काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । कम्पनीको २०७८ साल असोज मसान्तसम्मको वित्तीय विवरणको आधारमा गरिएको स्थलगत निरीक्षण र त्यसपछि गरिएको विशेष निरीक्षणका आधारमा कम्पनीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।
कम्पनीका सञ्चालक समितिको अध्यक्ष तथा सदस्यहरू प्रत्येक्ष सम्मिलित भएर संस्थाको हितविपरीत व्यक्तिगत लाभकका लागि नक्कली ऋणि खडा गरी कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । प्राथमिक पुँजीकोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएकाले कम्पनीलाई समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
२०७८ चैत २ गते कम्पनीलाई समस्याग्रस्त घोषणा गर्नु नपर्ने कारण भए स्पष्टीकरण पेस गर्नसमेत राष्ट्र बैंकले निर्देशन दिएको थियो । कम्पनीले सो सम्बन्धमा पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले कम्पनीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।
यो लघुवित्तको केन्द्रीय कार्यालय दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको छ । यो लघुवित्तले ३० वटा शाखा कर्यालयबाट सेवा दिँदै आएको छ ।