विराटनगर । विराटनगरमा बुधबारदेखि विद्यालय नाटक महोत्सव सुरु हुने भएको छ ।
आरोहण–गुरुकुल विराटनगरको आयोजनामा बुधबारदेखि भदौ ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० नाटक मञ्चन गरिने आयोजकले जानकारी दिएकाे छ । बुधबार उद्घाटनको दिन आयोजकले द बुल (साँढे) नामको नाटक मञ्चन गर्नेछ ।
त्यसपछिका ९ दिनमा दैनिक एउटा विद्यालयको एउटा नाटक मञ्चन हुनेछ । विद्यालयका नाटक दैनिक एक शो अपरान्ह ४ बजे मञ्चन गरिने आयोजक आरोहण–गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।
महोत्सवमा सहभागी हुन आवेदन दिएका विद्यालयमध्येबाट ९ विद्यालय छनौट गरी सहजीकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो । सहभागी विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् ।
महोत्सवले विद्यालय, विद्यार्थी र रङ्गमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ । गुरुकुलले यसअघि ०७६ सालमा विद्यालय नाटक महोत्सव पहिलो पटक आयोजना गरेको थियो । त्यसयता कोरोना महामारीले आयोजना हुन सकेको थिएन ।