![आत्मरक्षा सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंमा सुरु](https://12khari.top/uploads/posts/Kara1663085778.jpg)
काठमाडौं । नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा दुईदिने अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ । 'महिला हिंसाविरुद्ध आत्मसुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हल अफ फेम कार्यक्रम तथा तेस्रो अन्तराष्ट्रिय सेमिनार' मंगलबारदेखि राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको हो ।
सन् २०१६ मा स्थापना भएको नेपाल सेल्फ डिफेन्स संघले आत्मरक्षा सम्बन्धी तालिम प्रदान गर्दै हुँदा संघले अझै राम्रोसँग आत्मरक्षाको तालीम प्रशिक्षकहरू प्राप्त गरून् भन्ने उद्देश्यले आत्मरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरेको हो ।
पछिल्लो समय नेपाली समाजमा महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराधबाट महिला तथा किशोरीहरू प्रभावित भएकाले उनीहरूको पक्षमा संघले काम गर्दै आएको छ । किशोरीहरूलाई आत्मरक्षा तालिम सिकाउन दक्ष प्रशिक्षक उत्पादन गर्न सुरक्षाका लागी आत्मरक्षा सम्बन्धी तालिमको आयोजना गरिएको नेपाल सेल्फ डिफेन्स संघका महासचिव नुतन श्रेष्ठले बताए ।
भदौ २५ र २९ गते गरी दुई दिनसम्म चल्ने सेमिनारमा सहभागी ३५० जना सहभागी प्रशिक्षकहरूलाई अन्तर्राष्ट्रिय सेल्फ डिफेन्सका संस्थापक अध्यक्ष समेत रहेका पोल्यान्डका स्टानिस्ल म्याजर्याक, अन्तर्राष्ट्रिय कम्ब्याट मार्सल आर्टस् सोसाइटीका संस्थापक भारतका जगदिश सिंह खत्रीले सेल्फ डिफेन्सका नेपाली प्रशिक्षक एवं प्रशिक्षार्थीहरूलाई तालिम दिनेछन् ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
कार्यक्रममा सहभागी प्रशिक्षकहरूको आत्मबल जागृत गराउने, महिलाहरूलाई सवल र सक्षम बनाई घरेलु तथा लैंगिक हिंसा न्यूनीकरण कसरी गर्ने, आकस्मिक हमला, सामूहिक झगडा, बलात्कार त्यसैगरी समाजमा हुने विभिन्न हिंसालाई कसरी न्यूनीकरण गर्ने विषयमा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूले सहभागी प्रशिक्षकहरूलाई सिकाउने नेपाल सेल्फ डिफेन्स संघ अध्यक्ष डीबी रानापालले बताए ।
कार्यक्रममा प्रशिक्षक प्रशिक्षार्थीको मनोबल बढाउन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको उपस्थिति थियो ।