर पनि पूर्वसरकारी कर्मचारी । सरकारी कागजपत्रको महत्त्व बुझेका थिए । ऐतिहासिक राहदानी भएकाले उनले घरमा सुरक्षितसाथ राखेका थिए । उक्त राहदानीको पानाका केही भाग भने मुसाले खाएको छ । तर, राहदानीमा नाम, फोटो र राहदानी जारी गर्नेको हस्ताक्षर स्पष्ट देखिन्छ ।

पूर्वपरराष्ट्रसचिव भट्टराईले उक्त राहदानी संग्रहालयमा ल्याउनका लागि सहजीकरण गरेका थिए । सन् १९३४ मा नेपालले बेलायतमा दूतावास खोल्न जाँदा उक्त राहदानी जारी गरिएको भट्टराई बताउँछन् ।

नयाँपुस्ताले इतिहासका बारेमा जानकारी पाउने र अध्ययनका लागि उपयोगी हुने भएकाले पुराना राहदानी संकलन गर्न थालिएको महानिर्देशक यादव बताउँछन् । यसअघि, सन् १९५० सम्मका नेपालको राहदानी फेलापरेको थियो । अब पहिलो लटको राहदानी समेत संग्रहालयमा राख्न पाएकामा उनले खुसी व्यक्त गरे ।

s11663144070.jpg

संग्रहालयमा नेपालबाट जारी भएका विभिन्न कालखण्डका राहदानी राखिएको छ । विभिन्न देशबाट जारी भएका राहदानी समेत ऐनामा सजाएर राखिएको छ । पहिला–पहिला विदेशबाट फर्किएपछि राहदानी एयरपोर्ट वा राहदानी कार्यालयमा बुझाउनुपर्थ्यो । सोही सिलसिलामा धेरै व्यक्तिको राहदानी हराएको पूर्वपरराष्ट्रसचिव भट्टराई बताउँछन् । उनी भन्छन्, “जसले पासपोर्ट फिर्ता गर्न मान्नु भएन, उहाँहरूकै पासपोर्ट बचे ।”

राहदानीको इतिहास
१७२ वर्षअघि (वि.सं. १८१५) जंगबहादुर राणाले बेलायत भ्रमण गर्दा पासपोर्ट चाहिँदैन थियो । ११४ वर्षअघि चन्द्रशमशेरले बेलायत भ्रमण गर्दा पनि पासपोर्ट आवश्यक परेको थिएन । यी दुवै कालखण्ड पहिलो विश्वयुद्ध (सन् १९१४–१९१८) भन्दा अगाडिका हुन् । पहिलो विश्वयुद्धअघि राहदानीको प्रयोग खासै गरिँदैन थियो ।

परराष्ट्रविद् भट्टराईका अनुसार केही देशहरूमा भने पहिलो विश्वयुद्धअघि नै पासपोर्ट चलनचल्तीमा आइसकेको इतिहास छ । कतिपय देशले सुन, चाँदी र तामा तीन किसिमका पासपोर्ट बनाई प्रयोग गर्थे ।

सन् १९२० मा पासपोर्टका विषयमा पेरिसमा एउटा सम्मेलन भएको थियो । त्यसपछि विस्तारै पासपोर्टको प्रचलन बढ्दै गयो । दोस्रो विश्वयुद्धपछि अर्थात् सन् १९४५ सम्म आइपुग्दा पासपोर्ट अनिवार्य बनिसकेको परराष्ट्रविद् भट्टराई बताउँछन् ।

आधुनिक राहदानीको सुरुआत इंग्ल्यान्डका राजा हेनरी पाँचौँको शासनकालबाट सुरु भएको मानिन्छ । पासपोर्ट शब्द उल्लेख नभए पनि राहदानीका रूपमा उनको शासनकालमा त्यहाँको संसद्ले सन् १४१४ मा सुरक्षित आचरण ऐन पारित गरेको थियो । उक्त अनुमतिपत्रमा वाहकलाई स्वतन्त्र रूपमा यात्रा गर्न र सुरक्षित मार्ग प्रदान गर्न अरू देशहरूलाई अनुरोध गरिएको थियो ।

पति–पत्नीका लागि एउटै राहदानी
नेपालमा ०७८ असार ८ गते विद्युतीय राहदानी संग्रहालयको स्थापना गर्न महानिर्देशकस्तरीय निर्णय भएको थियो । परराष्ट्र मन्त्रालय र राष्ट्रिय अभिलेखालयमा रहेका पुराना कागजातमा उल्लेख भएअनुसार त्यति बेला काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका प्रवेश गर्ने तथा तीर्थयात्रा, व्यापार एवं अरू प्रयोजनका लागि भारत वा अरू मुलुकमा भ्रमणमा जाने व्यक्तिहरूलाई यात्रा अनुमतिपत्रका रूपमा (कुनैमा राहदानी शब्द उल्लेख भएको र कुनैमा सो शब्द उल्लेख नभएको) ‘कमान्डर इन चिफ’का तर्फबाट चिसापानीगढी नाकामा अवस्थित सैनिक अधिकारीका नाममा आदेश जारी गर्ने गरेको देखिन्छ । सिन्धुलीगढी नाकाबाट समेत मानिस उपत्यका आवतजावत गर्ने गरेको अभिलेखबाट देखिन्छ ।

राहदानी संग्रहालयमा सन् १९५१ को राजनीतिक परिवर्तनअघि नेपालमा प्रचलनमा रहेका त्यस्ता कागजातहरूको मूल र प्रतिलिपि दुवै राखिएको छ । यी कागजातहरू आवतजावतको व्यवस्थित अभिलेख राख्न जारी गरिन्थ्यो । पहिले–पहिले पति–पत्नीका लागि एउटै राहदानी प्रयोग गर्ने गरिएको अभिलेखबाट देखिन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro