काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)स्थायी समितिका सदस्य तथा राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणमा लागि काठमाडौं आइपुगेका छन् ।
उनी सोमबार दिउँसो ३ बजे विशेष विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली विमानस्थलमा पुगेको थियो ।
सभामुख सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका लीले सय जनाको जम्बो टोलीको नेतृत्व गरेका छन् ।
उनले ६७ जनाको टोलीको नेतृत्व गरेर काठमाडौं आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौंमा सोमबार नै सभामुख सापकोटा र चिनियाँ जनकंग्रेस प्रमुखबीच ६ बुँदे समझदारी पनि भएको छ ।
ली को सुरक्षाका लागि भन्दै कठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको छ । काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनले सोमबार निकै कष्ट बेहोर्न बाध्य भए ।
उपत्यकाका तीनवटै जिल्लामा ट्राफिक समस्या भएको थियो । ली आवतजावत गर्ने रुट पूर्णरुपमा खाली गराइएका कारण अन्य क्षेत्रमा पनि प्रभाव परेको ट्राफिक प्रहरीले जनाएको छ ।
सोमबार काठमाडौंमा करिब तीनघण्टा सवारी साधन समयमा गन्तव्यमा पुग्न पाएनन् ।
“सुरक्षाका हिसाबले हामीले रुट खाली गराएका हौँ,” उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टले भने, “केही समय ट्राफिक जाम भयो होला तर धेरै हुन पाएन ।”
प्रहरीले दिएको जानकारीअनुसार मंगलबार पनि काठमाडौं उपत्यकाका प्रमुख मार्गको ट्राफिक सोमबारको जस्तै हुन सक्नेछ ।