काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीशहरु र नेपाल बारका पदाधिकारी तथा सदस्यहरुसँग पनि बयान लिने भएको छ ।
जबरासँगको बयान सकिएपछि उनले विभिन्न प्रश्नको जवाफ दिने क्रममा मुछेका पूर्वन्यायाधीश र बारका पदाधिकारी तथा सदस्यहरुसँग पनि बयान लिन लागेको हो । समिति सदस्य मीन विश्वकर्माका अनुसार जबराले टिकाटिप्पणी गरेका सबै व्यक्तिसँग बुधबार बयान लिन लागिएको हो ।
जबराले आफूमाथि लागेका आरोपबारे समितिमा जवाफ दिनेक्रममा बहालवाला तथा पूर्वन्यायाधीशहरु, राजनीतिक दलका नेताहरु तथा नेपाल बार एसोसिएसनका पदाधिकारी तथा सदस्यहरुमाथि टिकाटिप्पणी गरेका छन् ।
“राणाले महाअभियोगको बयानका क्रममा मुछेका वा पन्छाएका व्यक्तिहरुको पनि बोलाएर वास्तविकता के हो भनेर सोधिने छ,” विश्वकर्माले भने, “तर, समय निकै कम भएको हुँदा राणाको जस्तो ५–६ पटक बोलाएर सुनुवाइ गरिने छैन । एकै दिन बोलाएर उहाँहरुले दिन चाहेको सूचनाहरु दिनको लागि बोलाइने छ ।”
समितिले बहालवाला न्यायाधीशहरुको भने बयान लिन नमिल्ने भएकाले उनीहरुलाई समितिमा नबोलाउने विश्वकर्माले बताए । तर, पूर्वन्यायाधीश, बारका सदस्यहरु, कानुन व्यवसायी तथा राणाले बयानको क्रममा उल्लेख गरेका राजनीतिक दलका व्यक्तिहरुलाई समेत बोलाइने उनले जानकारी दिए ।